मनसुनअघि नै सतर्क सुरक्षा संयन्त्र, मौसम हेर्दै बित्छ प्रहरीको दैनिकी

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदी को बिहान पहिलो उज्यालोसँगै नजर आकाशतर्फ पुग्छ । त्यसलगत्तै उहाँले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकसँग मौसमको अवस्थाबारे जानकारी लिनुहुन्छ । दिउँसो कार्यालयको व्यस्तता होस् वा रातिको विश्राम, मोबाइलमा आउने मौसमसम्बन्धी सूचनामाथि उहाँको निरन्तर ध्यान रहन्छ ।
जिल्लाको कुन क्षेत्रमा कति वर्षा भयो, कहाँ खोलाको सतह बढ्दैछ, कहाँ पहिरो खस्ने सम्भावना छ भन्ने विषयमा उहाँ घण्टैपिच्छे जानकारी लिइरहनुहुन्छ । विशेषगरी हजारौँ यात्रु र सयौँ सवारी चालकले सडक अवस्थाबारे जानकारी माग्ने भएकाले उहाँ मौसमको सूचना संकलन र प्रवाहमा निरन्तर सक्रिय रहनुहुन्छ ।
मौसम पूर्वानुमान महाशाखासँग दिनको दुई पटकसम्म प्रत्यक्ष सम्पर्क गर्ने उहाँको दैनिकी बनेको छ । मौसमविद्सँग वर्षाको सम्भावित मात्रा, खोलानालाको अवस्था तथा आगामी केही घण्टामा हुन सक्ने जोखिमबारे जानकारी लिएपछि मातहतका प्रहरी इकाइलाई तत्काल सतर्कता अपनाउन निर्देशन जाने गरेको उहाँ बताउनुहुन्छ ।
सिन्धुली मात्र होइन, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी अधिकारीहरूको दैनिकी पनि अहिले मौसमसँगै जोडिएको छ । आकाश कालो हुन थालेपछि प्रहरी नेतृत्व थप सचेत बन्ने गरेको छ । जिल्लाभरको मौसम अवस्था, नदी–खोलाको बहाव तथा सडकको अवस्थाबारे जानकारी लिन प्रहरी टोली सक्रिय रहने गरेको छ ।
“मौसम कतिबेला बदलिन्छ थाहा हुँदैन । वर्षासँगै आउने बाढी, पहिरो र सडक अवरोधले यात्रु अलपत्र पर्ने तथा मानवीय क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा संयन्त्रसँग निरन्तर संवादमा हुन्छौँ,” जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता रविन बिष्ट ले भन्नुभयो ।
उहाँका अनुसार बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डमा पर्ने प्रहरी चौकीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको छ । जोखिमयुक्त क्षेत्रमा गस्तीसमेत बढाइएको छ भने सशस्त्र प्रहरी र नेपाली सेनाको विपद् व्यवस्थापन टोलीसँग निरन्तर समन्वय भइरहेको छ ।
मनसुन सुरु हुन अझ केही समय बाँकी रहे पनि काभ्रेपलाञ्चोक र सिन्धुलीका सुरक्षा निकाय उच्च सतर्कतामा देखिएका छन् । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रशासन तथा अन्य सुरक्षा निकायबीच निरन्तर समन्वय गर्दै बिपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि योजना निर्माण भइरहेको छ ।
केही दिनअघि रोशी खोलामा आएको भेलामा माइक्रोबस फस्दा उद्धार कार्यमा कठिनाइ भएपछि सुरक्षा निकाय थप सचेत बनेका हुन् । उक्त घटनाले मनसुनजन्य जोखिम केवल पूर्वानुमानमा सीमित नरही जुनसुकै बेला ठूलो दुर्घटना निम्तिन सक्ने संकेत दिएको सुरक्षा अधिकारीहरूको भनाइ छ ।
संयुक्त सुरक्षा बैठकले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म जोखिमयुक्त क्षेत्रमा सवारी साधन सञ्चालन नगर्ने निर्णयसमेत गरिसकेको छ । निर्णय कार्यान्वयनका लागि प्रहरीले विशेष निगरानी बढाएको जनाएको छ । रातिको समयमा खोलामा पानीको बहाव अचानक बढ्ने र पहिरो खस्ने सम्भावना उच्च हुने भएकाले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको हो ।
मनसुन सुरु हुनुअघि नै सुरक्षा निकायले त्यसलाई सामान्य मौसमी घटना नभई सम्भावित चुनौतीका रूपमा लिएका छन् । त्यसैले अहिले प्रहरी नेतृत्वको ध्यान केवल अपराध नियन्त्रणमा मात्र सीमित नभई प्राकृतिक विपद्बाट नागरिकलाई सुरक्षित राख्ने तयारीमा केन्द्रित देखिन्छ ।
सुरक्षा निकायले देखाएको सक्रियताले धेरैको ज्यान जोगिएको अनुभव चालकहरूले सुनाउने गरेका छन् । लामो समयदेखि बिपी राजमार्गमा सार्वजनिक सवारी साधन चलाउँदै आउनुभएका चालक सुवास बिष्ट ले सिन्धुली र काभ्रे प्रशासनले समयमै सडक अवस्थाबारे जानकारी दिने गरेको बताउनुभयो ।
उहाँले चालक, सहचालक तथा यात्रुको सुरक्षाका लागि प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै सुरक्षा निकायले जारी गर्ने निर्देशन पालना गर्न सबै चालकलाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया