काभ्रेमा ११ जना ल्याए चार जिपिए, सात जना त छात्रा मात्रै

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजामा काभ्रेपलाञ्चोकका छात्राभन्दा छात्रा अब्बल देखिएका छन् । जिल्लाबाट ४ जीपीए ल्याउने ११ विद्यार्थीमध्ये ७ जना छात्रा र ४ जना छात्र रहेका छन् ।

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीमध्ये विद्यासागर अङ्ग्रेजी मा.वि. का आशुतोष गौतम, चण्डेश्वरी सृष्टिकान्त मा.वि. की एन्जल तामाङ र रोहन गौतम, एस.ओ.एस बालग्राम की रोजा के.सी. र आभुषण श्रेष्ठ, नवरत्न अङ्ग्रेजी मा.वि. की रितिका हुमागाई, नवप्रतिभा मा.वि. की अप्सना श्रेष्ठ, नेपाल प्रहरी स्कुल की अन्सिका ठाकुर, मल्पी इन्टरनेशनल का कृनिल श्रेष्ठ तथा सिद्धार्थ स्कुल का सन्जु हुमागाई र युना श्रेष्ठ रहेका छन् ।

पछिल्ला वर्षहरूमा जिल्लामा छात्राको शैक्षिक उपलब्धि निरन्तर सुधार हुँदै गएको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् । विद्यालय तहमा छात्राको सहभागिता, नियमित अध्ययन र अभिभावकको बढ्दो सचेतनाले सकारात्मक परिणाम देखिन थालेको उनीहरूको भनाइ छ ।

शिक्षकहरूका अनुसार छात्राहरूमा अनुशासन, नियमितता र मेहनत गर्ने प्रवृत्ति बढी देखिएकाले परीक्षामा राम्रो नतिजा आउन थालेको हो । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयमा छात्राहरूको सक्रियता बढ्दै जाँदा आगामी वर्षमा अझ उत्कृष्ट नतिजा आउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया