
नेपालमा पछिल्लो समय पुरुषमा प्रोस्टेटसम्बन्धी समस्या तीव्र रूपमा बढ्दै गएको छ । विशेषगरी ५० वर्षमाथिका पुरुषमा देखिने यो समस्या अहिले अस्पतालहरूमा सबैभन्दा बढी देखिने युरोलोजी रोगमध्ये एक बनेको चिकित्सकहरू बताउँछन् ।
देशकै पुरानो सरकारी अस्पताल वीर अस्पतालमा दैनिक तीन हजारसम्म बिरामी उपचारका लागि पुग्ने गरेका छन् । तीमध्ये करिब ४०० जना युरोलोजी ओपिडीमा आउने गर्छन् । वीर अस्पतालका युरोलोजी विभाग प्रमुख डा. रवीनबहादुर बस्नेतका अनुसार दैनिक ८० देखि १०० जना बिरामी प्रोस्टेट समस्या लिएर अस्पताल पुग्ने गरेका छन् ।
उहाँका अनुसार तीमध्ये ६० देखि ७० जना उमेरसँगै प्रोस्टेट बढेका बिरामी हुन्छन् भने १७ देखि २० जनामा प्रोस्टेट सङ्क्रमण देखिन्छ । दैनिक चारदेखि छ जनासम्म प्रोस्टेट क्यान्सरका बिरामी आउने गरेको उहाँले जानकारी दिनुभयो ।
“प्रोस्टेट पुरुष शरीरमा पिसाबथैलीमुनि रहने एउटा ग्रन्थी हो । उमेर बढ्दै जाँदा यसको आकार पनि बढ्न सक्छ,” डा. बस्नेतले भन्नुभयो, “सबै पुरुषमा प्रोस्टेट बढे पनि सबैलाई समस्या भने हुँदैन । अत्यधिक बढेपछि मात्र पिसाब प्रणालीमा असर देखिन्छ ।”
चिकित्सकका अनुसार बारम्बार पिसाब लाग्ने, राति पटक–पटक उठ्नुपर्ने, पिसाब थाम्न नसक्ने, पिसाबको धारा कमजोर हुने, पिसाब सुरु हुन ढिला हुने तथा पिसाब फेरेपछि पनि ननिख्रिएको महसुस हुने जस्ता लक्षण प्रोस्टेट समस्याका मुख्य संकेत हुन् ।
काठमाडौंका ७२ वर्षीय हरि उप्रेती लामो समयदेखि पिसाबको समस्या भएपछि वीर अस्पताल पुग्नुभयो । परीक्षणपछि चिकित्सकले उमेरका कारण प्रोस्टेट बढेको बताएर औषधोपचार सुरु गरेपछि अहिले समस्या कम भएको उहाँ बताउनुहुन्छ ।
त्यस्तै ४२ वर्षीय अमोद तिमल्सिनालाई पनि पिसाबसम्बन्धी समस्या भएपछि जाँच गर्दा प्रोस्टेट सङ्क्रमण भएको पत्ता लागेको थियो । औषधोपचारपछि उहाँको स्वास्थ्यमा सुधार आएको छ ।
हेटौँडाका आमोद शर्माले भने दुई पटक प्रोस्टेटको शल्यक्रिया गराइसक्नुभएको छ । पहिलो शल्यक्रियापछि दुई वर्षमै समस्या दोहोरिएपछि पुनः शल्यक्रिया गर्नुपरेको थियो । अहिले पनि उहाँ नियमित परीक्षणमा रहनुभएको छ ।
एक पटक शल्यक्रिया भएपछि पनि किन समस्या दोहोरिन्छ भन्ने प्रश्नमा डा. बस्नेतले पिसाबको नलीको संरचना तथा शरीरको अवस्थाका कारण कतिपय बिरामीमा समस्या फेरि देखिन सक्ने बताउनुभयो ।
युरोलोजिस्ट डा. उजिता मिश्राका अनुसार समयमै उपचार नगरे प्रोस्टेटले गम्भीर जटिलता निम्त्याउन सक्छ । “पिसाबथैलीमा सङ्क्रमण, पत्थरी, मिर्गौलामा असर तथा पिसाब पूर्ण रूपमा रोकिने अवस्था आउन सक्छ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार सबै बिरामीलाई शल्यक्रिया आवश्यक नपर्ने र प्रारम्भिक अवस्थामा औषधोपचारबाटै नियन्त्रण गर्न सकिने अवस्था धेरैमा हुन्छ ।
चिकित्सकहरूले नियमित स्वास्थ्य परीक्षण गर्न, राति धेरै पानी नपिउन, मदिरा सेवन कम गर्न तथा सक्रिय जीवनशैली अपनाउन सुझाव दिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले युरोलोजी तथा प्रोस्टेट उपचार सेवा अब प्रादेशिक अस्पतालसम्म विस्तार गरिएको जानकारी दिनुभयो । उहाँले सरकारले प्रोस्टेटलगायत युरोलोजी रोगलाई प्राथमिकतामा राखेर विशेषज्ञ सेवा विस्तार गरिरहेको बताउनुभयो ।
बढ्दै प्रोस्टेट समस्या, पुरुष स्वास्थ्यमा चुनौती उमेरसँगै जोखिम बढ्दो, लक्षण बेवास्ता गर्दा मिर्गौलासम्म असर पर्ने चिकित्सकको चेतावनी
2026-05-08T07:21:02+05:45

तपाईको प्रतिक्रिया