हरेक वडामा मतदाता शिक्षा स्वयंसेवक खटाइँदै, पारिश्रमिक १० हजार

निर्वाचन आयोगले फागुन ३ गतेदेखि १७ गतेसम्म वडा–वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्ने भएको छ । मतदाता शिक्षा विशेष कार्यक्रमअन्तर्गत स्वयंसेवक परिचालन गर्न लागेको हो ।

“यस कार्यक्रमको मुख्य उद्देश्य आम मतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्नु हो । यससँगै मतदानको कार्यमा आम मतदाताको सहभागिता अभिवृद्धि र बदर मतको संख्या न्यूनीकरण गर्नु पनि यस कार्यक्रमको उद्देश्य रहेको छ,” आयोगले स्वीकृत गरेको कार्यक्रममा भनिएको छ, “मतदाता शिक्षाका लागि आम सञ्चारमाध्यम, सामाजिक सञ्जाल र स्वयंसेवक परिचालन गरिने छ ।”

मतदाताले मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्त्व, निर्वाचन आचारसंहिता तथा गलत एवम् भ्रामक सूचनाबाट बच्ने उपायबारे जानकारी प्राप्त गर्ने आयोगले स्वीकृत गरेको कार्यक्रममा उल्लेख छ ।

मतदाता अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्न स्थानीय तहका सबै वडामा एक–एक जनाका दरले स्वयंसेवक नियुक्त हुनेछन् । कम्तिमा एसईई वा सो सरह उत्तीर्ण गरेका बालविकास सहजकर्ता, मातृस्वास्थ्य कार्यकर्ता, स्थानीय स्वास्थ्य स्वयंसेविका र सामुदायिक अध्ययन परिचालकमध्येलाई निर्वाचन कार्यालयले स्वयंसेवक नियुक्त गर्नेछ ।

स्वयंसेवकको पारिश्रमिक १० हजार तोकिएको छ । निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको प्रतिवेदन पाएपछि एकमुष्ट पारिश्रमिक उपलब्ध गराउने जनाइएको छ ।

मतदाता शिक्षा स्वयंसेवक परिचालनका लागि अनुगमनकर्ता तोकिनेछन् । आयोगले निर्वाचन तथा मतदाता शिक्षाका लागि स्थानीय तहमा तोकेका सम्पर्क व्यक्तिलाई अनुगमनकर्ताको जिम्मेवारी दिइनेछ । अनुगमनकर्ताको पारिश्रमिक पाँच हजार रहेको जनाइएको छ ।

त्यस्तै,आमसञ्चार एवं सामाजिक सञ्जालबाट गरिने मतदाता शिक्षा कार्यक्रम भने आयोगले नै सञ्चालन गर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया