केशवराज पौडेल
‘सिद्धान्तका निम्ति जीवन होइन, जीवनका लागि सिद्धान्त’ भन्ने जननेता मदन भण्डारीसँग प्रभावित काभ्रेली कम्युनिष्ट इतिहासको मात्र नभई राष्ट्रिय राजनीतिमा पनि प्रभाव छोड्न सफल एक महान् अभियन्ता तथा काभ्रेका युगपुरुष हुनुहुन्थ्यो विदुर सापकोटा । राजनीतिक आकाशका तेजस्वी ओजस्वी प्रतिभावान विदुर सापकोटा मदनले भनेजस्तै ‘के भइरहेछ त्यो हेर्नेमात्र होइन, के हुनुपर्छ र के हुनसक्छ’ भनी सर्वमान्य विकल्प खोजी गर्ने कर्मठ परिवर्तन र क्रान्तिद्योतक मार्गदर्शक व्यक्तित्व पनि हुनुहुन्थ्यो ।
धेरैलाई विदुर सापकोटा सामान्य लाग्ने भएपनि एउटा सामान्य व्यक्तिभन्दा पनि धेरै एउटा विचारकको रुपमा आफूलाई प्रस्तुत गर्न सक्नुभयो । स्वाभिमानलाई उच्च राख्न देशभक्ति निस्वार्थ स्वतन्त्रताको लडाइँका एक वीरपुरुषका रुपमा स्थापित हुनुभयो । उहाँले धेरैलाई वामपन्थी आन्दोलनमा एकाकार गराउनुभयो । कुनै समय काभ्रेपलाञ्चोकमा एमाले भनेकै विदुर र विदुर भनेकै एमाले जस्तो मानक स्थापित थियो । निरन्तर १४ बर्षसम्म जिल्लामा एमालेको नेतृत्व गरेर उहाँले आफूलाई जनताको नेताको रुपमा स्थापित गरिसक्नु भएको थियो । काभ्रेली वामपन्थी आन्दोलनका एक कुशल हस्ती हुनुहुन्थ्यो । उहाँले काभ्रेमा एमालेको जगमात्रै बनाउनु भएन । एउटा ठूलो घर बनाउनुभयो । हजारौं जनतालाई एमालेमा एकाकार गर्नुभयो । एमालेको अहिले काभ्रेमा भएको ठूलो पंक्ती उहाँकै कार्यकालमा पाएको साधारण सदस्य र संगठित सदस्यहरु छन् । उहाँको नेतृत्वमा भएका विकास निर्माणका अनेकौ प्रमाण काभ्रेमा सुरक्षित छन् । तत्कालिन जिल्ला विकास समितिबाट भएको विकास उहाँको निर्देशनमा भएको हो । गाउँ विकास समितिमा प्रचण्ड बहुमत ल्याउन सफल हुनुभयो ।
काभ्रेली जनताका मनमुटुमा बसेका वामपन्थी नेता विदुर सापकोटाको पहिलो बार्षिकपुण्यतिथी । काभ्रेपलाञ्चोकको मण्डन महादेवस्थान नौबिसेमा जन्मिएका सापकोटाले मदन भण्डारीले स्थापित गर्नुभएको नेपालको लोकतान्त्रिक आन्दोलन र लोकतान्त्रिक परिवर्तनको स्थायित्वमा कम्युनिस्ट–कांग्रेस सहकार्य, निर्वाचन प्रणालीमा प्रतिस्पर्धामार्फत कम्युनिस्ट पार्टीबाट सत्ता सञ्चालन, भूमिगत वा अर्धभूमिगत संगठन शैलीबाट खुला, परादर्शी र शृंखलाबद्ध संगठन प्रणाली तथा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र लोकतन्त्रीकरणको आधार खडा गरेर नेपाली राजनीतिलाई मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद प्रदान गर्नुभएको थियो ।
उहाँका जीवनसँग अनेकौ कुरामेल खाने सापकोटालाई मिनी मदन भण्डारीको रुपमा चर्चा समेत गरिने गरिएको थियो । सापकोटाको विशाल व्यक्तित्व, दृष्टिकोण, सिद्धान्त र योगदानले काभ्रेपलाञ्चोक जिल्ला निरन्तर वामपन्थीको किल्लाको रुपमा स्थापित हुन सफल भएको छ ।
काभ्रेली वाम राजनितिमा सानो मदन भण्डारीको रुपमा परिचित हुनु भएको विदुर सापकोटाको राजनितिक यात्रा अनेरास्ववियूबाट भएको थियो । उहाँको राजनितिक यात्रा डेडीथुम्का विद्यालयबाट अगाडी बढेको थियो । उहाँ त्यस विद्यालयको प्रारम्भिक कमिटी अध्यक्ष हुदै २०३५ सालबाट विद्यार्थी राजनितिमा सक्रिय हुनु भएको थियो । योसँगै २०३९ सालमा तत्कालिन मालेमा आबद्ध हुनु भयो । २०३६ सालमा उहाँ विद्यार्थी संगठनको काभ्रे जिल्ला कमिटि सदस्य चयन हुनु भयो भने २०३८ सालमा भएको जिल्ला सम्मेलनबाट जिल्ला उपाध्यक्षमा निर्वाचित हुनु भयो । आमा बुबा, दाजुभाउजु, श्रीमती, छोरी, भाई बुहारी र सिंगो गाउँले उहाँलाई निरन्तर सहयोग ग¥र्यो ।
२०३९ सालमा काठमाण्डौं जिल्ला कमिटि सचिव, २०४१ सालमा भएको अनेरास्ववियूको आठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनु भयो । २०४३ सालमा उहाँ मानव अधिकार संरक्षण मञ्चमा सहभागिता हुँदै ने.क.पा. मालेको तत्कालिन १ नम्बर पार्टी कमिटि सदस्य, २०४५ सालमा तत्कालिन मालेको जिल्ला कमिटि सदस्य, २०५१ साल देखि २०६४ सालसम्म ने.क.पा. एमाले काभ्रे जिल्ला कमिटि सचिव, २०६४ साल देखि २०७८ साल सम्म ने.क.पा. एमाले बागमती प्रदेश कमिटि सदस्य, २०७८ भाद्र देखि २०८१ साल असार सम्म ने.क.पा. (एकिकृत समाज वादी) को केन्द्रिय सदस्य साथै बागमती प्रदेश कमिटि उपाध्यक्ष, २०८१ असारदेखि पार्टीको पोलिटव्यूरो सदस्य तथा बागमती प्रदेश कमिटिको सह–ईन्चार्जको भूमिकामा रहदै २०७० सालमा भएको दोश्रो संविधान सभा निर्वाचनमा काभ्रे क्षेत्र नं. ४ बाट निर्वाचित संविधान सभा सदस्य हुनुभयो ।
संविधान सभा सदस्य सापकोटाले ५९ बर्षसम्म आफूलाई समाजसेवा, राजनीतिमै सर्मपण गर्नुभयो । पंञ्चायतकालदेखि गणतन्त्र स्थापना र संविधान निर्माणमा उल्लेख्य भुमिका निर्वाह गरेका काभ्रेपलाञ्चोक मण्डनदेउपुरका विदुरप्रसाद सापकोटाको महाप्रस्थान गर्नुभएको एक बर्ष पुरा हुँदैछ । कुशल संगठक र योजना निर्माणकर्ताको भुमिकाले उहाँलाई काभ्रेपलाञ्चोक जिल्लाले सदैव स्मरण गरिरहने छ ।
उमेरले ५९ वर्षका भए पनि उहाँ जोसिलो र फुर्तिलो हुनुहुन्थ्यो । पातलो ज्यान, संगठन बनाउन जुनसुकै बेला पनि खटिरहने । काभ्रेमा नेकपा एमालेको संगठन निर्माणमा उहाँको योगदान सानो थिएन । एमालेको जग बनाउने र पार्टी कार्यालयको रातो घर बनाउने उहाँ नै हुनुहुन्थ्यो । जेनजी आन्दोलनपछि रातो घरमा भएको तोडफोड उहाँले देख्नु भएको भए उहाँको मन कति रुन्थ्यो होला । विडम्बना उहाँको भौतिक शरिर हामीसँग छैन । तर उहाँले कोर्नु भएको मार्गचित्र अझैपनि लाखौं माईल दौडने पक्कापक्की छ । एमाले काभ्रेको त्यो रातोघरमा एमालेको सुर्य ध्वजावहाक झण्डा फहरिरहेको छ ।
१४ बर्ष लामो समय एमाले काभ्रेको सचिव बनेर एमालेलाई काभ्रेमा पहिलो पार्टी बनाउनु भयो उहाँले । युवा हुन् कि बालक, चाहे वृद्ध नै किन नहुन्, सापकोटाको कुरा मिल्थ्यो सबैसँग स्वास्थ्थको बारेमा सोध्ने उहाँको बानी थियो । युवालाई पढाईको कुरा गर्ने र उन्नती र प्रगतिको शुभकामनामा उहाँले आफूलाई व्यतित गर्नुभयो । सकारात्मक सोच राख्न र युवालाई आवेग नियन्त्रण गर्न उहाँ प्रायसः सुझाव दिईरहनु हुन्थ्यो । बिहान उठेदेखि समाज विकासका लागि होमिने यी कम्युनिस्ट नेताको दुखत अवसान भएको एक बर्ष पुग्नै लाग्दा उहाँबारे केही चर्चा गर्ने जमर्काे गरेको छु । समकालीन वामपन्थी तप्कामा इमान्दार नेता विदुर हुनुहुन्थ्यो पुर्वमन्त्री गोविन्दनाथ उप्रेतीले भन्नुभयो । ‘बाचुन्जेल विवादित क्रियाकलापमा कतै मुछिनुभएन । राष्ट्रिय राजनीति भन्दा पनि जिल्लामै केन्द्रित रहनुभयो । काभ्रेमा थोरै सम्मानपूर्वक नाम लिने नेतामा पर्नुहुन्थ्यो ।’ उप्रेतीले भन्नुभयो ।
विक्रम सम्बत् २०२२ साल भाद्र २२ गते का दिन आमा मिठुमाया सापकोटा र बुबा लक्ष्मी प्रसाद सापकोटाको माहिलो सन्तानको रुपमा काभ्रेपलाञ्चोक जिल्लाको तत्कालिन महादेवस्थान गाउँपञ्चायत वडा नं. ७ नौविसेमा जन्म भयो । उहाँको मुख्य गुण भनेको हरेक कुरालाई छिटो टिप्ने अनि सानै उमेर देखि तिक्ष्ण स्वभाव । उहाँको त्यो स्वभावलाई अहिले उहाँको छोरी विभु सापकोटासँग मेल खान्छ ।
विदुरले सानै देखि समाजलाई सुधार्न पहलकदमी लिनुभएको थियो । सानो उमेरदेखि नै गलत सोच र विचार विरुद्ध सबैलाई संगठित बनाउने र सामुहिक रुपमा अघि बढ्न थाल्नु भएको थियो । त्यसपछि उहाँ रोकिनु भएन । उच्च सामाजिक चेतको बुबा हुनुभएकाले उहाँको घरमा मालेको पार्टी सेल्टर तथा जनसम्पर्क कार्यालय बनेको थियो ।
त्यतीबेला युवराज कार्की,केशव बडाल,मोदिनी खरेल, मायानाथ अधिकारीले उहाँको घरमा आईरहनुहुन्थ्यो । बुबा समाजसेवी र डेडीथुम्का माविको विद्यालयको व्यवस्थापन समितिका सदस्य भएकाले शिक्षककको रुपमा आउने वापपन्थी नेताहरुसँग उहाँको भेटघाट र राजनीतिक दृष्टिकोणका बारेमा विदुरले थाहा पाउनुभयो । एमालेका नेता ईश्वरप्रसाद पोखरेलको श्रीमती मिरा धोजु पनि त्यसबेला मण्डन क्षेत्रमा सरुवा हुनु भएको र विदुरको घरमा नै बसेर शिक्षण पेशाको कार्य अगाडी बढाउनुभयो । नेतासँगको सामिप्यताले दाजु अच्युत सापकोटा र विदुर सापकोटा प्रभावित हुनु भएको थियो । काभ्रेली कम्युनिष्ट आन्दोलनका सर्वोच्च नेता विदुर सापकोटाको प्रथम पुण्यतिथीको अवसरमा उहाँले खेल्नु भएको भुमिकालाई आत्मसाथ गरेर अघि बढ्न सकियो भनेमात्र उहाँप्रति सच्चा सम्मान र श्रद्धाञ्जली दिनुको सार्थकता स्थापित हुनेछ । प्रिय नेता सापकोटालाई जिवन्त बनाउन अहोरात्र खटिनु भएको सापकोटाको जीवनसंगिनी भाउजु डा. भारती भेटवाल लगायत सापकोटा परिवारलाई हार्दिक समवेदना ।
काभ्रेमा एमालेको जग र घर बनाएका विदुर
2026-02-09T19:07:29+05:45

तपाईको प्रतिक्रिया