नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रे क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमित लामाले जनताको दैनिकीसँग प्रत्यक्ष रूपमा जोडिएका क्षेत्रको विकासलाई प्राथमिकता दिने बताएका छन्।
नेकपा एमाले प्रतिनिधिसभा क्षेत्र नं. १ समन्वय कमिटी काभ्रेले पनौतीमा आयोजना गरेको निर्वाचन केन्द्रित विस्तारित बैठक तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उम्मेदवार लामाले सडक, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, सञ्चारलगायत आधारभूत सेवा तथा पूर्वाधारको विकासमा जोड दिने उल्लेख गरे।
उनले नीति निर्माण, विकासको सोच र कार्यान्वयन गर्ने पार्टीका रूपमा नेकपा एमाले रहेको दाबी गरे। काभ्रे क्षेत्र नं. १ मा एमालेले निर्वाचन जित हासिल गर्न नसक्दा विकास निर्माणका काम प्रभावित भएको उल्लेख गर्दै उनले विकासलाई निरन्तरता दिन सक्ने पार्टीलाई जनताले समर्थन गर्नुपर्ने धारणा व्यक्त गरे।
“ताला–चाबी अरूलाई बुझाएर भविष्य सुरक्षित हुँदैन,” भन्दै उनले विकास गर्ने पार्टीलाई विजयी गराउन आग्रह गरे। काभ्रे–२ र काभ्रे–१ को विकास अवस्थाको तुलना गर्दा पनि उक्त तथ्य पुष्टि हुने उनको भनाइ थियो। एमाले नेता गोकुल बास्कोटाको नेतृत्वमा काभ्रे–२ मा विकासले गति लिएको उदाहरण प्रस्तुत गर्दै उनले विगत आठ वर्षको अवधिमा जिल्लाको विकासमा उल्लेखनीय परिवर्तन आएको बताए।
यसपटक काभ्रे क्षेत्र नं. १ को समग्र विकासका लागि पार्टीले आफूलाई उम्मेदवार बनाएको उल्लेख गर्दै लामाले जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्ने तथा संघीय सरकारको ध्यान केन्द्रित हुने खालका विकास निर्माणका काममा लाग्ने प्रतिबद्धता जनाए। काभ्रेको विकास सुनिश्चित गर्ने उनको भनाइ थियो।
कार्यक्रम क्षेत्रीय संयोजक इन्द्रमान तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा समानुपातिक उम्मेदवार इन्द्र तामाङ, पूर्व केन्द्रीय सदस्य रेशम लामा, नविना लामा, जिल्ला अध्यक्ष राजन भुर्तेल, उपाध्यक्ष देवसागर लामा, पूर्वमन्त्री तथा एमाले नेता चन्द्र लामा लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रममा पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका तथा खानीखोला, तेमाल र चौंरीदेउराली गाउँपालिकाका पालिका कमिटी अध्यक्षसहित नेकपा एमालेका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया