फुटसलको बचत रकमबाट आश्रुको शिक्षामा सहयोग

खेलकुद प्रतियोगिता मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित हुँदैन, सामाजिक उत्तरदायित्व निर्वाह गर्ने माध्यम पनि बन्न सक्छ भन्ने उदाहरण बनेपामा आयोजित तेस्रो राम स्मृति भेट्रान फुटसल प्रतियोगिताले प्रस्तुत गरेको छ । प्रतियोगिताबाट बचत भएको रकम स्वर्गीय राम थापाकी छोरी आश्रु थापाको शिक्षामा सहयोग गर्ने निर्णय गरिएको छ ।

बनेपा नगरपालिका–११ निवासी स्वर्गीय राम थापाको स्मृतिमा आयोजित तेस्रो राम स्मृति भेट्रान कप फुटसल प्रतियोगिताबाट बचत भएको ३५ हजार ३२७ रुपैयाँ आश्रुलाई हस्तान्तरण गरिने भएको हो । प्रतियोगितामा कुल एक लाख ५३ हजार ३२७ रुपैयाँ संकलन भएको थियो । प्रतियोगिता सञ्चालनमा एक लाख १८ हजार रुपैयाँ खर्च भएपछि बाँकी रहेको रकम छोरीको शिक्षाका लागि प्रदान गर्न लागिएको बनेपा वडा नं. ११ फुटबल क्लबका अध्यक्ष सुरेश गौतमले जानकारी दिनुभयो ।

स्वर्गीय थापाको स्मृतिलाई खेलकुदमार्फत जीवित राख्नुका साथै उहाँकी छोरीको शैक्षिक भविष्यमा सहयोग पुर्‍याउने उद्देश्यले बचत रकम हस्तान्तरण गर्न लागिएको गौतमले बताउनुभयो ।

“स्वर्गीय राम थापाकी छोरी आश्रुलाई कक्षा १२ सम्म अध्ययन गराउने योजना बनाएका छौँ । प्रतियोगिताबाट बचत भएको रकम उहाँको शिक्षाका लागि प्रदान गर्ने निर्णय गरेका हौँ,” गौतमले भन्नुभयो ।

प्रतियोगिताबाट प्राप्त रकमलाई व्यक्तिगत लाभभन्दा सामाजिक सेवामा उपयोग गर्ने निर्णयले खेलकुदको सामाजिक महत्त्वलाई समेत उजागर गरेको छ । प्रतियोगितामा सहभागी खेलाडी, आयोजक तथा सहयोगीहरूको योगदानबाट संकलित रकमले आश्रुको अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्वर्गीय थापाको सम्झनामा आयोजना हुँदै आएको प्रतियोगिताले खेलकुदको माध्यमबाट सामाजिक सद्भाव र मानवीय सहयोगको भावना प्रवर्द्धन गरेको छ । प्रतियोगिताको बचत रकम छोरीको शिक्षामा लगाउने निर्णयले स्मृतिलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी परिवारको भविष्यसँग जोड्ने प्रयास गरेको छ ।

आश्रुको कक्षा १२ सम्मको अध्ययनलाई सहयोग गर्ने योजनासहित अघि बढाइएको यो पहलले खेलकुद प्रतियोगितालाई सामाजिक सेवासँग जोड्ने सकारात्मक सन्देश दिएको छ ।

तपाईको प्रतिक्रिया