पालना छैन मिठाईको मापदण्ड

अधिकांश मिठाई उत्पादक उद्योगले सरकारले तोकेका मापदण्ड पालना नगरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तिहार नजिकिएसँगै गरेको मिठाईलक्षित अनुगमनमा मापदण्ड पालना नगरेको पाइएको हो ।

विभागका अनुसार कात्तिक ९ गतेदेखि १६ गतेसम्म देशभर गरेर ४३३ वटा मिठाई उद्योगको अनुगमन गर्दा ३०९ वटाले मापदण्ड पालना गरेका छैनन्; २२२ वटाले मात्र मापदण्ड पालना गरेका छन् । अनुगमन गरेकामध्ये २३१ वटा व्यवसायीले मापदण्ड कार्यान्वयन गर्ने प्रक्रिया सुरु गरेको र ७८ व्यवसायीले भने पूर्ण रूपमा अटेर गरेका छन् ।

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले चाडपर्वका बेला मिठाईको खपत अत्यधिक हुने भएकाले उपभोक्ताको स्वास्थ्य सुरक्षा र खाद्य गुणस्तरीयता कायम राख्न विभागसहित सातै प्रदेशमा रहेको ३० वटा कार्यालयका कर्मचारी परिचालन गरी मिठाई उद्योग लक्षित अनुगमन गरेको जानकारी दिनुभयो ।

विभागले मापदण्ड पालना नगर्ने र मापदण्ड कार्यान्वयनमा ढिलासुस्ती गर्ने मिठाई व्यवसायीलाई खाद्य ऐनबमोजिम आवश्यक कानुनी कारबाहीको गरिने जनाएको छ ।

यस्तै कार्यान्वयनको क्रममा रहेका २३१ वटा पसललाई तोकिएको समयसीमाभित्रै सुधारका कार्य सम्पन्न गर्न कडा निर्देशन दिएको छ । विभागले आमउपभोक्तालाई पनि उपभोग्य मिति, नापतौल र सरसफाइमा विशेष ध्यान दिएर मात्र मिठाई किन्न आग्रह गरेको छ ।

महानिर्देशक कर्णले मिठाई उत्पादनमा लापर्बाही देखिएपछि मिठाई उत्पादनसम्बन्धी नयाँ मापदण्ड लागु गरी त्यसैका आधारमा अनुगमन सुरु गरेको जानकारी दिनुभयो ।

मापदण्डमा के छ ?

मिठाई उत्पादनसम्बन्धी नयाँ मापदण्डमा मिठाई उत्पादक उद्योगीले मिठाई उत्पादन गर्दा सम्मिश्रण भएका सम्पूर्ण कच्चा पदार्थको यथार्थ विवरण प्याकिङ बट्टामा स्पष्ट उल्लेख गर्नु पर्छ ।

यसका साथै कुन मिठाईमा सम्मिश्रण गरिएको कच्चा पदार्थको मात्रा, उपभोग समय र मूल्यको जानकारी प्याकेजिङ बट्टामा उल्लेख गर्नु पर्छ । साथै मिठाई उत्पादन गर्दा प्रयोग गरेका कच्चा पदार्थ (तेल, घिउ, दुध, कुवा, ड्राइफ्रुट, चिनी÷मिश्री, गुणलगायत) सोकेसमै सबै उपभोक्ताले देख्ने गरी राख्नुपर्ने बाध्यकारी व्यवस्था पनि मापदण्डमा छ ।

विभागका अनुसार सोकेसमा देखाएर मात्रै हुँदैन विभागको अनुगमन टोलीले जुनसुकै बेला मिठाईको नमुना लिएर परीक्षण गर्दा ती पदार्थ नभएमा कानुन अनुसार व्यवसायीको अनुज्ञापत्र खारेजीसम्मको कारबाही गर्न सकिने छ । पहिलो चरणमा मापदण्ड अनुसार प्याकिङ गरेको नगरेको र सोकेसका मिठाईमा सम्मिश्रणको नमुना राखे वा नराखेको हेरिरहेको र दोस्रो चरणमा उल्लेख भएको अनुसार कच्चा पदार्थ समिश्रण भए वा नभएको नमुना परीक्षण गरिने विभागले जनाएको छ । महानिर्देशक कर्णले मिठाईको प्याकिङमा उल्लेख गरिएको कच्चा पदार्थको विवरण परीक्षणबाट पुष्टि नभएमा अनुज्ञापत्र खारेजीसम्मको कारबाही गर्ने चेतावनी दिनुभयो ।

उहाँले दसैँका बेलामा मिठाई पसलको अनुगमन गरी केही नमुना परीक्षण गर्दा प्याकिङको लेबलमा उल्लेख भएको विवरण परीक्षण रिपोर्टमा नभेटिएपछि मापदण्ड जारी गर्नु परेको जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँको कलङ्कीमा सञ्चालित मिठाई उद्योगले उत्पादन गरेको मिठाईको लेबलमा उल्लेख भएको विवरण मिठाईमा भेटिएन ।

उक्त उद्योग अहिले अदालती कारबाही प्रक्रियामा छ । उक्त उद्योगबाट उत्पादित मिठाईको प्याकिङ लेबलमा ‘खुवा, चिनी, दुध, नरिवल, छोगोडा, काजु, बदाम, तरबुजलगायतको मिश्रण’ भनेर लेखिएको तर विभागको टोलीले अनुगमन गरेर नमुना परीक्षण गर्दा चिनीबाहेक कुनै पनि पौष्टिक तत्व नभेटिएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया