पनौतीमा धार्मिक दक्षिणपन्थ र नव–फासिवादबारे १२ दिने प्रशिक्षण सम्पन्न

काभ्रे, असोज १० ।

 

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ चामखर्कस्थित डायमन्ड हिल रिसोर्टमा ‘The Political Economy of the Religious Right and Neo-Fascism in South and South East Asia’ विषयक १२ दिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ।

मदन भण्डारी स्कुल अफ एसियाको आयोजनामा सञ्चालन भएको प्रशिक्षण दक्षिण तथा दक्षिणपूर्वी एसियामा धार्मिक दक्षिणपन्थ, त्यससँग जोडिएको राजनीतिक अर्थतन्त्र तथा नव–फासिवादका विभिन्न पक्षबारे अध्ययन, छलफल र अन्तरक्रिया गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

१२ दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा दक्षिण तथा दक्षिणपूर्वी एसियाका विभिन्न देशका सहभागी तथा सम्बन्धित विषयका विज्ञ र प्रशिक्षकबीच समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक विषयमा अध्ययन तथा अन्तरक्रिया भएको थियो। विभिन्न देशका प्रशिक्षकहरूले सहभागीलाई विषयगत प्रशिक्षण दिएका थिए।

प्रशिक्षण कार्यक्रमको उद्घाटन नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए। १२ दिनसम्म चलेको प्रशिक्षणको समापन शनिबार नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा भएको हो। समापन कार्यक्रमको अध्यक्षता मदन भण्डारी स्कुल अफ एसियाका अध्यक्ष बलराम बास्कोटाले गरेका थिए।

प्रशिक्षणमा नेपालसहित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरू बंगलादेश, भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्सका सहभागीहरू सहभागी भएका थिए। भुटानबाट भने सहभागिता नरहेको जनाइएको छ।

सार्क क्षेत्रबाहेक चीन, इन्डोनेसिया र मलेसियाबाट समेत सहभागीहरू प्रशिक्षणमा सहभागी भएका थिए।

नेपालको तर्फबाट सुरेश आले मगर, प्रमेश हमाल र नारायणकाजी श्रेष्ठले प्रशिक्षकका रूपमा प्रशिक्षण दिएका थिए। कार्यक्रममा सहभागीहरूले दक्षिण तथा दक्षिणपूर्वी एसियामा धार्मिक दक्षिणपन्थ, राजनीतिक अर्थतन्त्र तथा नव–फासिवादका विभिन्न आयामबारे अध्ययन तथा छलफल गरेका थिए।

आयोजक मदन भण्डारी स्कुल अफ एसियाले विभिन्न देशका सहभागी तथा विज्ञहरूलाई एउटै मञ्चमा ल्याएर क्षेत्रीय राजनीतिक, सामाजिक तथा आर्थिक विषयमा अध्ययन, अनुभव आदानप्रदान र अन्तरक्रिया गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया