बनेपा प्याब्सनको सामाजिक विषयमा एकदिने कार्यशाला


बनेपा/शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि बिषयगत तालिम दिदै आएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल -प्याब्सन), बनेपा नगर कार्यसमितिले शनिबार सामाजिक बिषयक एक दिने शिक्षक कार्यशालाको आयोजना गरेको छ ।
बनेपा–१२, बासडोलस्थित मण्डला रिसोर्टमा आयोजित कार्यशालामा सामाजिक विषयको शिक्षण–सिकाइलाई प्रभावकारी, व्यावहारिक र सिर्जनशील बनाउने विषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो ।

कार्यशालाको प्रमुख अतिथि प्याब्सनका उपमहासचिव भीमसेन केसी रहनुभएको थियो । प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, बरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, उपाध्यक्ष वसन्तराज नेपाल, सचिव बिमल न्यौपाने, प्याब्सन पनौतीका अध्यक्ष रामचन्द्र देउजा, बनेपा प्याब्सनका पदाधिकारी तथा कार्यसमिति सदस्य, जिल्ला प्याब्सन कार्यसमितिका पदाधिकारी तथा सदस्य, शिक्षक–शिक्षिकाको सहभागिता थियो ।
कार्यक्रममा प्रशिक्षक युवराज गौतमले सामाजिक विषयको शिक्षण पद्धति, कक्षाकोठामा प्रयोग गर्न सकिने व्यावहारिक विधि तथा विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने उपायबारे प्रशिक्षण दिनुभएको थियो ।

प्याब्सन बनेपाका अध्यक्ष महेन्द्र बिष्टले शिक्षकको व्यावसायिक क्षमता अभिवृद्धि गर्दै सामाजिक विषयको शिक्षणलाई समयानुकूल, विद्यार्थीकेन्द्रित र व्यवहारसँग जोड्न कार्यशाला आयोजना गरिएको उल्लेख गर्नुभयो ।
कार्यशालाका सहभागी शिक्षकहरूले प्रशिक्षणबाट सामाजिक विषयलाई थप सिर्जनशील र प्रभावकारी ढङ्गले अध्यापन गर्न सहयोग पुग्ने बताएका थिए । कार्यशाला सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, अतिथि, प्रशिक्षक, सहभागी शिक्षक–शिक्षिकालाई अध्यक्ष बिष्टले कृतज्ञता व्यक्त गर्नुभएको छ । कार्यक्रमको सह–आयोजक प्याब्सन पनौती र अस्मिता पब्लिकेशन रहेका थिए ।

तपाईको प्रतिक्रिया