बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन निर्माण सुरु

अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीले डाइभर्सन सडक बगाएर अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास सुरु भएको छ । वर्षासँगै रोसी खोलामा आएको बाढीका कारण पुनर्निर्माण भइरहेको बीपी राजमार्गका विभिन्न स्थानमा बनाइएका डाइभर्सन सडक बगाउनुका साथै सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

सडक डिभिजन भक्तपुरले वर्षा रोकिएसँगै बाढीबाट क्षति भएको डाइभर्सन सडक निर्माणको काम सुरु भएको जनाएको छ । डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले रोसी खोलामा आएको बाढीबाट क्षति भएको डाइभर्सन सडक निर्माण गर्नुका साथै पुनर्निर्माण भइरहेको राजमार्गको भित्री ट्र्याकबाट सवारीसाधन सञ्चालन गराउने गरी काम सुरु गरिएको बताउनुभयो ।

उहाँका अनुसार बाढीका कारण राजमार्गअन्तर्गत विभिन्न स्थानमा करिब एक किलोमिटर डाइभर्सन सडक बगेको छ । “रोसी खोलामा आएको बाढीले चौकीडाँडामा करिब तीन सय मिटर, कटुञ्जे (घुमाउने) मा करिब तीन सय मिटर तथा जाइकाको ठेक्का रहेको खण्डअन्तर्गत माम्तीमा एक सय मिटर र पिप्लेमा २८५ मिटर डाइभर्सन सडक वासआउट भएको छ,” डिभिजन प्रमुख योगेशले भन्नुभयो ।

हाल बाढीबाट क्षति भएको घुमाउनेको डाइभर्सन सडक निर्माणका लागि तीन वटा उपकरण परिचालन गरिएको र अबको तीन–चार घण्टामा उक्त स्थानमा सडक सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो ।

डिभिजन प्रमुख योगेशका अनुसार शनिबार प्राविधिक टोलीले चौकीडाँडाको अवस्था निरीक्षण गरी डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गर्न सकिने अवस्था भए त्यसैबाट र नसकिए खानेपानीको पालघर भत्काएर तीन–चार घण्टामा सडक सञ्चालन गर्न सकिनेछ ।

चौकीडाँडा र घुमाउनेमा सडक सञ्चालनमा आएपछि अन्य स्थानमा रहेका पहिरो पन्छाउने कामसमेत सुरु गरिने उहाँले बताउनुभयो । वर्षा नभए शनिबार साँझसम्म माम्ती र पिप्ले (जाइका खण्ड) बाहेक अन्य स्थानमा सडक सञ्चालनमा ल्याउन सकिने उहाँको भनाइ छ ।

डिभिजनका अनुसार जाइकाको ठेक्का रहेको माम्तीमा करिब एक सय मिटर पहिरो गएको छ । माम्ती र पिप्लेमा गरी ३८५ मिटर डाइभर्सन सडक वासआउट भएको छ । त्यस्तै, दाउन्ने–कालोपुलमा करिब पाँच सय मिटर, चार सयबेंसीमा करिब एक सय मिटर पहिरो गएको तथा कटुञ्जे (घुमाउने) र चौकीडाँडामा करिब तीन–तीन सय मिटर डाइभर्सन सडक वासआउट भएको छ । यसरी कुल एक किलोमिटर ६८५ मिटर सडकमा पहिरो तथा वासआउट भएको डाइभर्सन निर्माण गर्नुपर्ने डिभिजनले जनाएको छ ।

वासआउट भएको सडक र पहिरो पन्छाएर यातायात सञ्चालन गर्न करिब ४८ घण्टा अर्थात् दुई दिन लाग्ने जनाइएको छ । डिभिजन प्रमुख योगेशले पुनर्निर्माण भइरहेको तीन वटा खण्डमा शनिबार नै सवारीसाधन सञ्चालन गर्न सकिए पनि जाइकाको खण्डमा भने डाइभर्सन निर्माण गर्न आइतबारसम्म समय लाग्ने बताउनुभयो ।

तत्कालका लागि राजमार्गको भित्री ट्र्याकबाट सवारीसाधन सञ्चालन गरिने र खोलाको सतह घटेसँगै डाइभर्सन सडक निर्माण गरी त्यसबाट सवारीसाधन सञ्चालन गर्दै भित्री सडकमा पुनर्निर्माणको काम अघि बढाइने उहाँले बताउनुभयो ।

वर्षाका कारण सडक डिभिजनले सोमबारसम्मका लागि सडक पुनर्निर्माणको काम रोकेको छ ।

वि.सं. २०८१ असोज दोस्रो साता रोसी खोलामा आएको बाढीका कारण बीपी राजमार्गको दाप्चा पुलदेखि नेपालथोकसम्मको २९ किलोमिटर सडकमा क्षति पुगेको थियो । बाढीबाट क्षतिग्रस्त राजमार्गको काभ्रेपलाञ्चोकतर्फ चार खण्ड र सिन्धुलीतर्फ एक खण्डमा पुनर्निर्माणको काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया