सर्भेयर्स सोसाइटी अफ काभ्रेद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५६ हजार सहयोग

बनेपा, असोज ८ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सर्भेयर्स सोसाइटी अफ काभ्रेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५६ हजार ६२२ सहयोग गरेको छ।

सोसाइटीले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत नदी तटीय क्षेत्रका बासिन्दाले ठूलो जनधनको क्षति बेहोर्नुपरेको तथा जनजीवन प्रभावित बनेको अवस्थामा विपद् प्रभावित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ।

सोसाइटीका अनुसार विपद्को कठिन घडीमा गरिएको यो सहयोगले प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा केही योगदान पुग्ने विश्वास लिइएको छ।

भोटेकोशी नदीमा आएको बाढीले विभिन्न जिल्लामा मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। प्रभावित क्षेत्रका नागरिकलाई राहत उपलब्ध गराउन सरकार, निजी क्षेत्र, विभिन्न सङ्घसंस्था तथा नागरिक समाजका तर्फबाट सहयोग जुट्ने क्रम जारी रहेको छ।

सर्भेयर्स सोसाइटी अफ काभ्रेले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेला मानवीय सहयोगमा सहभागी हुँदै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया