कांग्रेस महाधिवेशन तयारी तीव्र, व्यवस्थापन समितिको संयोजकमा सभापति थापा

काठमाडौं, भदौ २ गते । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै पार्टी सभापति गगनकुमार थापाको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गरेको छ।

साउन २४ देखि भदौ १ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता देवराज चालीसेले महाधिवेशनलाई व्यवस्थित, भव्य र प्रभावकारी रूपमा सम्पन्न गर्न व्यवस्थापन समिति गठन गरिएको जानकारी दिनुभयो।

निर्णयअनुसार व्यवस्थापन समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्य सेवा लगायतका विषयमा विभिन्न उपसमितिहरू गठन गर्नेछ। ती उपसमितिका संयोजक तथा सदस्यहरूको नामावली पछि सार्वजनिक गरिने जनाइएको छ।

कांग्रेसले महाधिवेशनमा प्रस्तुत गरिने विभिन्न प्रस्तावका विषयसमेत टुंगो लगाएको छ। मुख्य राजनीतिक प्रस्ताव सभापति थापाले प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावमा ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयलाई विशेष महत्व दिइने बताइएको छ।

यस्तै, ‘राजनीतिक संस्कृतिमा क्षयको प्रवृत्ति र युगानुकूल रूपान्तरणको अभिभारा’ विषयक प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गर्नेछन् भने प्रदेश निर्वाचनसम्बन्धी विशेष प्रस्ताव उपसभापति पुष्पा भुसालले पेश गर्नेछिन्। संगठनसम्बन्धी प्रस्ताव महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

बैठकले प्रवक्ता चालीसेको संयोजकत्वमा १५औँ महाधिवेशन प्रचारप्रसार समिति समेत गठन गरेको छ।

कांग्रेसले पूर्वनिर्धारित कार्यतालिकाअनुसार महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमै सम्पन्न गर्ने निर्णय यथावत् राखेको जनाएको छ। महाधिवेशनलाई केवल प्राविधिक निर्वाचन प्रक्रियामा सीमित नराखी पार्टीको लोकतान्त्रिक नवीकरण, एकता, सहमति, संवाद र व्यापक सहभागिताको महाउत्सवका रूपमा सम्पन्न गर्ने वातावरण निर्माण गरिने निर्णयमा उल्लेख छ।

भदौ महिनामा हुन सक्ने अत्यधिक वर्षा तथा प्राकृतिक प्रतिकूलताको सम्भावित प्रभावलाई ध्यानमा राख्दै केन्द्रीय निर्वाचन समितिलाई सम्बन्धित जिल्ला निर्वाचन समितिसँग समन्वय गरी तल्लो तहका निर्वाचन कार्यतालिकामा आवश्यक सामान्य हेरफेर गर्न सक्ने अधिकार पनि दिइएको छ।

महाधिवेशन तयारीका लागि आवश्यक अन्य समितिहरू गठन गर्ने तथा तिनका संयोजक र सदस्य नियुक्त गर्ने जिम्मेवारी सभापतिलाई प्रदान गरिएको प्रवक्ता चालीसेले बताउनुभयो।

यसैबीच कांग्रेसले पार्टी सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सम्पूर्ण क्रियाशील सदस्यताको डिजिटल अभिलेख तयार गर्ने निर्णय गरेको छ। सदस्यता वितरण, नवीकरण, अद्यावधिक तथा अभिलेखीकरणलाई सरल, विश्वसनीय र प्रभावकारी बनाइने जनाइएको छ।

निर्णयअनुसार प्रक्रिया पूरा गरेका सदस्यलाई पार्टी परिचयपत्र उपलब्ध गराइनेछ भने छुटेका सदस्यलाई निश्चित समय तोकी पुनः अद्यावधिक हुने अवसर प्रदान गरिनेछ। सदस्यता व्यवस्थापन समितिले यसअघि गरेका निर्णयहरू अनुमोदन गर्दै डिजिटल प्रणालीमा देखिएका प्राविधिक तथा व्यवस्थापकीय समस्या समाधान गरी कार्य अघि बढाउन समितिलाई आवश्यक अधिकारसमेत प्रदान गरिएको कांग्रेसले जनाएको छ।

तपाईको प्रतिक्रिया