डा. बिपी बडाल
नाला प्रकृति र संस्कृतिको संयोजनको केन्द्र हो । पूर्वमा धुलिखेल पश्चिममा नगरकोट जस्ता प्रसिद्ध पर्यटकीय स्थलको बिचमा बनेपा नगरपालिका–३ र ४ मा उग्रचण्डी नाला रहेको छ । सानो छ नाला तर यहाँ नेपालका शैव, शाक्त र बौद्ध समुदायको सांस्कृतिक समन्वय बेजोड छ । नालामा नेपालको इतिहास, भूगोल, संस्कृति सबै पाइन्छ । नाला घुम्न जाँदा नगरकोटबाट नालागढी, उग्रचण्डी नाला भगवती, करुणामय लोकेश्वर, आधुनिक गुम्बा, ब्रह्मायिणी–ब्रह्माको मन्दिर, चामुण्डामाई आदि पर्छन् । धुलिखेल नगरकोट हाइकिङ गर्दा नालाको शिरबाट आकाश खुलेका बेला अन्नपूर्ण, मनासलु, गणेश, लाङटाङ, जुगल, रोल्वालिङ, महालङ्गुर, नुम्बुर आदि हिमाली शृङ्खला देखिन्छ । यहाँ हाइकिङ गर्दा, हुस्सु कुहिरो चल्दा बादलमाथि उडेको अनुभूति हुन्छ ! यहाँका प्रमुख स्थलबारे जानकारी प्रस्तुत गरिएको छ :
नालागढी
भक्तपुरको पूर्वद्वारको किल्ला नै हो नालागढी । पूर्व दिशाबाट आइपर्न सक्ने सम्पूर्ण खतराको निवारण केन्द्र नै नालागढी हो । पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा नाला देवीलाई भौतिक रूपमा सात वटा ढोकाभित्र राखेको तथा तान्त्रिकहरूले तन्त्रविद्याले बाँधेको हुँदा सानो सहर भए पनि गोरखालीले कब्जामा लिन धेरै दिन लड्नु परेको थियो भनिन्छ । गढी युद्धहरू केवल सैन्य सङ्घर्ष मात्र नभई रणनीति, भौगोलिक नियन्त्रण र राज्य विस्तारसँग जोडिएका हुन्थे । किल्लाहरू पहाडी भूभागमा बनाइएकाले युद्ध जित्न भूगोलको ज्ञान, स्थानीय सहयोग र छापामार शैलीको युद्ध अत्यन्त महत्वपूर्ण हुने गर्दथे । यसरी ‘गढी युद्ध’ भन्नाले नेपाल एकीकरणकालका किल्लाकेन्द्रित महत्वपूर्ण युद्धहरूको समष्टि इतिहासलाई जनाउँछ ।
नालाका तान्त्रिकले गोर्खाली फौजसँग लड्न कहिले मौरी पठाउने, कहिले अरिङ्गाल पठाउने त कहिले मानवरहित शून्य सहर बनाउने जस्ता तान्त्रिक युद्ध गर्थे । गोर्खाली फौजको अथक प्रयासपछि भगवतीको शक्ति थाहा पाएका पृथ्वीनारायण शाहले तान्त्रिकहरूकै सहयोगमा नाला कब्जा गर्न सफल भएका थिए । भक्तपुरको तत्कालीन सुरक्षा केन्द्र नालागढी अचेल घुम्न जाने तथा टिकटक बनाउने प्रख्यात स्थल भएको छ । नेपाली सैन्य इतिहास, उपत्यकाको सुरक्षा व्यवस्था र तत्कालीन राज्य सञ्चालन पद्धतिको अध्ययन गर्न सुन्दर प्राकृतिक पर्यटकीय क्षेत्र नालागढी एक उत्कृष्ट क्षेत्र हो ।
ब्रह्मायणी मन्दिर
नालाको अर्को प्रसिद्ध क्षेत्र ब्रह्मायणी मन्दिर हो, जहाँ ब्रह्मा छन्, त्यहाँ ब्रह्मायणी हुने नै भइन् । यो सृष्टिमा सबैभन्दा पहिले पानी नै पानी थियो । पानीमा जीव विकास सुरु भयो । माछा देखा परे, मत्स्य अवतार भयो । बिस्तारै उभयचर प्राणीको प्रादुर्भाव भयो– कुर्म अवतार भयो । बँदेल (वराह) जस्ता बलिया जनावरको प्रादुर्भाव भयो । त्यसपछि मानव र सिंह मिलेको नरसिंह अवतार भयो । यसै गरी वामन, परशुराम, राम, कृष्ण र बुद्धको प्रादुर्भाव भयो । सृष्टिको १० अवतार नै ब्रह्म हो । १० अवतारको मन्दिर नालाको अर्को प्रख्यात मन्दिर हो । जीवको उद्विकासवाद स्पष्ट रूपमा अवतारवादमा देखिन्छ । वज्रयान बौद्ध परम्परामा पनि हिन्दुका १० अवतारलाई प्रतीकात्मक रूपमा पुनव्र्याख्या गरिन्छ । मत्स्य अवतारलाई करुणाद्वारा संरक्षण, कूर्मलाई ध्यानको स्थिरता, वराहलाई अज्ञानबाट ज्ञानतर्फ उन्नति, नरसिंहलाई क्रोधमय करुणा र तान्त्रिक रक्षक रूप, वामनलाई अहङ्कार नियन्त्रण, परशुरामलाई नकारात्मक शक्तिको शुद्धीकरण रूपमा बुझिन्छ । त्यस्तै राम अवतार धर्मपालन र नैतिकताको प्रतीक मानिन्छ भने कृष्णलाई उपाय दक्षता र लीलामय ज्ञानसँग जोडिन्छ । बुद्ध अवतारलाई परम सत्य ज्ञानको पूर्ण अभिव्यक्ति मानिन्छ, जसले यस परम्परामा विशेष स्थान पाउँछ । अन्तिम कल्की अवतारलाई भविष्यमा धर्म पुनस्र्थापना गर्ने शक्तिका रूपमा व्याख्या गरिन्छ, जसलाई बौद्ध परम्परामा मैत्रेय बुद्धसँग तुलना गरिन्छ । यसरी १० अवतारलाई बौद्ध हिन्दु दार्शनिक समन्वयको प्रतीक मानिन्छ । यहाँ डाँडाको टुप्पोमा भव्य ब्रह्माको मन्दिर छ । साथमा देवताका १० अवतार (मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध तथा कल्की) को मूर्ति पनि स्थापना गरिएको छ । सँगै ठुलो बुद्धको मूर्ति पनि स्थापना गरिएको छ ।
करुणामय लोकेश्वर
नालाको अर्को निधि लोकेश्वर मन्दिर हो । वर्णवज्र वज्राचार्यका कृति अनुरूप नेपालका चार प्रसिद्ध लोकेश्वर मन्दिरमध्ये काभ्रेको नालामा रहेको लोकेश्वर मन्दिर ‘सृष्टिकान्त लोकेश्वर’ का रूपमा प्रसिद्ध छ । पद्मपाणि लोकेश्वर बुङ्गमति रातो मत्स्येन्द्रनाथ, आनन्दादि लोकेश्वर चोभार अदिनाथ, सृष्टिकान्त लोकेश्वर नाला बनेपा र आर्यअवलोकितेश्वर जनबहाल काठमाडौँ सेतो मत्स्येन्द्रनाथ महत्वपूर्ण लोकेश्वर हुन् । नेपालमा रहेका चार वटै लोकेश्वरलाई वर्षमा एक पटक स्नान गराई मूर्तिमा रङरोगन गरी पुनः मन्दिरमा प्रतिस्थापन गर्ने परम्परा छ । नालामा स्थापित सृष्टिकान्त लोकेश्वरलाई सृष्टिकर्ताका रूपमा लिइन्छ । यिनको वर्ण सेतो हुन्छ र यिनलाई स्त्रीशक्तिको प्रतीकका रूपमा लिइन्छ । यस लोकेश्वरको पनि आनन्दादि लोकेश्वर, चोभारको जस्तै खटयात्रा मात्र हुन्छ । तिब्बतमा पानी नपरेर खडेरी परेपछि मत्स्येन्द्रनाथलाई उपत्यकाबाट चोरेर लान खोजिएको थियो रे । नाला पुगेपछि त्यहाँ वास बसियो तर भोलिपल्ट मत्स्येन्द्रनाथलाई उठाउनै सकेनन् । चोरहरू खाली हात फर्के । त्यहीँ लोकेश्वर करुणामयको मन्दिर स्थापना गरियो भन्ने किंवदन्ती पनि छ ।
बौद्धमार्गीले लोकेश्वर करुणामयलाई बोधिसत्व पद्मपाणि वा सृष्टिकान्त लोकेश्वरका रूपमा पूजा गर्छन् भने हिन्दूहरूले नारायण वा शिवका रूपमा पनि श्रद्धा प्रकट गर्छन् । नेवार समुदायमा करुणामय वा लोकेद्यः पनि भनिन्छ । मन्दिरको कलात्मक काठका टुँडाल, सुनौलो गजुर र प्राचीन मूर्तिहरूले यसको ऐतिहासिकता झल्काउँछ । मन्दिरको गर्भगृहमा लोकेश्वरको भव्य र शान्त मूर्ति रहेको छ । प्रत्येक वर्ष चैत्रशुक्ल पूर्णिमा (जनै पूर्णिमा वा अन्य विशेष तिथिमा पनि यहाँ विशेष पूजा हुन्छ) को अवसरमा यहाँ ठुलो जात्रा लाग्ने गर्छ । लोकेश्वरको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइन्छ । यस जात्रामा भक्तपुर, काभ्रे र काठमाडौँका हजारौँ भक्तजन दर्शनका लागि नाला पुग्ने गर्छन् । वैशाख महिनामा यहाँ भव्य जात्रा चल्छ ।
नाला गुम्बा
भक्तपुर दरबारतिरबाट सिधै पूर्वको भन्ज्याङमा नाला गुम्बा रहेको छ । नाला गुम्बालाई धक्पो शेड्रब लिङ्ग गुम्बा भनिन्छ । यो पनि भव्य छ । नाला गुम्बा अर्थात् धाक्पो शेड्रब लिङ्ग गुम्बा तिब्बती बौद्ध मठ हो । शनिबार बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सर्वसाधारणका लागि यो गुम्बा खुला हुन्छ । यो गुम्बा प्राकृतिक सौन्दर्य र तिब्बती वास्तुकलासँगै सम्पूर्ण बौद्ध संस्कृतिले भरिपूर्ण छ । यहाँ कुनै पनि खानेकुरा भित्र लैजान अनुमति छैन ।
उग्रचण्डी नाला भगवती
नेपालमण्डलका प्रमुख ५१ शक्तिपीठमध्ये एक नालामा अवस्थित उग्रचण्डी भगवती हुन् । यो मन्दिर देवी भगवती (महिषासुरमर्दिनी दुर्गा) लाई समर्पित छ । यो मन्दिर नेपालमा बाँकी रहेका दुर्लभ चारतले प्यागोडा शैलीका मन्दिरमध्ये एक मानिन्छ । स्थानीय किंवदन्ती अनुसार नक्साल भगवती, नाला भगवती, शोभा भगवती र पालाञ्चोक भगवती एउटै कलाकारले निर्माण गरेका चार वटा भगवतीका मूर्ति हुन् । महाकाली, महालक्ष्मी र महासरस्वती तिनै देवीको स्वरूपहरूको एक समष्टि रूप नै उग्रचण्डी नाला भगवती हुन् ।
नालाको नाम सत्य, त्रेता युगमा नागिरीपुर र द्वापर युगमा उत्तरापुर रहेको थियो । त्यस्तै कलियुगमा नालाङ्ग हुँदै कलियुगको ५१२ नेपाल संवत्मा ‘नाला’ शब्दले यो स्थानलाई सम्बोधन गरिएका लेख पाइन्छन् । सत्ययुगमा उक्त नागिरीपुरका राजा दीर्घरथ र रानी शुभलक्ष्मीले अष्टमीव्रतको पूजाअनुष्ठान गर्दा सुधर्मादेवी यस स्थानमा सदाकाल रहने गरी पवित्र शिलामा सिद्ध हुनुभयो । उक्त शिला नै नालाको उग्रचण्डी भगवती माताको साक्षात् रूप मानिन्छ । उग्रचण्डी भगवती साक्षात् रूपमा उत्पत्ति भई एउटा ठुलो ढुङ्गामाथि बसेर त्यहीँ अन्तध्र्यान भएको र पछि तत्कालीन शासकले उक्त ढुङ्गालाई उग्रचण्डी भगवतीको प्रस्तर मूर्ति बनाउन लगाई प्राणप्रतिष्ठा गरेका थिए भन्ने जनश्रुति पनि छ ।
इतिहास अध्येता विश्व उलक भन्नुहुन्छ, “सातौँ शताब्दीमा राजा शिवदेवभन्दा अंशुवर्मा महासामन्त पशुपति भट्टारक शक्तिशाली भए । उनले छोरी भृकुटीलाई तिब्बतमा दिएर तिब्बतसँग सम्बन्ध राम्रो बनाएका थिए । उनको मृत्युपश्चात् सत्ता सञ्चालनमा समस्या भयो । राजा उदयदेव तिब्बत निर्वासनमा गए तर सत्ता सञ्चालन जिष्णु गुप्तबाट हुन थाल्यो । पछि उनका छोरा नरेन्द्रदेव तन्त्रविद्यामा पारङ्गत भई प्रशस्त धन, हिरा, मोती र गरगहनासहित आफ्नी दिदी भृकुटीको दरबार ल्हासाबाट फर्केर नाला आएर बसेका थिए । नालालाई थप विकास, राम्रो वैभव संस्कृति, सुव्यवस्थित आदर्श बस्ती बनाउँदै मजबुत लडाकुसहितको किल्ला बनाई छुट्टै नालाङ्गग्राम राज्यको नाम दिएका थिए । भिनाजु स्रङचङ गम्पोबाट तन्त्रविद्यामा दीक्षित राजा नरेन्द्रदेवले ‘नाला’ लाई तन्त्रमय बनाउन सृष्टिकान्त लोकेश्वर करुणामयको स्थापना साथसाथै शाक्त सम्प्रदायमा स्थापित उग्रचण्डी भगवतीको न्यासध्यानमा हिन्दु बौद्ध बिनाभेदभाव सबैलाई सहभागी गराएका थिए ।
पलाञ्चोक भगवतीको कलात्मक–आकर्षक मूर्ति बनेपछि फेरि त्यस्तै सुन्दर मूर्ति नबनोस् भन्ने हेतुले तत्कालीन लिच्छवि महारानी राज्यवती–नवसागरको आदेशानुसार दरबारिया भारदारले कलाकारको औँला काटिदिए । उनै कलाकारले १० औँ शताब्दीमा नाला उग्रचण्डी भगवतीको मूर्ति बनाएका थिए पनि भनिन्छ । यदि देवीको मूर्तिबाट पसिना निस्किएमा कुनै प्राकृतिक वा सामाजिक विपत्ति आउन सक्ने सङ्केत मानिन्छ । क्षमापूजासहित प्रत्येक वर्ष अक्षय तृतीयादेखि अष्टमीसम्म मनाइने ‘नालाजात्रा’ यस मन्दिरको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो ।
पाटनका एक प्रधान, धनवन्त सिंह प्रधान (चोछे नायजु) तत्कालीन राजा पृथ्वीनारायण शाहको मृत्युदण्डबाट बच्न पाटनबाट भागेर नाला सहरमा थर परिवर्तन गरी लुकेर बस्न थाले भन्ने जनश्रुति पाइन्छ । पछि तिनी काशी बनारस पुगे भने अरूलाई मृत्युदण्ड दिइएको थियो पनि भनिन्छ । तिनै नायजुले उग्रचण्डी भगवतीको चौथो तला एवं स्वर्ण गजुर निर्माण गरे भन्ने जनश्रुति पाइन्छ । यिनै ललितपुरका छ प्रधान अर्थात् नायजुको खलक नै नालाका श्रेष्ठ हुन् भनिन्छ ।
तन्त्रविद्या भनेको हिन्दु र बौद्ध परम्परामा विकसित एक गहिरो आध्यात्मिक अभ्यास प्रणाली हो । यसमा मन्त्र, यन्त्र, ध्यान, साधना र ऊर्जा नियन्त्रणका माध्यमबाट आत्मज्ञान र सिद्धि प्राप्त गर्ने प्रयास गरिन्छ । तन्त्रविद्यामा साधकले शरीर, मन र चेतनालाई एकीकृत गर्दै सूक्ष्म शक्तिहरूको जागरण गर्छन् । तन्त्रविद्यामा देवता पूजन मात्र होइन, आन्तरिक शक्ति र चेतनाको रूपान्तरणलाई मुख्य मानिन्छ । वज्रयान बौद्ध परम्परामा पनि तन्त्र साधनाले करुणा र प्रज्ञाको विकासमा जोड दिन्छ । यो विद्या गोप्य परम्परामा सिकाइन्छ र गुरु–शिष्य सम्बन्ध अत्यन्त महत्वपूर्ण मानिन्छ । सही अभ्यासले आध्यात्मिक उन्नति र मानसिक शुद्धीकरण प्राप्त हुने विश्वास गरिन्छ ।
इतिहास अध्येता विश्व उलकका अनुसार नाला राज्य तन्त्रमय विद्यामा बलियो भएपछि राजा नरेन्द्रदेवले आफ्ना काका राजा ध्रुवदेवलाई मानगृहबाट र जिष्णु गुप्तलाई कैलाशकुट भवनबाट सजिलै धपाएर पठाएका थिए । त्यतिबेलादेखि नै नाला सहर धार्मिक तीर्थाटनका साथमा तान्त्रिक सम्मोहन, वशीभूत विद्या तथा दशमहाविद्या आर्जनका लागि उग्रचण्डी भगवती तथा चामुण्डामाईको जङ्गल मुख्य गन्तव्य बनेको थियो । खास गरी नालाका ज्ञानसिंह कर्माचार्य तन्त्रविद्याका तत्कालीन प्रख्यात गुरु पण्डित थिए । यिनी तन्त्रविद्यामा पूर्ण पारङ्गत नै थिए । यद्यपि तान्त्रिक साधनाबाट यिनी लोप भएका र हालसम्म पनि हराइरहेको किंवदन्ती रहेको छ ।
उग्रचण्डी नाला भगवतीका पुजारी कर्माचार्य नै हुने प्रचलन छ । त्यसैले यो भूमि पूर्ण रूपमा चामुण्डा, उग्रचण्डी र ब्रह्मायिणीको पवित्र तान्त्रिक साधना स्थल हो तर आजकाल कर्माचार्यले बिस्तारै आफ्नो पुर्खाको विरासत तन्त्रविद्या छाड्दै गएको पाइन्छ ।
चामुण्डा भगवती
नालामा रहेको चामुण्डा मन्दिर अष्टमातृका देवीको मन्दिर हो । पहिला भक्तपुर र नालाका गाउँ स्थापना गर्दा विभिन्न माताको मन्दिर बनाउने क्रममा चामुण्डा मन्दिर पनि बनाइएको थियो । मन्दिरनजिकै एउटा बस्ने पाटी र खुला चउर छ । सँगै सानो खोला पनि छ । खोलामा सानो साँघु पनि छ । यो साँघुको छुट्टै तान्त्रिक महत्व छ । यद्यपि साक्षात् चामुण्डा देवीको मन्दिरमाथि जङ्गलमा रहेको छ । माथिसम्म जाने भव्य सिँढी निर्माण गरिएको छ । एक हजार १४० खुड्किला भएको यो सिँडी नै एक पर्यटकीय उपमा हो । खासमा चामुण्डामाईको यो जङ्गलको बिचमा रहेको प्राकृतिक शिला नै नाला उग्रचण्डी भगवतीकी आमा मानिन्छिन् । हरेक वर्ष साउन ३० गते यहाँ वार्षिक पूजा गर्ने गरिन्छ । ध्यान, योग, साधना र तपस्या गर्न यो स्थल सही छ ।
पूजाआजा र तान्त्रिक साधना गर्न सजिलो होस् भनेर तल घाटमा पनि चामुण्डाको मन्दिर निर्माण गरिएको छ । चामुण्डा भगवती हिन्दु धर्मकी शक्तिशाली तथा उग्रदेवी हुन् । जितमान पोडेले आफ्नो क्षमता अनुसार एउटा ढुङ्गाको खम्बा र फलामे ताल्चा चढाएका छन् भने सेते दमाईं र गोपी दमाईंले ठुलठुला घण्टा राखेको देखिन्छ । लैङ्गिक तथा छुवाछुत अन्त्यका लागि यो क्षेत्र उदाहरणीय छ । मानवतामा कुनै विभेद हुँदैन, सबैको आत्मामा प्रेमको एउटै बुद्ध बसेको हुन्छ । सँगै बनेपामा चामुण्डा चण्डेश्वरी तथा पाशुपत ६४ लिङ्गका छैटौँ सिद्धलिङ्ग चण्डेश्वर, सातौँ धनेश्वर र आठौँ विकटेश्वर महादेव पनि रहेका छन् ।
ब्रह्म सत्य जगत् मिथ्या । यो मिथ्या जगत्मा सत्यको मार्ग देखाउने ज्ञानी सत्यवादी राजा युधिष्ठिर हुन् । यस्तै नालाको अर्को महत्वपूर्ण आकर्षण भनेको युधिष्ठिरको मूर्ति हो । यो नेपालमै रहेको एक मात्र युधिष्ठिरको मूर्ति हो । महाभारतको कथा र सत्यवादी राजा युधिष्ठिरको मूर्ति संरक्षण गरेर मन्दिर बनाउनुपर्ने देखिन्छ ।
नालालाई पर्यटनको नमुना गन्तव्य बनाउन ‘नाला संस्कृति तथा पर्यटन विकास समिति’ गठन गरेर नाला पर्यटन विकास गुरुयोजना निर्माण गर्नु पर्छ । मठमन्दिर, कला, संस्कृति र पुराना शैलीका घर संरक्षण गरेर नालालाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्नु पर्छ । यसले नालावासीको आर्थिकस्तर उकास्न सहयोग पुग्ने छ । नालामा नेवार परिकार पाइने प्रशस्त खाजाघर छन् । नेवारी खाना तथा खाजा प्रवर्धन गरेर पनि नालालाई भव्य पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । बजगाईंहरूको कुलदेवता स्थान र दाहालहरूको केन्द्रीय प्रतिष्ठान पनि नालामै रहेका छन् ।
नाला आजकाल साइकल प्रेमीका लागि आकर्षक रुट बन्दै गएको छ । त्यस्तै हाइकिङका लागि नाला, कासीभन्ज्याङ, टिले, नयाँगाउँ हुँदै कुन्ता तथा बाझाको वन, कालिकामार्ग, विकटेश्वर, टपलवनधारी टोल हुँदै फूलचोकी मार्ग गज्जब हुन्छ । त्यस्तै नगरकोट, रोहिणी भन्ज्याङ, हिले, जलजले, कासी भन्ज्याङ, तान्चो, रविओपी र बनेपामाथि डाँडामा रहेको गोसाइँकुण्ड पदयात्रा पनि गज्जबको अनुभूति गर्न सकिन्छ । नगरकोटदेखि १८ किलोमिटर यात्रा कहिले बाक्लो जङ्गल, कहिले कच्ची मोटरबाटो त कहिले ऐतिहासिक मठमन्दिर पार गर्दा अलौकिक प्राकृतिक आनन्द महसुस हुन्छ । मौसमले साथ दिएमा मस्त हिमाल हेर्न पाइन्छ । साथै पाँचखाल, पश्चिम नाला, चण्डेश्वरी हेर्दै हिँड्ने मौका मिल्छ । स्थानीय जनजीवन, जात्रापर्व, कृषि उत्पादन अवलोकन गर्न सकिन्छ ।
इतिहासविद् प्रकाश दर्नालका अनुसार नालाङ्गग्राम नालाको किराँतकालीन नाम हो । २०८३ वर्ष पुरानो विक्रम संवत्का प्रवर्तक राजा विक्रमादित्यको जन्मस्थल पनि नाला हो । साँखुको वज्रयोगिनी मन्दिरमा आज पनि विक्रमादित्यको टाउकोको मूर्ति र फलामको ठुलो कराही रहेको छ । यसरी नाला विक्रम संवत् स्थापना गर्ने विक्रामादित्यको, तन्त्रविज्ञानका ज्ञाता नरेन्द्रदेवको, चामुण्डा उग्रचण्डी नाला भगवतीको, ब्रह्मायणी दशावतारको तथा सृष्टिकान्त करुणामय लोकेश्वरको पुण्य भूमि हो । नाला जीवनमा एकचोटि जानै पर्ने ऐतिहासिक क्षेत्र हो ।
यो आलेख गोरखापत्रबाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया