नागरिकता, राष्ट्रिय परिचयपत्रमा उल्लेख्य प्रगति

धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८२/८३ को जेठ महिनामा नागरिक सेवा, राष्ट्रिय परिचयपत्र वितरण, बजार अनुगमन, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेख्य काम गरेको जनाएको छ । कार्यालयले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार एक महिनामै हजारौं नागरिकलाई प्रत्यक्ष सेवा प्रदान गरिएको उल्लेख छ ।
जेठ महिनामा १ हजार ५५८ जनालाई नयाँ नागरिकता जारी गरिएको छ भने १ हजार ५८ जनाले नागरिकताको प्रतिलिपि प्राप्त गरेका छन् । यस अवधिमा पाँच जनाले नागरिकता परित्याग गरेका छन् भने पाँच जनालाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिएको छ। साथै एक जनाको नागरिकता रद्द गरिएको र दुई जनालाई अंगीकृत नागरिकता प्रदान गरिएको विवरणमा उल्लेख छ।
राष्ट्रिय परिचयपत्र कार्यक्रमअन्तर्गत ३ हजार ३५५ जनाको विवरण दर्ता गरिएको छ । त्यसमध्ये ५२३ जनाले राष्ट्रिय परिचयपत्र कार्ड प्राप्त गरेका छन् । राहदानी सेवातर्फ १ हजार २४२ जनाको आवेदन दर्ता भएको छ भने १९५ वटा राहदानी वितरण गरिएको छ । कार्यालयले ४० जना बालबालिकालाई नाबालक परिचयपत्र जारी गरेको छ । दलित तथा जनजाति परिचयपत्रतर्फ १३२ जनाले परिचयपत्र प्राप्त गरेका छन्।

मुद्दा दर्ता र सुरक्षा अवस्था

जेठ महिनामा विभिन्न प्रकृतिका १० वटा मुद्दा दर्ता भएका छन्। एक मुद्दाको फैसला भएको छ। अदालतबाट प्राप्त ३७ वटा उजुरी तथा सूचना सम्बन्धित निकायमा पठाइएको र सोही संख्यामाका पत्रहरूको फछ्र्योट गरिएको कार्यालयले जनाएको छ ।
शान्ति सुरक्षाको अवस्थातर्फ जिल्लामा ७३ वटा अपराधजन्य घटना दर्ता भएका छन्। ती घटनामा संलग्न ४५ जना पक्राउ परेका छन् भने ११ जना फरार रहेको विवरण छ। लागूऔषध सम्बन्धी दुईवटा मुद्दा दर्ता भई चार जना पक्राउ परेका छन्। यस अवधिमा ३५ जना विशिष्ट व्यक्तिको भ्रमण व्यवस्थापन गरिएको थियो।

बजार अनुगमनमा कडाइको दाबी
उपभोक्ता हित संरक्षण तथा बजार व्यवस्थापनलाई प्राथमिकतामा राख्दै कार्यालयले जेठ महिनामा ११ वटा फर्म तथा पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा पाँचवटा व्यवसायलाई जरिवाना गरिएको छ । नियम उल्लङ्घन गर्ने व्यवसायबाट ४० हजार रुपैयाँ जरिवाना असुल गरिएको कार्यालयले जनाएको छ ।
यस्तै म्याद नाघेका तथा उपभोगका लागि अनुपयुक्त सामग्री बिक्री गरेको पाइएपछि पाँचवटा पसलबाट करिब १४ हजार ३०० रुपैयाँ बराबरका सामग्री जफत गरी नष्ट गरिएको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि जेठ मसान्तसम्म ११ वटा होटल तथा खाजा घरको अनुगमन गरिएको छ। अनुगमनका क्रममा पाँचवटा होटल तथा खाजा घरलाई ४० हजार रुपैयाँ जरिवाना गरिएको र १४ हजार ८०० रुपैयाँ बराबरका अखाद्य सामग्री नष्ट गरिएको छ । अनुगमनमा संचारकर्मीसँगको समन्वय भने कार्यालयले गरेको देखिदैन ।
विपद् व्यवस्थापन र राहत

विपद् प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्य पनि निरन्तर रहेको छ। जेठ महिनामा मृतकका परिवार, घाइते तथा बेपत्ता व्यक्तिका परिवारलाई गरी ४५ लाख ४८ हजार ६१८ रुपैयाँभन्दा बढी राहत रकम वितरण गरिएको छ । चौँरीदेउराली गाउँपालिकामा विपद्बाट प्रभावित ६७ घरपरिवारलाई अस्थायी आवास निर्माणको दोस्रो किस्ताबापत २७ लाख रुपैयाँ वितरण गरिएको कार्यालयले जनाएको छ ।

प्रशासनिक सुधारमा जोड

सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा नागरिक सहायता कक्ष तथा सोधपुछ कक्ष सञ्चालनमा ल्याइएको छ । कार्यालयले सेवा प्रवाहलाई थप प्रविधिमैत्री बनाउन व्हाट्सएपमार्फत समेत सेवाग्राहीसँग समन्वय र सहजीकरण सुरु गरेको जनाएको छ ।
नागरिकताको प्रतिलिपि वितरण प्रक्रियालाई थप सहज बनाउँदै निवेदकको फोटो र बायोमेट्रिक विवरणका आधारमा प्रतिलिपि उपलब्ध गराउने प्रणाली लागू गरिएको छ । कार्यालयमा रहेको पुरानो कम्प्युटर प्रणालीको स्तरोन्नति तथा ऋऋक्ष्ःक् प्रणालीमा आवश्यक उपकरण जडान गर्ने कार्य पनि सम्पन्न भएको छ ।

स्वास्थ्य र कर्मचारी कल्याण
जिल्ला प्रशासन कार्यालयले कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राख्दै एकदिने निःशुल्क स्वास्थ्य परीक्षण तथा आँखा जाँच शिविर सञ्चालन गरेको जनाएको छ। शिविरबाट कार्यालयका कर्मचारी र सेवाग्राही लाभान्वित भएका थिए।

काभ्रेपलाञ्चोकमा जेठ महिनाभर नागरिक सेवा प्रवाह, परिचयपत्र व्यवस्थापन, बजार अनुगमन, विपद् राहत वितरण र प्रशासनिक सुधारका कार्यक्रमलाई तीव्रता दिइएको देखिन्छ । तथ्याङ्कले जिल्ला प्रशासन कार्यालयले सेवा प्रभावकारिता बढाउन तथा सुशासन प्रवद्र्धन गर्न सक्रिय भूमिका निर्वाह गरिरहेको संकेत गरेको छ ।

तपाईको प्रतिक्रिया