
अग्रज साहित्यकार तथा नियात्राकार तेजप्रकाश श्रेष्ठको नयाँ कवितासङ्ग्रह ‘जाँगरको कल्पवृक्ष’ सार्वजनिक भएको छ। नेपाली साहित्यमा नियात्रा, संस्कृति र अनुसन्धानका क्षेत्रमा विशिष्ट पहिचान बनाएका श्रेष्ठले यसपटक कवितामार्फत समाज, समय, संस्कृति र मानवीय संवेदनाका विविध आयामलाई अभिव्यक्त गरेका छन्।
शुक्रबार काठमाडौंको चिवहाल, ठमेलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकारहरू भूवनहरि सिग्देल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा.डा. कपिल लामिछाने, छविरमण सिलवाल, प्रदीप सापकोटा र कृतिकार स्वयंले संयुक्त रूपमा कृतिको लोकार्पण गरे। सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरूले कृतिमाथि समीक्षा गर्दै कवि श्रेष्ठको साहित्यिक योगदानको चर्चा गरे।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार भूवनहरि सिग्देलले नेपाली साहित्यमा तेजप्रकाश श्रेष्ठको योगदान अनुकरणीय रहेको बताए। नियात्रा, संस्कृति र साहित्यका क्षेत्रमा निरन्तर सक्रिय श्रेष्ठले जागिरबाट अवकाश पाए पनि सिर्जनाबाट अवकाश नलिएको उल्लेख गर्दै उनले साहित्यिक कर्मप्रतिको समर्पण प्रेरणादायी रहेको धारणा राखे।
“कल्पनाशीलता र जीवनानुभवको संयोजनले उत्कृष्ट कविता जन्माउँछ,” उनले भने, “साहित्य भाषा र राष्ट्रको आत्मा हो। साहित्यको संरक्षण र विकास राष्ट्रको संरक्षणसँग जोडिएको विषय हो।”
वरिष्ठ कवि श्रीओम श्रेष्ठ ‘रोदन’ले नियात्रा साहित्य, संस्कृति र साहित्यिक गतिविधिमा तेजप्रकाश श्रेष्ठको योगदान उल्लेखनीय रहेको बताए। उनका अनुसार कविको बहुआयामिक साहित्यिक व्यक्तित्व अब कविता विधामार्फत पनि थप सशक्त रूपमा प्रस्तुत भएको छ।
कवितामा द्वन्द्व, महामारी र मानवीय संवेदना
कृतिमाथि समीक्षा प्रस्तुत गर्दै प्रा.डा. कपिल लामिछानेले संग्रहका कविताहरूमा द्वन्द्वकालीन पीडा, कोरोना महामारीले सिर्जना गरेको त्रास, सामाजिक असुरक्षा तथा आफन्तजनप्रतिको स्मृतिलाई प्रभावकारी रूपमा अभिव्यक्त गरिएको बताए।
उनले संस्कृतिको गहिरो अध्ययन गरेका कवि श्रेष्ठका कवितामा सांस्कृतिक चेतना र ऐतिहासिक बोध सशक्त रूपमा उपस्थित रहेको उल्लेख गरे। “कविताहरू केवल भावनात्मक अभिव्यक्ति मात्र होइनन्, तिनले समाजको सामूहिक स्मृति र अनुभवलाई पनि अभिलेखित गरेका छन्,” उनले भने।
समीक्षक प्रदीप सापकोटाले संग्रहमा सशस्त्र द्वन्द्वकालीन त्रासदीदेखि समकालीन राजनीतिक विकृति, नेतृत्वको स्वार्थ, जनताका अपेक्षा र निराशासम्मका विषय समेटिएको बताए। उनका अनुसार कविताहरूले प्राकृतिक विपत्ति, मानवीय संवेदना, शोक, प्रकृतिप्रेम, पर्यावरणीय चेतना र ह्रासोन्मुख सांस्कृतिक मूल्यप्रति पनि गहिरो चिन्ता व्यक्त गरेका छन्।
“कविले कतिपय विषयलाई प्रतीकात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ,” उनले भने, “कविताहरूमा उमेरसँगै प्राप्त जीवनबोध, अनुभवको परिपक्वता र कलात्मक अभिव्यक्तिको सन्तुलित संयोजन देखिन्छ।”
नियात्राकारबाट कविताको यात्रासम्म
तेजप्रकाश श्रेष्ठ नेपाली साहित्यमा विशेषतः नियात्राकारका रूपमा परिचित नाम हुन्। नेपालका सांस्कृतिक सम्पदा, परम्परा, ऐतिहासिक स्थल र जीवनशैलीलाई साहित्यिक शैलीमा प्रस्तुत गर्दै आएका श्रेष्ठले लामो समयदेखि अनुसन्धान, लेखन र सांस्कृतिक दस्तावेजीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
उनको नयाँ कृतिले भने पाठकलाई अर्को परिचय गराउँछ—एक संवेदनशील कविको परिचय। संग्रहका कविताहरूमा व्यक्तिगत अनुभूतिभन्दा व्यापक सामाजिक सरोकार बलियो रूपमा उपस्थित छन्। कविले समयका चुनौती, समाजका अन्तरविरोध, मानिसका पीडा र संस्कृतिका बदलिँदा स्वरूपलाई कविताको विषय बनाएका छन्।
‘म कविता लेख्न सक्छु भन्ने विश्वास थिएन’
कार्यक्रममा बोल्दै कृतिकार श्रेष्ठले आफूलाई सुरुदेखि कविको रूपमा नहेरेको स्वीकार गरे। “मैले लेखेका रचनाहरू कविता हुन् कि होइनन् भन्नेमा म आफैं विश्वस्त थिइनँ,” उनले भने, “साथीभाइ र साहित्यिक सहयात्रीहरूले उत्साह दिएपछि ती रचनाहरू पुस्तकका रूपमा पाठकमाझ ल्याउने साहस जुटाएँ।”
उनले कृतिको प्रकाशनमा सहयोग गर्ने साहित्यिक समुदायप्रति आभार व्यक्त गर्दै पाठकको प्रतिक्रियाले आगामी सिर्जनात्मक यात्रालाई थप ऊर्जा दिने विश्वास व्यक्त गरे।
कवितापाठले थप्यो साहित्यिक वातावरण
कार्यक्रममा कविहरू सुमन थापा, संगम, विश्व सिग्देल तथा लेखक एवं सञ्चारकर्मी राजेश खनालले संग्रहमा समावेश कविताहरू वाचन गरेका थिए। कवितापाठले कार्यक्रमलाई थप साहित्यिक र भावनात्मक बनाएको सहभागीहरूले बताएका थिए।
सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’ले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन रामसुन्दर देउजाले गरेका थिए।
समकालीन यथार्थको काव्य अभिलेख
‘जाँगरको कल्पवृक्ष’ केवल कविताको संग्रह मात्र नभई पछिल्लो समय नेपाली समाजले भोगेका राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनहरूको काव्यात्मक अभिलेखका रूपमा पनि देखिन्छ। द्वन्द्वको पीडा, महामारीको अनुभव, संस्कृतिको संरक्षणप्रतिको चिन्ता र मानव जीवनका सुख-दुःखलाई समेटेका यी कविताले समकालीन नेपाली समाजको एक महत्वपूर्ण दस्तावेजका रूपमा स्थान बनाउन सक्ने साहित्यिक वृत्तमा अपेक्षा गरिएको छ।
सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित यस कृतिले नियात्राकार तेजप्रकाश श्रेष्ठलाई कविताको क्षेत्रमा पनि स्थापित गर्ने विश्वास साहित्यकारहरूले व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया