
काभ्रेपलाञ्चोक, जेठ २४ गते । पनौती नगरपालिका–५, चौकोटस्थित लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले महिला सदस्यहरूको सीप विकास तथा आर्थिक सशक्तीकरणका लागि आयोजना गरेको दुईदिने कृत्रिम फूलको गुच्छा (बुके) बनाउने तालिम सम्पन्न गरेको छ ।
संस्थाको शिक्षा उप–समितिको व्यवस्थापनमा जेठ २३ र २४ गते सञ्चालन गरिएको तालिममा संस्थाका ३८ जना महिला सदस्यहरूको सहभागिता रहेको थियो । तालिममा प्रशिक्षक लक्ष्मी श्रेष्ठ र अनुपा श्रेष्ठले कृत्रिम फूलको गुच्छा निर्माणसम्बन्धी व्यावहारिक तथा सीपमूलक प्रशिक्षण दिनुभएको थियो ।
शिक्षा उप–समितिका संयोजक सकुन्तला श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष हिमाली श्रेष्ठले यस्ता सीपमूलक तालिमले महिला सदस्यहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले तालिमबाट हासिल गरेको ज्ञान र सीपलाई व्यवसायिक रूपमा उपयोग गरी आयआर्जनसँग जोड्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।
अध्यक्ष श्रेष्ठले सहकारीले सदस्यहरूको क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी एक सदस्यले तालिम उपयोगी रहेको बताउँदै नयाँ सीप सिक्ने अवसर प्राप्त भएको र यसलाई व्यवसायिक रूपमा समेत विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । कृत्रिम फूलको गुच्छा बनाउने सीपले आत्मविश्वास बढाएको र आयआर्जनको सम्भावना देखिएको उहाँको भनाइ थियो ।
समापन कार्यक्रममा संस्थाका कोषाध्यक्ष कल्याणी चन्द ठकुरी, सञ्चालक समिति सदस्य सूर्यकमल श्रेष्ठ, सदस्य सुजना योगल, प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीलगायत विभिन्न उप–समितिका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
महिला सदस्यहरूलाई सीपमूलक ज्ञान प्रदान गरी आर्थिक रूपमा आत्मनिर्भर तथा उद्यमशील बनाउन सहयोग पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको उक्त तालिम सम्पन्न भएको संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया