सहकारी अभियानमा युवा नेतृत्व आवश्यक

बनेपा, असार ९ — सहकारी क्षेत्रमा युवाको सहभागिता र नेतृत्व विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले अन्तरक्रियात्मक तालिम कार्यक्रम सम्पन्न गरेको छ।

संघअन्तर्गत युवा समन्वय उपसमितिको आयोजनामा भएको “सहकारीमा युवा नेतृत्वको भूमिका” विषयक तालिममा वक्ताहरूले सहकारी अभियानको दीर्घकालीन स्थायित्वका लागि युवा पुस्तालाई नेतृत्व तहसम्म पुर्‍याउन आवश्यक रहेको बताएका छन्।

कार्यक्रमका प्रमुख सहजकर्ता अन्तर्राष्ट्रिय प्रशिक्षक तथा मोटिभेटर राजु सरकारले सहकारी संस्थाहरूमा युवाको भूमिका सदस्यतामा मात्र सीमित नराखी निर्णय प्रक्रिया, व्यवस्थापन र नेतृत्व तहसम्म विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले सहकारी क्षेत्रलाई दिगो, पारदर्शी र प्रतिस्पर्धी बनाउन युवा शक्ति निर्णायक हुने बताउनुभयो।

जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठले सहकारी आन्दोलनको भविष्य युवा पुस्तासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै प्रविधिको उपयोग, सुशासन प्रवर्द्धन र समयानुकूल रूपान्तरणका लागि युवा नेतृत्व अपरिहार्य रहेको बताउनुभयो। अनुभवी र युवा पुस्ताबीचको सहकार्यले संस्थागत कार्यक्षमता र पारदर्शितामा सुधार ल्याउने उहाँको भनाइ थियो।

युवा समन्वय उपसमितिका संयोजक रोशन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य राख्दै सदस्य समेश सापकोटाले सहकारी क्षेत्रमा देखिएका चुनौती समाधानका लागि युवाको नवीन सोच र सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा संघका पदाधिकारी, सञ्चालक समिति, विभिन्न उपसमितिका सदस्य, कर्मचारी तथा प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिसहित ६५ जनाको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन युवा समन्वय उपसमितिका सदस्य सुरज कुमार न्यौपानेले गर्नुभएको थियो। समापनका अवसरमा सभापति श्रेष्ठले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै सहकारी संस्थाको सुदृढीकरणमा योगदान दिन सहभागीहरूलाई आग्रह गर्नुभयो।

संघका कामु प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले यस्ता तालिमले सहकारी क्षेत्रको मानव संसाधन विकास र संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया