
धुलिखेल, जेठ २१ गते । सभामुख डोलप्रसाद अर्याल ले सुशासन नागरिकको सबैभन्दा ठूलो अपेक्षा रहेको बताउनुभएको छ ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा धुलिखेलमा आयोजित नवौँ जिल्ला सभा तथा आर्थिक वर्ष २०८२/८३ को प्रगति समीक्षा कार्यक्रममा उहाँले नागरिकले राज्यबाट सबैभन्दा पहिले सुशासनको अपेक्षा गर्ने बताउनुभयो ।
सभामुख अर्यालले पछिल्लो समय पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वका विषयमा उठिरहेका सवालहरूले राज्य प्रणालीलाई थप जिम्मेवार र नागरिकमैत्री बनाउन महत्त्वपूर्ण प्रेरणा प्रदान गरेको उल्लेख गर्नुभयो ।
“सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो । पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वका विषयमा उठेका प्रश्नहरूले राज्य संयन्त्रलाई अझ जिम्मेवार बन्न प्रेरित गरेका छन्,” उहाँले भन्नुभयो ।
लोकतन्त्र निर्वाचनबाट मात्र सुदृढ नहुने उल्लेख गर्दै सभामुख अर्यालले नागरिकलाई अनुभूति हुने सेवाप्रवाह र सुशासनमार्फत लोकतन्त्रको सार्थकता पुष्टि हुने बताउनुभयो । उहाँले यसले लोकतन्त्रको जीवन्तता र नागरिक चेतनाको उचाइलाई समेत प्रतिबिम्बित गर्ने धारणा राख्नुभयो ।
सभामुख अर्यालले सङ्घीयताको वास्तविक परीक्षण सिंहदरबारमा मात्र नभई स्थानीय तहले प्रदान गर्ने सेवाको गुणस्तर र प्रभावकारिताबाट हुने बताउनुभयो । संविधानले प्रदान गरेका अधिकार र जिम्मेवारी नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी स्थानीय तहले कार्यसम्पादन गर्नुपर्ने उहाँको भनाइ थियो ।
“संसद्ले निर्माण गर्ने कानुनको अन्तिम सफलता स्थानीय तहको प्रभावकारी कार्यान्वयनमा निर्भर रहन्छ । स्थानीय तह नागरिकको सबैभन्दा नजिकको सरकार हो,” उहाँले भन्नुभयो ।
नागरिकमा ‘सरकार मेरो लागि छ’ भन्ने अनुभूति दिलाउने गरी राज्यका सबै संयन्त्रले काम गर्नुपर्नेमा जोड दिँदै सभामुख अर्यालले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको प्रभावकारी समन्वयबाट नागरिक र कर्मचारी दुवैले आत्मसम्मानपूर्वक राज्यको अनुभूति गर्न सक्ने बताउनुभयो ।
उहाँले संविधानको अक्षरशः पालना गर्दै आवश्यकताअनुसार विधि, सिद्धान्त, कानुन र ऐनहरूको परिमार्जन तथा संशोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । वर्तमान र भावी पुस्ताको आवश्यकता तथा आकांक्षालाई सम्बोधन गर्ने गरी संविधान संशोधनको बहस अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा सभामुख अर्यालले गत प्रतिनिधिसभा निर्वाचनमा काभ्रेपलाञ्चोकबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय मधुकुमार चौलागाईं र बदन भण्डारी, समानुपातिक सांसद राम लामा तथा विभिन्न विधामा उत्कृष्ट ठहरिएका जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम ले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया