
विश्वकप फुटबल–२०२६ लाई गतिशील र रोचक बनाउनका लागि फिफाले नयाँ नियम बनाएको छ । फिफाले खेलको गति रोक्ने उद्देश्यले गरिने समय खेर फाल्ने गतिविधिलाई नियन्त्रण गर्न बनाइएका नयाँ नियम मैदानमा रहेका रेफ्रीले कडाइका साथ लागु गर्ने बताएको छ । ४८ टोली सहभागी हुने विश्वकप सुरु हुन अब दुई साताभन्दा कम समय बाँकी छ ।
फिफाको रेफ्री समितिका अध्यक्ष पियरलुयगी कोलिनाले भन्नुभयो, “हामी खेलको लयमा आउने अवरोधलाई सकेसम्म कम गर्ने लक्ष्यतर्फ निरन्तर अघि बढिरहेका छौँ । रेफ्रीको निर्णयप्रति आक्रोशित भएर खेल मैदान छोड्ने खेलाडीलाई रातो कार्ड देखाउन सकिने छ । खेलको गति बढाउन रेफ्रीले ‘गोल किक’ र ‘थ्रो इन’ का लागि पाँच सेकेन्डको ‘काउन्टडाउन’ प्रयोग गर्न सक्ने छ । यदि पाँच सेकेन्डभित्र ‘गोल किक’ लिइएन भने विपक्षी टोलीलाई कर्नर किक दिइने छ । ‘थ्रो इन’ पनि पाँच सेकेन्डभित्र नगरिएमा विपक्षी टोलीलाई ‘थ्रो इन’ प्रदान गरिने छ । यो नियम गोलरक्षकले बल नियन्त्रणमा लिएपछि आठ सेकेन्डभित्र बल खेलमा फर्काउनुपर्ने नियमसँग मिल्दोजुल्दो छ । यसै गरी स्थानापन्न खेलाडीले १० सेकेन्डभित्र मैदान छोड्नुपर्ने छ, चोटपटक वा सुरक्षासम्बन्धी विशेष परिस्थिति भने अपवाद रहने छ ।
फिफाले भिडियो सहायक रेफ्री (भार) का विषयमा पनि थप प्रस्ट पारेको छ । यदि दोस्रो पहेँलो कार्डपछि रातो कार्ड दिइएको निर्णय गलत छ अथवा गलत खेलाडीलाई कार्ड देखाइएको अवस्थामा भारको प्रयोग गर्न सकिने छ । फिफाका अनुसार कर्नर किकमा रेफ्रीको गलत निर्णयमा पनि भारको प्रयोग हुने छ ।
नयाँ नियम अनुसार टाकरावपूर्ण अवस्थामा विपक्षी खेलाडीसँग कुरा गर्दा आफ्नो मुख छोप्ने खेलाडीलाई रातो कार्ड प्रदान गरिने छ । फिफाका अनुसार खेलाडीले हात, पाखुरा वा जर्सीले मुख छोपेर कुरा गरेको अवस्थामा, यदि रेफ्रीले त्यसलाई मैत्रीपूर्ण संवाद नभई टकरावपूर्ण अवस्था ठहर गरेमा रातो कार्ड देखाउन सकिने छ तर मुख छोपिए पनि संवाद टकरावपूर्ण नभएमा कारबाही हुने छैन ।
खेललाई गतिशील बनाउने यी सबै प्रयास भए पनि खेलको कुलिङ अवधि भने छोटो नहुन सक्छ । फिफाले प्रत्येक खेलको दुवै हाफको बिचतिर तीन÷तीन मिनेटको पानी पिउने विश्राम (वाटर ब्रेक) दिइने जनाएको छ । एपी

तपाईको प्रतिक्रिया