पाँच वर्षको प्रतीक्षा : काभ्रेका किसान कहिले पाउनेछन् शीतभण्डारको सुविधा ?

बनेपा–९ को एउटा खाली मैदानमा ठडिएको फलामे संरचना हेर्दा लाग्छ, यहाँ कुनै ठूलो उद्योग बन्न लागेको छ। तर यो उद्योग होइन, किसानका लागि अत्यावश्यक पूर्वाधार मानिएको शीतभण्डार हो, जसको निर्माण सुरु भएको वर्षौँ बितिसक्दा पनि काम अझै अधुरै छ।

काभ्रेका किसानका लागि यो केवल एउटा भवन होइन, तरकारी र फलफूलको उचित मूल्यसँग जोडिएको आशा हो। उत्पादन राम्रो भए पनि बजार नपाउँदा वा मूल्य घट्दा किसानले बर्सेनि ठूलो नोक्सानी बेहोर्नुपर्छ। त्यस्तो अवस्थामा शीतभण्डारले केही समय कृषि उपज सुरक्षित राखेर उचित मूल्यको प्रतीक्षा गर्ने अवसर दिन सक्छ।

तर विडम्बना, यही आशाको केन्द्र बनेको शीतभण्डार आफैँ बजेट र प्रशासनिक प्रक्रियाको जालोमा अल्झिएको छ।

सङ्घीय सरकारले आर्थिक वर्ष २०८०/८१ मा विशेष अनुदान कार्यक्रम अन्तर्गत दुई करोड रुपैयाँ विनियोजन गरेपछि परियोजना सुरु भएको थियो। नगरपालिकाले आफ्नो स्रोतबाट १२ लाख रुपैयाँ खर्च गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्यो। तर पहिलो वर्ष निर्माण सुरु हुन नसक्दा आएको बजेट फिर्ता गयो।

त्यसपछि अर्को वर्ष तीन करोड रुपैयाँ बजेट आयो। जग निर्माण भयो, फलामे संरचना उभियो। तर परियोजनाले अपेक्षित गति लिन सकेन। अहिले फेरि दुई करोड रुपैयाँको बजेटका भरमा काम अघि बढिरहेको छ।

बनेपा नगरपालिकाका इन्जिनियर चन्दन ह्योजूका अनुसार डीपीआरसम्बन्धी कागजात नष्ट हुनु, स्थानीय राजनीतिक तथा प्रशासनिक परिस्थिति र ठेक्का प्रक्रिया लम्बिनुले निर्माण प्रभावित भएको हो। हाल नयाँ निर्माण कम्पनीसँग सम्झौता भइसकेको र भवनको छाना, स्ल्याब तथा पर्खाल निर्माणको काम अघि बढ्ने तयारी छ।

तर मुख्य समस्या बजेटकै रहेको उहाँ स्वीकार गर्नुहुन्छ। “हरेक वर्ष दुई–तीन करोड मात्रै आउँदा काम टुक्राटुक्रामा हुन्छ,” उहाँ भन्नुहुन्छ, “परियोजना छिटो सम्पन्न गर्न वार्षिक १० करोडभन्दा बढी रकम आवश्यक छ।”

निर्माण सम्पन्न भएपछि एक हजार मेट्रिक टन क्षमता भएको शीतभण्डारमा मासुजन्य पदार्थ, फलफूल र तरकारी भण्डारण गर्न सकिनेछ। तर अहिले किसानका लागि त्यो सुविधा अझै भविष्यकै विषय बनेको छ।

उता नमोबुद्धमा फरक तस्वीर

काभ्रेको अर्को स्थानीय तह नमोबुद्ध नगरपालिकामा भने शीतभण्डार निर्माण अपेक्षाकृत तीव्र गतिमा अघि बढिरहेको छ।

नमोबुद्ध–३ मा निर्माणाधीन एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार आगामी पुस मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नगरपालिकाका इन्जिनियर उज्ज्वल अर्यालका अनुसार भवन निर्माणको काम लगभग सकिएको छ र बाँकी संरचना निर्माणका लागि थप ठेक्का प्रक्रिया अघि बढाइएको छ।

यद्यपि त्यहाँ पनि चुनौती बजेटकै हो। नगरपालिकाले प्रदेश सरकारसँग थप सहयोग मागेको छ। तर हालसम्म आवश्यक रकम सुनिश्चित भएकाले निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुने अपेक्षा गरिएको छ।

किसानको प्रश्न : उत्पादन बढाउने कि बचाउने ?

काभ्रे जिल्लाका विभिन्न पालिकामा तरकारी, आलु, फलफूल र दुग्ध उत्पादन बढ्दै गएको छ। तर उत्पादन बढ्नु मात्रै पर्याप्त छैन। उत्पादनलाई सुरक्षित राख्ने पूर्वाधार नहुँदा किसानले मूल्य नपाएर आफ्नो मेहनत सस्तोमा बेच्न बाध्य हुने अवस्था अझै कायम छ।

कृषि विज्ञहरू भन्छन्, नेपालमा कृषि उत्पादनभन्दा ठूलो समस्या उत्पादनपछिको व्यवस्थापन हो। शीतभण्डार त्यसको समाधानको महत्वपूर्ण कडी हो।

बनेपा र नमोबुद्धका दुई शीतभण्डार परियोजनाले अहिले एउटै प्रश्न उठाइरहेका छन्— नेपालले किसानलाई उत्पादन बढाउन त प्रोत्साहन गरिरहेको छ, तर उत्पादन जोगाउने पूर्वाधार निर्माणमा किन यति ढिलो भइरहेको छ ?

काभ्रेका किसानहरूका लागि यसको उत्तर केवल नीतिगत बहस होइन, उनीहरूको दैनिक आम्दानी र भविष्यसँग जोडिएको विषय हो।

तपाईको प्रतिक्रिया