अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्ड अहिले धुलो, जाम र अव्यवस्थाको प्रतीकजस्तै बनेको छ । राजधानीलाई पूर्वी नेपालसँग जोड्ने मुख्य राजमार्ग विस्तारको काम भइरहे पनि सडकसँगै निर्माण हुनुपर्ने पुलहरूको काम भने अत्यन्त सुस्त गतिमा अघि बढ्दा स्थानीयवासी र यात्रु थप सास्ती खेप्न बाध्य छन् ।
छ लेन सडकको महत्वाकांक्षी योजना अन्तर्गत भक्तपुरदेखि धुलिखेलसम्म सडक चौडा पार्ने काम चलिरहेका बेला तीन वटा सडक पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले भने उल्लेख्य प्रगति गर्न सकेको छैन । सम्झौताको समय सकिन करिब छ महिना मात्रै बाँकी रहँदा हालसम्म पुल निर्माणतर्फ करिब १० प्रतिशत मात्रै भौतिक प्रगति हुनु आयोजनाकै लागि चिन्ताको विषय बनेको छ ।
२०७९ चैत ६ गते सूर्यविनायक–धुलिखेल सडक आयोजना र हिमदोङ एन्ड थोक्कर/रामजानकी जेभीबीच तीन वटा पुल निर्माणका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले २०८३ मङ्सिर ५ गतेभित्र भक्तपुरको जगाती पुल, काभ्रेपलाञ्चोकको महादेवखोला पुल र बनेपास्थित पुण्यमाताखोला पुल निर्माण गरेर आयोजनालाई हस्तान्तरण गर्नुपर्नेछ । तर दुई वर्ष बित्न लाग्दा पनि काम भने अपेक्षाअनुसार अघि बढ्न सकेको छैन ।
आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार हालसम्म महादेवखोला पुलमा चार वटा स्ल्याबमध्ये एउटा मात्रै स्ल्याब ढलान गरिएको छ । अन्य दुई पुलमा उल्लेख्य निर्माण कार्य सुरु नै हुन सकेको छैन । अब मनसुन सुरु हुन लागेकाले केही महिनासम्म निर्माण कार्य झन् प्रभावित हुने निश्चितजस्तै देखिन्छ ।
स्थानीयवासीका अनुसार सडक विस्तारका कारण दैनिक यात्रा जोखिमपूर्ण बनेको छ । धुलो, खाल्डाखुल्डी र साँघुरा वैकल्पिक मार्गका कारण यात्रु घण्टौँ जाममा बस्न बाध्य छन् । त्यसमाथि पुल निर्माणमा भइरहेको ढिलाइले सडक विस्तारको समग्र कामलाई नै असर पारेको छ ।
भक्तपुरतर्फ जगाती पुल निर्माणका लागि खोलामा गरिएको प्रारम्भिक संरचना बाढीले बगाएपछि निर्माण कम्पनीले काम अघि बढाउन चासो नदिएको आयोजनाको भनाइ छ । बनेपाको पुण्यमाताखोलामा समेत फलामे डन्डी झारेर खोला खन्ने काम गरिए पनि त्यसपछि काम अलपत्र छोडिएको स्थानीय बताउँछन् ।
आयोजनाले पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि निर्माण व्यवसायी कम्पनीले अपेक्षित गति नदिएको जनाइएको छ । यद्यपि आयोजनाले केही प्राविधिक तथा स्थानीय अवरोध पनि स्वीकार गरेको छ । जगाती क्षेत्रमा स्थानीयले कोरिडोर माग गर्दै विरोध जनाएका थिए भने बनेपास्थित पुण्यमाताखोलामा निर्माण हुने पुलको उचाइबारे विवाद भएपछि डिजाइन परिवर्तन गर्नुपरेको थियो । यी कारणले पनि काममा ढिलाइ भएको आयोजनाको दाबी छ ।
तर यात्रु र स्थानीयका लागि यस्ता प्राविधिक बहानाभन्दा पनि दैनिकीको सास्ती ठूलो बनेको छ । दैनिक हजारौँ सवारी गुड्ने यो सडकखण्डमा निर्माण ढिलाइ हुँदा दुर्घटनाको जोखिमसमेत बढेको छ । वर्षौंदेखि “छ लेन सडक” को सपना देखाइए पनि निर्माणको सुस्त गतिले सर्वसाधारणमा निराशा बढाएको छ ।
तीन वटा पुल निर्माणका लागि आयोजना र निर्माण कम्पनीबीच ५७ करोड रुपैयाँमा सम्झौता भएको थियो । आयोजनाका अनुसार हालसम्म निर्माण कम्पनीले करिब एक करोड ८० लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । तर कामको प्रगति भने अत्यन्त न्यून देखिएको छ ।
पूर्वी नेपालको मुख्य प्रवेश मार्ग मानिने अरनिको राजमार्गमा पुल निर्माणको ढिलाइले अब प्रश्न उठ्न थालेको छ—सडक विस्तारको सपना कागजमै सीमित हुने त होइन ?

तपाईको प्रतिक्रिया