
काठमाडौं — धान रोपाइँको मौसम नजिकिँदै जाँदा किसानको मुख्य चिन्ता फेरि मलमै केन्द्रित हुन थालेको छ । हरेक वर्षझैँ यस वर्ष पनि रासायनिक मलको आपूर्ति सहज नहुने संकेत देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई वैकल्पिक प्राङ्गारिक तथा जैविक मल प्रयोग गर्न आग्रह गरेको छ ।
कृषि विभागले सार्वजनिक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा देखिएको असहज अवस्था र विशेषगरी पश्चिम एसियामा जारी द्वन्द्वका कारण रासायनिक मल आयात प्रभावित हुन सक्ने जनाएको छ । मन्त्रालयका अनुसार यसले आगामी दिनमा मलको उपलब्धतामा थप चुनौती सिर्जना गर्न सक्छ ।
धान रोपाइँको समयसँगै मलको माग ह्वात्तै बढ्ने भएकाले किसानलाई अहिले नै वैकल्पिक उपाय अपनाउन सुझाव दिइएको हो । सरकारले अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आए पनि मागअनुसार आपूर्ति हुन कठिन देखिएकाले कृषि क्षेत्रलाई उत्पादनबाट विचलित हुन नदिन जैविक स्रोतको प्रयोगमा जोड दिइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले रासायनिक मलको विकल्पका रूपमा गोठेमल, गड्यौला मल, हरियो मल (ढैंचा), एजोला तथा कुखुराको सुली प्रयोग गर्न आग्रह गरेको छ । विभागका अनुसार गोठेमलले माटोको संरचना सुधार गर्नुका साथै पानी धारण क्षमता बढाएर माटोलाई दीर्घकालसम्म स्वस्थ राख्न सहयोग गर्छ ।
त्यस्तै गड्यौला मलले बिरुवालाई सजिलै पच्ने पोषकतत्त्व उपलब्ध गराउने, हरियो मलले माटोको उर्वराशक्ति बढाउने तथा एजोलाले धान खेतीमा प्राकृतिक रूपमा नाइट्रोजन पूर्ति गर्ने उल्लेख गरिएको छ । कुखुराको सुली उच्च नाइट्रोजनयुक्त भएकाले उत्पादन वृद्धि गर्न उपयोगी हुने विभागको भनाइ छ ।
मन्त्रालयले किसानलाई स्थान, माटो र बालीअनुसार मलको मात्रा फरक हुन सक्ने भएकाले कृषि प्राविधिकको सल्लाह लिएर मात्रै प्रयोग गर्न अनुरोध गरेको छ ।
कृषि विभागका अनुसार रासायनिक मलको दीर्घकालीन विकल्पका रूपमा जैविक तथा प्राङ्गारिक स्रोतको प्रयोग बढ्दै गएमा उत्पादनमा मात्रै होइन, दिगो माटो व्यवस्थापन र वातावरण संरक्षणमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया