
सकारात्मक सोच र चिन्तनले आत्मनिर्भर बनाउन प्रेरित गर्छ । त्यस्तै सकारात्मक सोचले पनौतीमा रहेको पनौती क्याफेमा १५ जना किशोरी र युवतीले आत्मनिर्भर बन्ने प्रयास सुरु गरेका छन् । पछिल्लो समय कफी पारखीहरुको संख्या बढीरहेको समयमा फ्रिडम टु लर्न नेपालले पनौतीमा १५ जना महिलाका लागि ६० घण्टे बारिष्टा तालिम सुरु गरेको हो । तालिमपछि आफ्नो रोजगारी गर्न चाहनेहरुलाई संस्थाले बिउ पुँजीको समेत व्यवस्थापन गर्ने उल्लेख गरेको छ ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले १५ दिनसम्म सञ्चालन हुने तालिमको एक कार्यक्रमका बीच सोमबार उद्घाटन गर्नुभयो । सामुदायिक विद्यालयमा अध्ययन गरी एसईई दिएर बसेका छात्रा तथा महिला अभिभावकलाई लक्षित गरि तालिम संचालन गरेको संस्थाले उल्लेख गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण थापाले सीप, ज्ञान र क्षमता अभिवृद्धि गर्दै मानव श्रमशक्तिमा लगानी बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो ।
गुणस्तरीय शिक्षाका लागि नागरिकस्तरबाट सुरु भएको अभियान पछिल्लो समय पर्यटन, संस्कृति र संस्कारतर्फ केन्द्रित भएको उहाँको दाबी छ ।
पनौतीस्थित कम्युनिटी क्याफेमार्फत सकारात्मक सोच र समाज निर्माणको अभियान पनि अघि बढाइएको छ । तालिम लिएपछि आत्मनिर्भर बन्न चाहने महिलालाई कानुनी तथा व्यावहारिक चुनौती समाधानमा समेत सहजीकरण गरिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
नगर प्रमुख रामशरण भण्डारीले तालिमको वास्तविक उपलब्धि त्यसको परिणामबाट देखिने भएकाले सिकेको सीपलाई निरन्तर प्रयोगमा ल्याउन आग्रह गर्नुभयो ।
सिपविना जीवनयापन कठिन हुने भन्दै उनले निःशुल्क तालिमको सदुपयोग गर्न सहभागीलाई अनुरोध गर्नुभयो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले तालिमले स्वदेश वा विदेश जहाँ रहे पनि जीवन सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रमुख प्रशिक्षक मोहन गजुरेलले ध्यानपूर्वक सिक्न र सिकेको विषयलाई व्यवहारमा उतार्न नियमित अभ्यास आवश्यक रहेको उल्लेख गर्नुभयो । संस्थाका अध्यक्ष प्रा.डा. नीलम शर्माले मुलुकको समृद्धिका लागि भौतिक विकास मात्र पर्याप्त नहुने उल्लेख गर्दै जनशक्ति व्यवस्थापन, श्रम तथा सीप विकासमा लगानी आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया