पनौतीको पनि आफ्नै नगर अस्पताल

सामाजिक संञ्जालमा निरन्तर खबरदारी, जनताको दैनिक प्रश्न अनि आवश्यकता रहेको पनौती नगरपालिकाले गौरवको आयोजनाको रुपमा रहेको नगर अस्पतालको विधिवत् रुपमा सोमबार उद्घाटन गरिएको छ ।
स्थानीय सरकारको विशेष पहलमार्फत केही वर्षअघि भारतीय दूतावासको सहयोगमा अस्पताल भवन निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन सकेको थिएन । तत्कालिन पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने, वडा नं १० का अध्यक्ष मोहन बहादुर भण्डारीको पहदकदमीमा नगर अस्पतालको उद्घाटन गरिएको हो ।
पनौती नगरपालिकाको आधारभूत नगर अस्पताल सोमबारदेखि औपचारिक रूपमा शुभारम्भ गरिएको छ । लामो समयदेखि प्रतीक्षामा रहेको अस्पताल सञ्चालनमा आएपछि नगरवासीमा उत्साह छाएको छ ।
अस्पतालको शुभारम्भ नगर प्रमुख रामशरण भण्डारी र उपप्रमुख गिता बञ्जाराले संयुक्त रुपमा गर्नुभयो । अस्पतालले पहिलो चरणमा दुई जना मेडिकल अधिकृतसहित नौ जना जनशक्तिमार्फत बिहान ९ बजेदेखि नियमित सेवा सुरु गरेको प्रमुख भण्डारीले भन्नुभयो । अस्पताल सञ्चालनसँगै अब पनौती नगर क्षेत्रका नागरिकले आफ्नै नगरभित्र आधारभूत स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरेका छन् ।
नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका संयोजक रामशरण भण्डारीका अनुसार अस्पतालमा गुणस्तरीय ल्याब सेवा, विशेषज्ञ सेवा, एक्स–रे मेसिन लगायतका सुविधासहित सेवा प्रारम्भ गरिएको हो । उहाँले नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य सेवालाई केन्द्रमा राखेर अस्पताल सञ्चालनमा ल्याएको दाबी गर्नुभयो ।
…नगर क्षेत्रका नागरिकको स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले अस्पताल सुरु गरिएको होÚ – नगर प्रमुख भण्डारीले भन्नुभयो – …पनौती नगरपालिका मात्र होइन, आसपासका क्षेत्रका नागरिकले पनि यहाँबाट सहज सेवा पाउनेछन् । यहाँ उपलब्ध हुन नसकेको सेवा मात्रै अन्यत्र रिफर गरिनेछ ।Ú
एपप्रमुख गिता बञ्जाराले अस्पतालमा फार्मेसी सेवा पनि सञ्चालनमा आउनेछ । फार्मेसीमार्फत सरकारले निःशुल्क उपलब्ध गराउने औषधि वितरण गरिनेछ भने आवश्यकता अनुसार थप सेवा क्रमशः विस्तार गरिनेछ । तत्कालीन अवस्थामा जाइकाले निर्माण गरी सञ्चालन गरेको खोपासी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगर अस्पतालका रूपमा विकास गर्ने योजनाअनुसार अहिलेको अस्पताल सञ्चालनमा ल्याइएको
उहाँले बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख जनक केसीले नगरपालिकाले व्यवस्थापन, योजना निर्माण र आवश्यक तयारी पूरा गरेर अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो । पनौती नगरपालिकाभित्र हाल १५ वटा स्वास्थ्य संस्था छन् ।
तीमध्ये नगर अस्पताल सबैभन्दा धेरै जनशक्ति, उपकरण र सेवा सुविधा भएको स्वास्थ्य संस्था बनेको नगरपालिकाले जनाएको छ । उपप्रमुख गीता बञ्जाराले लामो समयको प्रतीक्षापछि नगरवासीले आफ्नै नगरपालिकाबाट आधारभूत अस्पताल सेवा लिने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीले नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालन गरिएको बताउनुभयो ।
अस्पताल उद्घाटन कार्यक्रममा जनस्वास्थ्य कार्यालय काभ्रे प्रमुख रागीश्री कक्षपति श्रेष्ठ, वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक विपिन लामा, वडा नम्बर १० का अध्यक्ष मोहनबहादुर भण्डारी, जनस्वास्थ्य अधिकृत शुभाकर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी वडा अध्यक्षहरूले अस्पतालका विषयमा नकारात्मक प्रचार गरिएको भन्दै सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने कार्य नगर्न आग्रह समेत गरेका थिए । अस्पतालको सेवा क्रमशः विस्तार गरिने र आगामी दिनमा थप विशेषज्ञ सेवा तथा आधुनिक उपकरण थप्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालका सबै स्थानीय तहमा आधारभूत नगर अस्पताल स्थापना गर्ने अवधारणा, शिलान्यास तथा बजेट विनियोजन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएको थियो । सोही निर्णयअनुसार काभ्रेका केही स्थानीय तहले यसअघि नै अस्पताल सञ्चालनमा ल्याइसकेका छन् । यद्यपि अस्पताल सञ्चालनका लागि संघीय सरकारले हालसम्म बजेट व्यवस्था नगरेको नगरपालिकाले जनाएको छ । प्रदेश सरकारले उपलब्ध गराएको ४० लाख रुपैयाँबाट आवश्यक सामग्री खरिद तथा व्यवस्थापन गरिएको छ भने थप खर्च नगरपालिकाले आफ्नै स्रोतबाट व्यवस्थापन गरेको नगर प्रमुख भण्डारीले बताए । अस्पताल सञ्चालनमा आएपछि पनौती नगरपालिकाका नागरिकलाई सामान्य उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता केही हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ । स्थानीय तहबाटै स्वास्थ्य सेवा सुदृढ गर्ने लक्ष्यअनुसार सुरु भएको यो अस्पतालले आगामी दिनमा क्षेत्रीय स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास हुने विश्वास गरिएको छ । पुर्व नगर प्रमुख भिम न्यौपानेले उक्त भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन सहयोगी भूमिका खेल्नेहरुलाई भवन उद्घाटनका क्रममा धन्यवाद दिएका थिए ।

तपाईको प्रतिक्रिया