मण्डनदेउपुर कुन्तावेशीमा सामुहिक बेल विवाह हुँदै

काभ्रेपलाञ्चोक — मण्डनदेउपुर नगरपालिका मा नेवा: समुदायको परम्परागत संस्कार अन्तर्गत ‘वेल विवाह (इही)’ कार्यक्रम आयोजना हुने भएको छ। “भाषा संस्कृति हाम्रो पहिचान, नेपाल संवत् राष्ट्रिय गौरव” भन्ने मूल नारासहित मण्डनदेउपुर नेवा: पुचःको आयोजनामा कार्यक्रम हुन लागेको हो।

आयोजकका अनुसार नेपाल संवत् २०८३ बैशाख १८ गते चण्डी पूर्णिमाको अवसर पारेर वेल विवाह कार्यक्रम सञ्चालन गरिनेछ। नेवारी संस्कारअनुसार बालिकाहरूको प्रतीकात्मक विवाहका रूपमा लिइने यस संस्कारमा सहभागी हुन इच्छुक अभिभावकहरूले बैशाख १० गतेभित्र आफ्ना छोरीहरूको नाम दर्ता गराउन आग्रह गरिएको छ।

कार्यक्रम अन्तर्गत बैशाख १७ गते ‘दुःसो’ तथा १८ गते ‘कन्यादान’को मुख्य अनुष्ठान सम्पन्न गरिनेछ। यस प्रकारका संस्कारले नेवा: समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ।

कार्यक्रम मण्डनदेउपुर–७, कुन्ताबेशी, चाखोला जलाधार आयोजना गरिनेछ। आयोजक समितिले समुदायका सबैलाई कार्यक्रममा सहभागी भई सांस्कृतिक संरक्षणमा सहयोग गर्न आग्रह गरेको छ।

यसैबीच, पछिल्ला वर्षहरूमा परम्परागत संस्कारप्रति युवापुस्ताको चासो घट्दै गएको अवस्थामा यस्ता कार्यक्रमले सांस्कृतिक पुनर्जागरणमा टेवा पुग्ने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया