
काभ्रे । सामान्य परिवारमा जन्मिएर संघर्ष र सामाजिक सेवाबाट राजनीतिमा स्थापित हुँदै संघीय संसदसम्मको यात्रा तय गरेका एमालेका केन्द्रीय सदस्य अमित लामा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं १ मा उम्मेदवारी दिनुभएको छ । उहाँको उम्मेदवारीले एमाले पंक्तिमा एकता, समन्वय र बलियो संगठनले जितको आधार तय गरेको राजनीतिक विश्लेषण सुरु भएका छन् । उहाँ यतिबेला विकास, उत्पादन र युवा नेतृत्वको एजेन्डासहित आफ्नो निर्वाचन क्षेत्रका घरदेलौमा पुगेर मतदातासँग अन्तरकृयामा सकृय देखिनु भएको छ । गाउँको सामान्य परिवेशबाट सुरु भएको उहाँको यात्रा विद्यार्थी राजनीति, युवा संघको राजनीति, विद्यालय व्यवस्थापन समितिको नेतृत्व, सामाजिक अभियान र संगठन निर्माण हुँदै राष्ट्रिय राजनीतिमा पुगेको हो । स्थानीय मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा पु¥याउने शैलीका कारण उहाँ काभ्रे क्षेत्र नं. १ मा परिचित नाम बन्नुभएको छ ।
युवाको योजना, युवाकै नेतृत्व
“युवाको योजना युवाकै नेतृत्व” भन्ने नारालाई अघि सार्दै लामा युवालाई रोजगारी, उद्यमशीलता र उत्पादनसँग जोड्ने रणनीतिमा जोड दिनुहुन्छ ।
उहाँका अनुसार अबको विकास परम्परागत नारामुखी नभई परिणाममुखी हुनुपर्छ । सूचना–प्रविधि, कृषि उद्यम, पर्यटन र साना उद्योगमार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उहाँको प्राथमिकता रहेको छ ।
तेमालको बुद्धचित्त प्रवद्र्धन ः पहिचान र अर्थतन्त्र
काभ्रेको तेमाल क्षेत्र बुद्धचित्त उत्पादनका लागि परिचित बन्दै गएको छ । लामा तेमाललाई “बुद्धचित्तको विशेष क्षेत्र” घोषणा गरी उत्पादन, प्रशोधन र बजारीकरणको एकीकृत योजना ल्याउनुपर्ने बताउनुहुन्छ ।
उहाँले बुद्धचित्तलाई धार्मिक तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्दै किसानको आय वृद्धिमा टेवा पु¥याउने दीर्घकालीन नीति आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
डाँडापारिको खानीखोला–महाभारत : कफीको पकेट क्षेत्र
डाँडापारिको खानीखोला र महाभारत क्षेत्रलाई कफी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना पनि उहाँको प्राथमिकतामा परेको छ ।
उच्च पहाडी भेगको हावापानी कफीका लागि उपयुक्त रहेको भन्दै उत्पादन वृद्धि, सहकारीमार्फत प्रशोधन र राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष पहुँचको रणनीति अघि सारिएको छ ।
पनौती : विश्व सम्पदा सूची र पर्यटन पूर्वाधार
ऐतिहासिक तथा सांस्कृतिक सहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहलसँगै पर्यटन पूर्वाधार विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
पनौतीमा सिँचाइ विस्तार, बाढी–पहिरो पीडितका लागि राहत प्याकेज र दीर्घकालीन नदी व्यवस्थापन योजना ल्याउने एजेन्डा पनि अघि सारिएको छ ।
बेथानचोक : कृषिमा प्रविधिकरण
बेथानचोक क्षेत्रमा आधुनिक कृषि प्रविधि, सिँचाइ विस्तार र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिइएको छ ।
कृषकलाई अनुदान, तालिम तथा बीमा कार्यक्रममार्फत सुरक्षित कृषि वातावरण निर्माण गर्ने योजना सार्वजनिक गरिएको छ ।
धुलिखेल : पर्यटनको स्तरोन्नति
शैक्षिक, स्वास्थ्य र पर्यटनको केन्द्रका रूपमा परिचित धुलिखेलमा होटल, होमस्टे, पदमार्ग तथा दृश्यावलोकन स्थलको स्तरोन्नति गर्ने लक्ष्य लिइएको छ ।
धुलिखेललाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य–पर्यटन हबका रूपमा विकास गर्ने अवधारणा समेत अघि सारिएको छ ।
रोशी : विपद् पीडितलाई राहत र समग्र विकास
रोशी क्षेत्रमा बाढी–पहिरोबाट प्रभावित नागरिकका लागि विशेष राहत प्याकेज र पुनःस्थापना कार्यक्रम आवश्यक रहेको लामा बताउनुहुन्छ । साथै, कृषि, सडक र सिँचाइलाई एकीकृत गर्दै समग्र विकासको खाका तयार गरिएको उहाँको दाबी छ ।
शिक्षा, स्वास्थ्य र बिपी राजमार्ग
शिक्षा र स्वास्थ्य सेवामा गुणस्तरीय पहुँच विस्तार, सामुदायिक विद्यालय सुदृढीकरण र आधारभूत स्वास्थ्य केन्द्र स्तरोन्नति गर्ने नीति उहाँले प्राथमिकतामा राख्नुभएको छ । त्यसैगरी, बिपी राजमार्गको स्तरोन्नति, विस्तार र सुरक्षित यातायात व्यवस्थापनलाई क्षेत्रीय विकासको मेरुदण्डका रूपमा प्रस्तुत गरिएको छ ।
सामान्य परिवारबाट उठेर राष्ट्रिय राजनीतिमा सक्रिय बनेका अमित लामा यतिबेला काभ्रेको कृषि, पर्यटन, पूर्वाधार र विपद् व्यवस्थापनलाई समेट्ने समग्र विकासको एजेन्डासहित अघि बढ्नुभएको छ । स्थानीय पहिचानलाई आर्थिक समृद्धिसँग जोड्ने उहाँको योजनाले काभ्रेको विकास बहसलाई नयाँ आयाम दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
जिल्लाका धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदालाई विश्व बजारसँग जोड्ने बहस यतिबेला तीव्र बन्दै गएको छ । नमोबुद्धको धार्मिक पर्यटनदेखि दाप्चाको पर्यटन विकास, ऐतिहासिक तेमाल राज्यको पहिचान संरक्षण र चौरीदेउरालीको रैथाने विकासमार्फत “घर फर्काउने अभियान” सञ्चालन गर्ने अवधारणाले काभ्रेको समग्र रूपान्तरणको खाका प्रस्तुत गरेको छ ।
नमोबुद्ध : धार्मिक पर्यटन र विश्व सम्पदा सूचीको प्रक्रिया
बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र नमोबुद्धलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढाउनुपर्ने माग उठेको छ ।
ऐतिहासिक, पुरातात्त्विक र आध्यात्मिक महत्त्व बोकेको यस क्षेत्रलाई व्यवस्थित पूर्वाधार, पदमार्ग, ध्यान केन्द्र, पर्यटक आवास तथा सूचना केन्द्रमार्फत विश्वस्तरमा प्रवद्र्धन गर्न सकिने सरोकारवालाको भनाइ छ ।
नमोबुद्ध–पनौती–धुलिखेल धार्मिक–सांस्कृतिक सर्किट विकास गरिए काभ्रे धार्मिक पर्यटनको प्रमुख केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरिएको छ ।
दाप्चा : पहाडी बजारको पर्यटन पुनर्जागरण
पुरानो पहाडी बजारका रूपमा चिनिएको दाप्चालाई सांस्कृतिक तथा प्राकृतिक पर्यटनसँग जोडेर पुनर्जीवित गर्ने योजना अघि सारिएको छ । होमस्टे प्रवद्र्धन, स्थानीय परिकार, पदमार्ग विकास र ऐतिहासिक संरचनाको संरक्षणमार्फत दाप्चालाई आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनाउन सकिने सम्भावना देखिएको छ ।
तेमाल : ऐतिहासिक राज्यको पहिचान संरक्षण
इतिहासमा महत्वपूर्ण स्थान ओगटेको तेमाल राज्यको ऐतिहासिकता उजागर गर्दै पुरातात्त्विक अध्ययन, संरक्षण र संग्रहालय स्थापना गर्ने प्रस्ताव अगाडि आएको छ । तेमाल क्षेत्रको सांस्कृतिक सम्पदा, बुद्धचित्त उत्पादन र प्राकृतिक सौन्दर्यलाई एकीकृत गरी “इतिहास र उत्पादन” को समन्वित मोडेल विकास गर्न सकिने विश्लेषण गरिएको छ ।
चौरीदेउराली : रैथाने विकास र घर फर्काउने अभियान
वैदेशिक रोजगारी र शहरी बसाइँसराइका कारण जनशक्ति अभाव भोगिरहेको चौरीदेउराली क्षेत्रमा रैथाने विकास मोडेल लागू गर्ने अवधारणा सार्वजनिक गरिएको छ । स्थानीय कृषि, पशुपालन, जडीबुटी उत्पादन र ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्दै युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।
“घर फर्काउने अभियान” अन्तर्गत सीप, लगानी र बजार सुनिश्चिततासहितको कार्यक्रम ल्याइए बसाइँसराइ रोक्न सकिने विश्वास व्यक्त गरिएको छ ।
पहिचानबाट समृद्धितर्फ
नमोबुद्धको धार्मिक महत्त्व, दाप्चाको ऐतिहासिक बजार, तेमाल राज्यको गौरवशाली इतिहास र चौरीदेउरालीको रैथाने जीवनशैली—यी सबैलाई समेटेर काभ्रेको समग्र विकास सम्भव रहेको देखिन्छ ।
धार्मिक पर्यटन, ऐतिहासिक संरक्षण र स्थानीय उत्पादनलाई जोड्ने एकीकृत नीति कार्यान्वयनमा आए जिल्लाको आर्थिक र सांस्कृतिक पुनर्जागरण सम्भव हुने सरोकारवालाहरूको अपेक्षा गरेकोमा अमित लामाले त्यसमा आफूले घरदेलौको क्रममा स्थानीय जनताको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया