अरनिको तेक्वन्दो डोजोङको बेल्ट टेस्ट ग्रेडिङ सम्पन्न

काभ्रे । अरनिको तेक्वन्डो डोजाङको आयोजनामा बेल्ट टेस्ट ग्रेडिङ कार्यक्रम शनिबार बनेपा बुडोल कभर्ड हलमा सम्पन्न भएको छ।

कार्यक्रम जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानवीर वाइबाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा तेक्वन्डोका पूर्व खेलाडी तथा आउँदो निर्वाचनमा उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र नं. २ की उम्मेदवार ज्योत्सना सैजु, तेक्वन्डो प्रशिक्षकहरू तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका अवसरमा काभ्रे जिल्लास्तरीय तेक्वन्डो प्रतियोगितामा विभिन्न पदक जित्न सफल खेलाडीहरूलाई सम्मान गरिएको थियो। साथै जिल्ला खेलकुद विकास समिति अध्यक्ष मानवीर वाइबाले डोजाङलाई खेलाडीहरूको सुरक्षाका लागि आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष वाइबाले खेलकुद क्षेत्रको विकाससँगै समाज पनि सबल हुने बताउनुभयो। उहाँले निकट भविष्यमा जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिने जानकारी पनि दिनुभयो।

उज्यालो नेपाल पार्टी काभ्रे–२ की उम्मेदवार ज्योत्सना सैजुले आफू पनि तेक्वन्डो खेलाडी भएको उल्लेख गर्दै विगतमा छोरीहरूले खेलकुदमा सहभागी हुन कठिनाइ भोग्नुपरेको स्मरण गर्नुभयो। “पहिला केटीहरूले खेल्नु हुँदैन भन्ने सोच थियो, धेरै साथीहरू इच्छा हुँदाहुँदै पनि खेल्न पाएका थिएनन्,” उहाँले भन्नुभयो, “अहिले धेरै छोरीहरू तेक्वन्डो खेलिरहेको देख्दा खुशी लाग्छ।”

कार्यक्रम सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैलाई अरनिको तेक्वन्डो डोजाङका प्रशिक्षक फिरोज शाक्यले धन्यवाद व्यक्त गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया