जिल्ला बचत संघमा उदयरामकै नेतृत्व

बनेपा÷काभ्रेपलाञ्चोक बचत तथा ऋण सहकारी संघको आगामी कार्यकालका लागि उदयराम कायस्थको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।
नयाँ समिति गठनका लागि निर्वाचन कार्यतालिका अनुसार पौष ५ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेकोमा विभिन्न पदमा निर्विरोध निर्वाचित गरिएको हो ।
अध्यक्ष पदमा उदयराम कायस्थको मात्रै उम्मेदवारी परेकाले उहाँ पुनः अध्यक्षमा निर्वाचित हुनुभयो । संचालक समितिका उपाध्यक्ष र एक सदस्य बाहेक अधिकांश पदमा निर्विरोधभएको छ । उपाध्यक्षमा निर्मला श्रेष्ठ र सागर कपालीले उम्मेदवारी दर्ता भएको छ । संघमा एक जना मात्रै उपाध्यक्ष रहने व्यवस्था छ ।
सचिव पदमा राजन अधिकारी, कोषाध्यक्ष जीवन श्रेष्ठ, लेखा समिति संयोजक शिवप्रसाद आचार्य निर्विरोध निर्वाचित हुनुभयो । संचालक समिति सदस्यहरुमा विनोद सापकोटा,जान्दवी अधिकारी, श्रीकृष्ण न्यौपाने, चन्दा श्रेष्ठ, राजन सापकोटा, रमेश न्यौपानेले उम्मेदवारी दिनुभएको छ । पुरुष सदस्य तर्फ एक जनाको उम्मेदवारी बढी परेको छ । महिला तर्फ निर्विरोध भएको छ । लेखा समितिमा नवराज केसी र राजकुमार आचार्य निर्विरोध हुनुभयो ।
पुस ८ गतेसम्म उम्मेदवारी फिर्ता गर्ने समय तोकिएको छ । जिल्ला बचत संघको नेतृत्वका लागि प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादीबीच मुख्य पदमा भागवण्डा हुनेगरि सहमति भएको थियो । सो सहमति अनुसार एमाले अध्यक्ष, कांग्रेसलाई उपाध्यक्ष र माओवादीलाई सचिव पदमा जिम्मेवारी दिने सहमति अनुसार मनोनयन दर्ताहुँदै निर्विरोध गरिएको हो ।

तपाईको प्रतिक्रिया