डाडाँपारिबासीलाई सधै डर, बिरामी पर्दा स्टेचरकै भर

बिरामीपर्दा सिधै एम्बुलेन्सबाट बनेपा र काठमाडौंसम्म आउने काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाका स्थानीय पुनः स्टेचरमै बिरामी बोक्न बाँँध्य बनेका छन् । गाउँपालिकामा सुविधा सम्पन्न एम्बुलेन्स पनि छन् तर पहिरोले दर्जनौ ठाउँमा अवरोध भएपछि त्यहाँका नागरिक पुनः स्टेचरमै बोकाएर अस्पतालसम्म ल्याउने बाँध्यता सुरु भएको छ ।
डाडाँपारिबासीले एम्बुलेन्स सेवा पाउन लागेको दुई बर्षमात्रै भयो, त्यसअघि सिधा सडक सम्पर्क नभएको गाउँपालिकाले संघीयता कार्यान्वयपछि आफूलाई विकटभित्रको विकट गाउँबाट क्रमशः सुगम गाउँमा रूपान्तरण गर्दैथिए । गाउँपालिकाले एम्बुलेन्स सेवामा सहुलियत दिएका थिए ।
२०८१ साल असोज १० देखि १२ गतेसम्म भएको अविरल बर्षापछि डाडाँपारिका दुई गाउँपालिकाको ‘लाईफलाईन’ को रुपमा रहेको रोशी खोलामा बनेको पक्की पुल बगाएपछि डाडाँपारिबासी फेरि स्टेचरमा फर्किएका हुन् । पक्की पुल बगाएपछि बनाएको अस्थायी कल्भटपनि असोज १८ गते भएको अविरल बर्षापछि आएको बाढीले बगाएपछि सडक, बिजुली सेवाबाट दुई वटा पालिका बन्चित भएका हुन् । अविरल बर्षापछि दुई पालिकालाई जोड्ने सडक अबरुद्ध भएका छन् । रोशी गाउँपालिकाका धेरै वडासम्म जाने सडक संञ्जाल टुटेको छ । पालिकासँग स्काभेटर र डोजर भएपनि प्रर्याप्त डिजेल नहुँदा समस्या झेलिरहेका छन् । एक बर्षमा पटक–पटक संघीय सरकार र प्रदेश सरकारबाट बेलीब्रिजको आश्वासन पाएपनि कार्यान्वयन भने हुन सकेको छैन ।
रोशी गाउँपालिका वडा नं ७ र नमोबुद्ध नगरपालिका वडा नं ५ को सिमाना थाङसेनवेशीमा रहेको पक्की पुल बगाएपछि डाडाँपारिबासीको दुःखका दिन फेरि सुरुभएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले उल्लेख गर्नुभयो । महाभारत गाउँपालिकामा भएका १२ वटा स्वास्थ्यचौकीमा प्रारम्भिक उपचार भएपनि गम्भिर प्रकृतिको उपचारका लागि स्टेचरमा बोकेर ल्याउने गरेको उहाँले बताउनुभयो ।
सरकारले सुत्केरी हुन नसकेकाको लागि हेलिकोप्टरको व्यवस्थापन गरेपनि सबैलाई त्यसो गर्न सम्भव नभएपछि स्टेचरको विकल्प नभएको बताउनुभयो । ‘एक जना बिरामी ल्याउन दश जनासम्मको जनशक्ती आवश्यक पर्ने र दुई दिनको बाटो बोकेर ल्याउने बाँध्यता छ’ जिम्बाले भन्नुभयो ।
महाभारत गाउँपालिका,खानीखोला गाउँपालिका र रोशी गाउँपालिकाबाट स्टेचरबाट नै दैनिक दश जनासम्म बिरामी बोकेर ल्याउने गरेको मनसुनजन्य विपद् उद्धार अस्थायी वेश भकुण्डेवेशीका प्रमुख आलोक बस्नेतले उल्लेख गर्नुभयो । निक्कै सिकिस्त बिरामी ल्याउने गरेको र बिरामी ल्याउन आवश्यक सहयोग र सहजीकरण सुरक्षा निकायले पनि गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले पुल नहुँदा आफ्नो पालिकाबाट दुई दिन लगाएर बोकेर चौकीडाडाँसम्म ल्याउने बाँध्यता रहेको उल्लेख गर्नुभयो । जोखिमपुर्ण ठाउँमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाले पनि सहयोग गरेर एम्बुलेन्स चल्ने ठाउँसम्म ल्याईदिएको बताउनुभयो ।
बत्तीमुनिको अँध्यारो भने जस्तै संघीय राजधानीबाट १३० किलोमिटर र प्रदेश राजधानीबाट ५० किलोमिटरको दुरीमा रहेको डाँडापारि क्षेत्रका जनताले समस्या व्यहोरेको खानीखोला गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर थिङले उल्लेख गर्नुभयो ।
उहाँले अविरल बर्षापछि आफ्नो गाउँपालिकाको प्रमुख सडक पुर्ण रुपमा अवरुद्ध भएको त्यसको मारमा गम्भिर प्रकृतिका बिरामी परेको बताउनुभयो । उहाँले स्टेचरमै बोकेर ल्याउने बाँध्यता भएको सुनाउनुभयो । ‘गाउँपालिकासँग अत्याधुनिक एम्बुलेन्स छन् तर एम्बुलेन्स चलाउने बाटो नभएपछि स्टेचरमै बोक्ने बाँध्यता छ’ उहाँले थप्नुभयो,‘ हामी युद्धस्तरमा सडक खुलाउने कार्यमा जुटेका छौ, आशा गरौं एक दुईदिनमा सडक खुल्छ ।’

तपाईको प्रतिक्रिया