सैँ सुरु हुनासाथ गाउँघरमा डुम डुम आवाज सुनिन्थ्यो । दसैँ आयो भन्दै केटाकेटी रमाउँथे । दसैँको घटस्थापनाको दिनदेखि पूर्णिमासम्म घर घर डुलेर दमाहा बजाउँदै ‘नगरा’ लगाउने चलन थियो । दसैँका बेला परियार (दमै) जातिले लगाउने नगरा हिजोआज गाउँघरमा सुनिन छाडेको छ । दसैँका बेला गाउँघरमा नगरा लगाउने प्रचलन लोप हुने अवस्थामा पुगेको छ । विशेष गरी चाडपर्वका बेला गाउँघरमा परियार जातिले नगरा लगाउने गर्दथे तर यस वर्ष लमजुङको अधिकांश स्थानमा परियार जातिले नगरा नलगाएपछि संस्कृति लोप हुने अवस्थामा पुगेको सरोकारवालाले बताएका छन् ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ का उमाकान्त गौतमले पछिल्ला वर्षमा दसैँमा नगरा लगाएको देख्न सुन्न नपाइएको बताउनुभयो । बेँसीसहर नगरपालिका–६, चण्डीस्थान सेराका लालबहादुर परियारले आफ्नो पुस्ताले नगरा लगाउन छोडेपछि छोरानातिले यो पेसा नसमहालेको बताउनुभयो । “घटस्थापनादेखि गाउँघरमा बिहानैदेखि बज्ने दमाहाको डुम डुम आवाजले दसैँको भान हुन्थ्यो,” सुन्दरबजार–५ चन्द्रेश्वरका अर्जुन अधिकारीले भन्नुभयो, “पछिल्ला वर्ष नगराको आवाज सुन्न नपाएपछि दसैँको रौनक नै हराएको छ ।”
परियार जातिमा युवाले नगरा लगाउने पेसा अँगाल्न छाडेपछि नगरा बजाउने चलन विस्तारै हराउँदै गएको हो । नगरा लगाउनेलाई समाजमा हेयको दृष्टिले हेरिने भएकाले पनि यो पेसा लोप हुने अवस्थामा पुगेको बेँसीसहर–६ का रेसम परियारले बताउनुभयो । नगरा बजाउने परम्परा लोप हुन लागेकोमा स्वयं परियार जातिलाई पनि चिन्ताको विषय बनेको छ । नगरा बजाउने मात्र होइन, विवाह, व्रतबन्ध तथा विभिन्न उत्सव महोत्सवमा बजाइने पन्चैबाजासमेत लोप हुन लागेपछि जिल्लाका विभिन्न स्थानमा पन्चैबाजा संरक्षण समिति गठन गरी युवालाई सिकाउन थालिएको छ । पुर्खाको पालादेखि नै चलेको चलन र संस्कृतिलाई निरन्तरता दिन समितिले गतिविधि गर्दै आएको पन्चैबाजा संरक्षण समिति गाउँसहरका अध्यक्ष काजीराम परियारले बताउनुभयो । गाउँसहरका रामबाहादुर परियारले आफ्नो संस्कृति जोगाउनका लागि संरक्षण र सहयोगका कार्यक्रम सुरु गर्नुपर्ने बताउनुभयो ।
दसैँभर नगरा लगाएपछि त्यसबापत प्रत्येक घरबाट केही चामल, पैसा र मासु दिने चलन थियो । पहिले पहिले परियारको आर्थिक अवस्था कमजोर भएकाले यसरी नगरा लगाउने गरेका भए पनि अब आर्थिक स्तर माथि उठेकाले परम्परागत पेसा छोडेको बताइन्छ । नगरा बजाउन जान्ने परियार जाति र त्यसमा प्रयोग हुने बाजाको संरक्षणमा जोड दिने हो भने परम्परादेखिको यो चलन लोप हुनबाट जोगाउन सकिने सरोकारवाला बताउँछन् ।
तपाईको प्रतिक्रिया