लम्पीस्किन बिरुद्ध बागमती प्रदेशमा सप्ताहव्यापी खोप अभियान

पशुमा तिव्र रुपमा फैलिने महामारीजन्य रोग लम्पी स्किन संक्रमणका बिरुद्ध बागमती प्रदेशले सप्ताहव्यापी खोप अभियान संचालन गरेको छ । बागमती प्रदेशका १३ जिल्लाका कम्तिमा एक लाख २० हजार पशुका खाोप लगाउने तयारी थालिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा.गौरीमान श्रेष्ठले उल्लेख गर्नुभयो ।
संघीय सरकारले उपलब्ध गराएको ८० हजार डोज खोप १३ जिल्लाका सबै स्थानीय तहमा पुगेको श्रेष्ठले बताउनुभयो । उहाँले ४० हजार डोज खोप प्रदेशले खरिद गरेर भएपनि कम्तिमा एक लाख २० हजार पशुमा लम्पी स्किन संक्रमणबिरुद्धको खोप लगाउने बताउनुभयो । बागमती प्रदेशका खोप लगाउनयोग्य पशुको संख्या दश लाखको हाराहारीमा रहेकाले कूल संख्यामध्ये कम्तिमा दश प्रतिशतमा एकैपटक मास खोप अभियान संचालन गरेको उहाँले उल्लेख गर्नुभयो ।
प्रदेशमा आठ जिल्लामा रहेका पशु सेवा कार्यालयले खोपकर्ता छनौट गरेर आवश्यक सामाग्री हस्तान्तरण गरिसकेको छ । एक डोज खोप लगाउन आवश्यक पर्ने २८ रुपियाँको व्यवस्थापन प्रदेश सरकारले गरेको छ । खोपकर्ताले एउटा पशुमा खोप लगाए वापत २० रुपियाँ पाउँछन् भने खोप सामाग्री र ढुवानी लगायतको व्यवस्थापनका लागि थप आठ रुपियाँ खर्च हुन्छ । त्यसका लागि खोपकर्तालाई भ्याक्सिन सिन्जिर, निडल उपलब्ध गराइएको उहाँले उल्लेख गर्नुभयो ।
बागमती प्रदेशमा छ लाख गाई र तीन लाख भैसी छन् । लम्पी स्किन संक्रमणको जोमिख स्थानीय जातका गाईमा भन्दा उन्नत जातका धेरै दुध दिनेमा देखिएकाले उन्नत जातका गाईलाई केन्द्रमा राखेर खोप अभियान चलाउने श्रेष्ठले बताउनुभयो ।
बागमती प्रदेशमा रहेका आठ वटा पशु सेवा कार्यालय मार्फत १३ जिल्लामा भदौं एक देखि सातगतेसम्म सप्ताहव्यापी खोप अभियान संचालन भएको उहाँले उल्लेख गर्नुभयो ।
निर्देशनालयले ललितपुरमा दश हजार, धादिङ ११ हजार, चितवन दश हजार, मकवानपुर पाँच हजार, सिन्धुली १२ हजार, दोलखामा छ हजार , काभ्रे १४ हजार र नुवाकोटमा १२ हजार भाईल खोप पठाएको छ । पशु सेवा कार्यालयले सम्बन्धित पालिकासम्म ढुवानी गरेर खोप लगाउन सुरु गरिसकेका छन् ।
यसअघि कोशी प्रदेशमा तीन लाख १२ हजार, मधेशमा एक लाख ६७ हजार, लुम्बिनीमा २१ ह्जार पशुमा लम्पी स्किन बिरुद्धको खोप लगाईएको छ ।
–केशवराज पौडेल

तपाईको प्रतिक्रिया