५० बर्षमा फर्किएको खुसी

भुम्लुटार÷भनिन्छ, १२ बर्षमा खोला पनि फर्कन्छ । तर काभे्रपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाका स्थानीयले भने ५० बर्षमा खोला फर्किएको अनुभव गरे ।
भुम्लु गाउँपालिका वडा नं ८ का ८६ बर्षिया गिर्वराज उप्रेतीले लालपुर्जा पाएपछि त्यसलाई पटक पटक ढोग्नुभयो । आफुले बर्षाैदेखि कमाउँदै आएको जग्गाको पुर्जा नहुँदा भोगेको पिडा अनेकौ थिए । व्यवसाय गर्न बैंकसँग ऋण लिन पाएका थिएनन् । छोराछोरीलाई विदेश पठाउन आफ्नै जग्गा धितो राखेर ऋण नपाउँदा अनागरिक भएको पिडा भोगेका थिए । तर पुर्जा पाएपछि उहाँले भन्नुभयो, वडाअध्यक्ष त हाम्रा लागि भगवान बन्नुभयो ।
उहाँसँगै बस्नु भएको भुम्लु–८ का वडाअध्यक्ष मोतिलाल तामाङले उहाँहरुको आफ्नो जग्गाको पुर्जा उपलब्ध गराउन समन्वयको भुमिका निभाएको बताउनुभयो । उहाँले संघीय सांसद गोकुल बाँस्कोटा र प्रदेशको सांसद लक्ष्मण लम्सालको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो ।

मन्त्री भएलगत्तै बाँस्कोटाले स्थापना गर्नुभयो कार्यालय
भुम्लु गाउँपालिकामा साविक फलाँटे र पिपलटारको समस्या २०३२ सालदेखिकै थियो । हालको वडा नम्वर ७ र ८ मा जग्गा नाप जाँच ऐन २०१९ अनुसार जाँच भई नापी नक्सामा आधारित भूमि लगतको आधारमा २०३२÷२०३३ सालमा नापी नक्सा भई सोहि समयमा ९० प्रतिशत कित्ताहरु दर्ता भएको र जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने बेलामा राजनीतिक सीमा विवाद भयो । सोही कारणले सो स्थानमा जग्गा धनी पुर्जा वितरण हुन सकेन । त्यसले जनतालाई ठुलो असहज र समस्या पर्न गयो । पटक पटकको प्रयास सफल हुन सकेनन् । काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्वर २ बाट प्रतिनिधित्व गर्ने सांसद एवं तत्कालिन सूचना तथा संचार मन्त्री गोकुल बाँस्कोटाले २०७६ मसिंर २० गते शुक्रबार भुम्लु गाउँपालिकामा फिल्ड कार्यालयको शुभारम्भ गर्नुभएको थियो । त्यसले मुर्तरुप लिदै आज पहिलो चरणमा पुर्जा वितरण भएको छ ।
पुर्जा वितरणका लागि पहिलो पटक स्थानीय पालिकामा नै नापी कार्यालयको कार्यालय शुभारम्भ भएको त्यो पहिलो थियो । १ नम्वर टोली भुम्लुमा बसेर जग्गाधनी र पुर्जा वितरण सम्वन्धी आवश्यक कार्य गरेको थियो । तत्कालिन जिल्ला समन्वय समितिका प्रवक्ता प्रेम लामा, तत्कालिन गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरको नेतृत्वको कार्यलाई २०७९ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरु अध्यक्ष प्रेम भुजेल सहितको नेतृत्व उक्त कार्यमा निरन्तर सक्रिय भएपछि ऐतिहासिक सफलता पाएको छ ।

तत्कालिन अवस्थामा पिपलटार गाउँ पञ्चायतमा विक्रम सम्वत २०३२÷२०३३ सालमा वडा नम्वर १ देखी ९ सम्म नाप जाँच सम्पन्न भई नक्शा र फिल्डबुक कायम भए पनि दर्ता स्रेस्ता र पुर्जा तयार भई लागु भएकाले विक्रम सम्वत १९९२ को लगत तथा विक्रम सम्वत २०५४ को तत्कालिन गाउँ विकास समितिबाट खेत तर्फ माटो मुरी र पाखो तर्फ विजनको आधारमा क्षेत्रफल कायम गरिएको लगतका आधारमा अंशवण्डा, नामसारी, राजिनामा आदिको लिखत पारित गरी हक हस्तान्तरण मालपोत कार्यालयबाट भएको थियो ।
२०७१ जेठ २५ गते, २०७५ माघ १४ गते, २०८० माघ २ गते तथा २०८० माघ २९ गते र २०८१ जेठ ३१ गते भुम्लुका समस्याका बारेमा कार्यदल गठन तथा टोली खटिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीसँग कार्यसम्पादन गर्ने क्रममा काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नम्वर ७ र ८ का नागरिकहरुले प्राप्त गर्न नसकेको जग्गा धनी प्रमाण पुर्जा वितरण गर्ने बुँदा उल्लेख गरिएको थियो । सोहि बुँदा कार्यान्वन गराउने क्रममा नापी कार्यालय काभ्रेको टोली भुम्लु गाउँपालिकामा खटिएको थियो । कार्यालय काभ्रेका प्रमुख नापी अधिकृत अशोक कुमार भुसालले भनेका थिए –‘यो पटक नागरिकहरुको सहभागितामा उहाँहरुले प्राप्त गर्ने पूर्जा उपलब्ध गराएर मात्रै नापी टोली सदरमुकाम फर्कनेछ ।’ नभन्दै टोलीले ३ सय ७८ जनाको पुर्जा तयार गरेर हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी ओलीले मन्त्री बलराम अधिकारीसँग गरिएको कार्यसम्पादन सम्झौता सचिव अर्जुनप्रसाद पोखरेलसँग भएको थियो । पुर्जा वितरणमा बोल्दै भुम्लु ७ का अध्यक्ष रमेशराज खरेलले सबैको साझा प्रयासले लालपुर्जा उपलब्ध गराउन सकेको बताउनुभयो ।

साबिकको पिपलटार गाउँपञ्चायतको खेतीयोग्य जमिन पिपलटार टुक्रिएर भुम्लुटार र फलाँटे पञ्चायत हुँदा दुवैमा परेपछि उक्त जमिन कता पार्ने भन्ने विवाद भएको थियो । विसं २०३२ सालमा नापी गर्न गएको टोली र दुई पञ्चायतको विवाद बढेका कारण नापी टोली फर्किँदा स्थानीयले लालपुर्जा पाउन सकेका थिएनन् । २०३५ सालमा पुनः नापी टोली गएको थियो । उक्त समयमा पनि दुई पञ्चायतबीच जग्गाको विषयमा विवाद चर्किएपछि नापी टोली काम नगरी फर्किएको थियो ।
भुम्लु गाउँपालिका–७ र ८ को रहेको लालपुर्जाको समस्या वर्षौंसम्म समाधान नभएपछि २०७५ माघ १० गते भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव अनिल मरासिनीको संयोजकत्वमा समिति, २०८० माघ २ गते नापी कार्यालयका अधिकृत जयराम तामाङ नेतृत्वमा समस्या समाधान अध्ययन समिति गठन गरेको थियो ।
त्यस्तै २०८१ जेठ ३१ गते कार्यालयले तयार पारेको प्रतिवेदन र मन्त्रालयले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने प्रयोजनका लागि कार्ययोजना तयार गर्न नापी अधिकृत इन्जिनियर ग्रीष्म प्रधानको अध्यक्षतामा कार्यदल गठन गरिएको थियो । कार्ययोजना अनुसार मंगलबार लालपुर्जा वितरण गरिएको हो ।
त्यही कार्ययोजना अनुसार पुर्जा पाउने ८० बर्षका कुलबहादुर श्रेष्ठ जग्गा भएर पनि सुकुम्बासी बनेको र जीवनको उर्तराद्धमा पुर्जा पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
मन्त्रीदेखि जनतासम्मको खुसी
भू व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले लालपुर्जा हस्तान्तरण गर्दै भूमि सम्बन्धि दीर्घकालिन समस्या समाधान गर्न सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
भुमी ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले स्थानीय जग्गाधनीलाई लालपुर्जा वितरण कार्यको सुरु गरेका गर्नुभयो ।
कार्यक्रममा मन्त्री अधिकारीले वर्तमान सरकार जनताको समस्या समाधान गर्नका लागि अग्रसर रहेर काम गरिरहेको बताउनुभयो । मन्त्री अधिकारीले विभिन्न समितिले दिएको प्रतिवेदनको आधारमा भुम्लुको जग्गाको समस्या समाधान गरिएको र सरकारले आगामी पुस मसान्तभित्र भुम्लुका लालपुर्जाविहिन नागरिकलाई लालपुर्जा दिनेगरी काम अघि बढाइएको दाबी गर्नुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य रुकु चौलागाईंले लालपुर्जा नहुँदा स्थानीय नागरिकले समस्या ब्यहोर्नु परेको बताउनुभयो ।
नापी बिभागका महानिर्देशक प्रकाश जोशीले लामो समयको प्रयासपछि भुम्लुका नागरिकलाई लालपुर्जा वितरण गर्न सफल भएको दाबी गर्नुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङ, गाउँपालिकाका पुर्व अध्यक्ष गुमानध्वज कुँवरले लालपुर्जा नहुँदा नागरिक पाएको सास्तीको बारेमा आफ्नो भनाई राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया