बाढी पहिरोको कहरमा जापान पुगेका जनप्रतिनिधि र कर्मचारीले बुझे प्लेन भाडा वापतको आठ लाख ९८ हजार रुपियाँ

असोज १०,११ र १२ गतेको अबिरल बर्षापछि थिलथिलो बनेको थियो मण्डनदेउपुर नगरपालिका । एक क्वाईल पाईप नपाएर जनताले खानेपानी पाउन सकेका थिएनन् । नगरका सबै सडकहरु अवरोध थिए । सानो रकमले पनि जनताले ठुलो राहतको स्वास फेर्न सक्थे । कात्तिक, मंसिर, पुस बिते । तर जनताले सास्ती पाई नै रहे । त्यही समयमा मण्डनदेउपुर नगरपालिकाका मेयरको नेतृत्वमा जापान जाने तयारी भयो । टोलीमा थिए मेयर, उपमेयर, कर्मचारी र वडाअध्यक्षहरु । सामाजिक संञ्जालमा त्यसको चर्काे विरोध भयो । अनि सामाजिक संञ्जालमा प्रष्टिकरण दिईयो, हामी भ्रमण व्यक्तिगत खर्चमा गएका हौ ।


कुरा सेलायो, कर्मचारीले गएको खर्चको बारेमा दबाब दिन थाले । हौसिएर सामाजिक संञ्जालमा आफ्नो व्यक्तीगत खर्च भएको हबला दिने वडाअध्यक्षहरु ऋण खोजेर गएको सम्झन थाले अनि कार्यपालिकाको बैठकमा कम्तिमा हवाई टिकट भन्दै प्रस्ताव पेस भयो । एकाएक सामाजिक संञ्जाल तात्यो अनि नैतिकताको प्रश्न उनीहरुमाथि उठ्यो । शक्तीशाली तीन दलीय संगठन नेपाली कांग्रेस, एमाले र माओवादीका वडाअध्यक्ष र मण्डनदेउपुर चलाएका बरिष्ठ लेखा प्रमुख,बरिष्ठ शाखा अधिकृत र स्वास्थ्य शाखाका प्रमुखले हवाई टिकटको पैसा बुझिहाले । त्यो पनि प्रतिव्यक्ती एक लाख ४९ हजार ५०० रुपियाँ ।
नेपाली कांग्रेसकबाट उम्मेदवार बनेका वडा नं ६ का वडाअध्यक्ष सोमप्रसाद ढकाल, एमालेबाट उम्मेदबार बनेका वडा नं ४ का वडाअध्यक्ष मैतेसिं तामाङ, माओवादीका उम्मेदबार बनेका वडा नं ८ का अध्यक्ष निरञ्जन बिष्टले एक लाख ४९ हजार ५०० बुझेका छन् । त्यस्तै, बरिष्ठ लेखा प्रमुख पुष्पराज बजगाई, बरिष्ठ शाखा अधिकृत काशीनाथ नेपाल र सिनियर अहेव दीपककुमार घिमिरेले पनि एक लाख ४९ हजार ५०० बुझेका छन् । रकम बुझ्दा त्यतीबेला सामाजिक संञ्जालमा दिएको प्रष्टिकरण सायद सम्झिएकै होलान् ? एक नागरिकले प्रश्न गरे ।
भ्रमणको समयमा हौसिएर आफ्नो खर्चमा गएको भनेर सामाजिक संञ्जालमा लेखेका मैतेसिं तामाङले लुसुक्क पैसा बुझेका छन् । त्यतीबेला उच्च नैतिकता प्रर्दशन गर्ने उपप्रमुख बिष्णुमणि नेपाल समेतले हवाई भाडा दिनेमा हस्ताक्षर गरेका छन् । तर उनले रकम बुझेका भने छैनन् ।
आफ्नो निर्णय आफै लत्याएको भन्दै हवाई भाडा दिने कुरामा सहमति हुनु आफ्नो निर्णयमा आफैले काटेको जस्तो देखिएको छ । मेयर टोकबहादुर वाईवा र उपमेयर नेपालले भने हवाई भाडा बुझेका छैनन् । अनि सामाजिक संञ्जालमा आफ्नो खर्च आफै हुने भनेर लेखेको कुरा बिर्सिएछन् होला सायद । नैतिकता जनताले देखाउने हो नेताले हैन नि ? अहिले मण्डनदेउपुरमा यही बहस चुलिएको छ ।

तपाईको प्रतिक्रिया