काभ्रे – साहित्यिक सिर्जना, साहित्य अभियान, पत्रकारिता र संस्कृतिका क्षेत्रमा समर्पित साहित्यकार सूर्यप्रसाद लाकोेजुको व्यक्तित्व र कृतित्व समेटिएको वृहत ग्रन्थ ‘आलोकमय सूर्यको एक भव्य समारोहका बीच गृह विमोचन गरिएको छ । सो ग्रन्थको संस्कृति शिरोमणि हरिराम जोशीले विमोचन गर्दै सूर्यप्रसाद लाकोेजुलाई साहित्यिक ‘सूर्य’को उपमा दिंदै लाकोेजु असाधारण प्रतिभाका धनी व्यक्तित्व भएको बताए । मातृभूमिप्रति उनले गरेको समर्पण अतुलनीय रहेको पनि उनले बताए । साथै सूर्यको साहित्यिक उज्यालो नेपालको भूगोलभन्दा परसम्म फैलिएको बताए ।
वरिष्ठ समालोचक गोविन्दराज भट्टराई र प्राध्यापक एवं समालोचक ज्ञानु अधिकारीले विमोचित कृतिले लाकोेजुको बहुआयामिक प्रतिभा उजागर गरेको बताए । १४ खण्ड र ८६२ पृष्ठको सो कृतिमा उनका व्यक्तिचित्र, बालसाहित्य, मुक्तक, कविता, कथा, संस्कृति र इतिहास, हाइकु, नियात्रा, गीत, संस्मरण र पत्रकारितासम्म समेटिएको छ । अधिकारीका अनुसार सूर्य लाकोजू एक ऊर्जावान र सकारात्मक स्रष्टा हुन् ।
अनुसन्धानकर्ता प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले ‘आलोकमय सूर्य’ केवल प्रशंसागान नभएर इतिहासको दस्तावेज नै भएको उल्लेख गरे ।
वरिष्ठ साहित्यकार मोहन दुवालले लाकोेजुले नेपाली साहित्यमा सुन्दर यात्रा गरिरहेको चर्चा गरे ।
साहित्यकार श्रीओम राेदनले लाकोेजुले कम उमेरमै ठूलो सफलता हासिल गरेको बताए । उनले आधुनिक साहित्यमा प्रचारबाजी र सम्पत्तिप्रतिको होडबाजी बढेकोमा चिन्ता व्यक्त गर्दै स्रष्टाको आत्मसन्तुष्टि नै सच्चा उपलब्धि हुने बताए । उनले मानिस उमेरले नभै कर्म र व्यवहारले मानिस पको र वरिष्ठ बन्ने भन्दै स्रस्टा लाकोजू कर्मले पाको र वरिष्ठ भएको विचार पोखे ।
उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीका अनुसार लाकोेजु कर्मयोगी हुन् र उनीजस्ता व्यक्तित्वको सम्मान स्थानीयदेखि संघीय सरकारसम्मले गर्नुपर्ने आवश्यकता छ ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौतीको मौलिक पहिचान जोगाउन र विश्वमा परिचित गराउन संस्कृतिविद् र साहित्यकार सूर्य लाकोजूको भूमिका र योगदान उल्लेखनीय रहेको बताए।
साहित्यकार विष्णुएस राईले लाकोेजुको सरल स्वभाव र यथार्थवादी लेखनशैलीको चर्चा गर्दै उनका राम्रा कर्महरूले व्यक्तिबाट संस्था बन्न सफल भएको बताए । साहित्यकार बियाेगी बुढाथोकीले ‘बनेपा भनेपछि मोहन दुवाल, पनौती भनेपछि सूर्य लाकोेजु’ भन्ने चर्चा स्थापित भएको बताए ।
पुस्तकका सम्पादक भीमप्रसाद काफ्ले र रामसुन्दर देउजाले कृतिमा १३५ जना लेखक तथा व्यक्तित्वको टिप्पणी समेटिएको जानकारी गराए ।
कार्यक्रममा स्रष्टा लाकोेजुले आफ्ना उतारचढावलाई सम्झिँदै पूर्व विद्यार्थीहरूको सहयोगमा पुस्तक प्रकाशन भएको बताए ।
कार्यक्रममा सूर्य लाकोजू र उनका धर्मपत्नी सरिताकुमारी श्रेष्ठलाई अभिनन्दन समेत गरिएको थियो ।
सूर्योदय भूतपूर्व विद्यार्थी समाजले आयोजना गरेको साे कार्यक्रमको सञ्चालन प्रभा कर्माचार्यले गरेकी थिइन् भने कार्यक्रमको सभापतित्व समीर खड्काले गरेका थिए ।
तपाईको प्रतिक्रिया