काभ्रेमा डजबलको नयाँ शाखा,जिल्लाभर विस्तार गर्ने प्रतिबद्धता

बनेपा÷झट्ट हेर्दा आम नेपाली बालबालिकाले खेल्ने गरेको चुङ्गी र डुमजस्तै देखिने तर त्यसमा बलको प्रयोग हुने डजबलको काभ्रे जिल्लामा पनि शाखा विस्तार गरिएको छ । बुधबार बनेपामा डजबल केन्द्रीय समिति, जिल्ला खेलकुद विकास समिति, बनेपा नगरपालिकाको प्रमुखको उपस्थितीमा बनेपाका महेन्द्र विष्टको अध्यक्षतामा काभ्रेपलाञ्चोक जिल्ला डजबल संघको तदर्थ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा रामचन्द्र देउजा, सचिवमा उत्तम सापकोटा, कोषाध्यक्षमा विजय सिं मुस्याजु तथा सदस्यमा जनक तामाङ, सुविन मानन्धर, मिलन आचार्य, साजन घिमिरे, दिपेन्द्रबहादुर विष्ट र प्रितम गन्गाई चयन गरिएको छ ।
भेलामा बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्यले अन्तराष्ट्रिय खेल खेल्न जाने बनेपाका स्थानीयलाई ५० हजार र २० हजार रुपियाँ प्रोत्साहन रकम दिने बताउनुभयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नं ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर लामा, राष्ट्रिय खेलकुद परिषद्का पुर्व निर्देशक केशव गौतमले नीजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का केन्द्रीय सचिवालय सदस्य हिरा शर्मा नेपाल, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्य, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, काभ्रेपलाञ्चोक जिल्ला भलिवल संघका अध्यक्ष विक्रम प्रजापति, ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका सहायक प्रिन्सिपल नवराज दाहाल लगातयले खेल क्षेत्रबारे चर्चा गरेका थिए ।
डजबलका केन्द्रीय अध्यक्ष अरुण तिमल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा उहाँले डजबलमा नेपाल उदाउँदो रुपमा रहेको बताउनुभयो । उहाँले काठमाडौमा यसको तालिम सूरु भएको र तालिम लिन ईच्छुक महानुभावले सहभागिता जनाउन अनुरोध गर्नुभयो ।

तपाईको प्रतिक्रिया