काभ्रेपलाञ्चोकबासीलाई निःशुल्क रगत,एकैदिन जुट्यो लाखौं रुपियाँ


बनेपा÷ नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाले जिल्लावासीहरुको लागि निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष स्थापना गरेको छ । राम्रो कुराको सहयोग सबैबाट हुन्छ भन्ने उदाहरण रेडक्रस काभ्रेले सार्वजनिक गरेको छ ।
आईतबार बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापालाई साक्षी राखेर कोष स्थापनाको घोषणा गरियो । घोषणा भएकै दिन नगद सात लाख ३३ हजार बैंकमा जम्मा भएको छ । त्यस्तै धेरैले रकम जम्मा गर्ने प्रतिबद्धता गर्नुभएको छ । धैरेले लाखौं रुपियाँ जम्माको प्रतिबद्धता जनाउनुभएको छ ।
त्यसमा मन्त्री थापाले व्यक्तिगत ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभयो । उहाँले रेडक्रसले विपदका समयमा काम गर्दे आएको छ, यो रगत ब्लड बैक स्थापनाका लागी थप व्यवस्थित बनाउन लागेकोमा धन्यवाद दिनुभयो । बागमती सरकारले २५ लाख रुपैयाँ कोषमा राखेको पनि उल्लेख गर्नुभयो ।
अभियानमा स्वास्थ्य सम्बन्धी कार्य तथा रगत संकलनका लागी आवश्यक स्वास्थ्य सामाग्री सहयोग गर्ने मन्त्री थापाले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
रेडक्रसमा कुनै राजनीतिक रङ्ग नहुने भएकाले सबैले सहयोग गर्नु पर्ने बताउँदै रगत संकलनका लागी अक्षय कोष स्थापनाका कार्य उत्कृष्ट रहेको भन्दै उनले यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका सभापती देवेन्द्र भैलले जिल्लाबासीहरु कोही पनि रगत अभावका कारणले मर्नु नपरोस भन्नाका लागी उक्त अभियान सुरु गरेको बताउनुभयो । रक्त सञ्चार सेवालाई थप सुदृढिकरण गर्न र आपतकालीन समयमा समेत निशुल्क रगत उपलब्ध गराउन अभियान अगाडी बढाईएको भैलले उल्लेख गर्नुभयो । काभ्रेमा रेडक्रस सोसाईटीले २४ सै घण्टा ब्लड बैक सञ्चालन गर्दे आएको र त्यसलाई थप ब्यबस्थापन, प्रविधि मैत्री बनाउन लागेको स्पष्ट पार्नुभयो ।
जिल्लामा रहेका ३८ वटा उपशाखा रहेको र प्रत्येक उपशाखाले न्युनतम १ लाखका दरले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको जनाउनुभयो । नेपाल रेडक्रस सोसाईटी महादेवस्थान उपशाखाले एक लाख, बनेपा उपशाखाले १० लाख, कुशादेवी उपशाखा ५ लाख, पनौती उप शाखाले १ लाख ११ हजार, नेकपा एमाले काभ्रे जिल्ला कमिटीका उपसचिव रत्नकुश रंजितले १ लाख १ हजार, वागमती प्रदेश स्वास्थय मन्त्री किरण थापाले ५५ हजार ५ सय ५५, उद्योग वाणिज्य महासघंका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण बैधले ५५ हजार, शाखा सभापती देबेन्द्र भैलले ५० हजार, समाजसेवी देश सुधार भैलले ५० हजार, बनेपा नगर प्रमुख शान्ति रत्न शाक्यले ५० हजार, पाँचखाल नगर प्रमुख महेश खरेलले ५० हजार, नेपाल रेडक्रस सोसाईटी काभ्रेका पूर्वमन्त्री उद्धवप्रसाद पौडेलले २५ हजार, महादेवस्थान उपशाखाका सभापति रामकुमार सापकोटा २५ हजार ५, मण्डनदेउपुरका युवा नेता टोमप्रसाद २५ हजार, पूर्व सभापति देवीप्रसाद नेपालको २५ हजार सहयोगको प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उप प्रमुख विमला सापकोटा, प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, जिल्ला सल्लाहकार तथा बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, उपसभापति पुष्पा खड्का लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया