जनसरोकारका सवालमा बार एशोसिएन एक कदम अघि

धुलिखेल÷काभ्रेपलाञ्चोक जिल्ला अदालत बार एशोसिएनले जनतासँग प्रत्यक्ष जोडिएका सरकारी निकायका अधिकारीसँग अन्तरकृया गरेको छ ।
सरकारी सेवाप्रदायकले दिने सेवाका बारेमा वकिल, संचारकर्मी र सर्वसाधारणले कस्तो धारणा बनाएका छन् र अझ सेवा विस्तारमा के गर्न सकिन्छ भनेर अन्तरकृया गरिएको हो । अन्तरकृयामा बार एशोसिएसन काभ्रेका अध्यक्ष हरिशरण दाहालले जिल्लामा रहेका सरकारी कर्मचारीले दिएको सेवाको बारेमा जनतासँग लिएको सुझावलाई पेस गर्नुभएको थियो । उहाँले अदालत,प्रहरी, वन, प्रशासन, मालपोत, नापी लगायतका कार्यालयमा धेरै गुनासो आएको उल्लेख गर्नुभएको थियो । त्यस्तै सरकारी वकिल कार्यालय, कारागार लगायतको सेवाको बारेमा जानकारी गराउनुभयो ।
नेपाल पत्रकार महासंघ काभ्रेका कोषाध्यक्ष केशवराज पौडेल महासंघको तर्फबाट आम नागरिकले सडक, शिक्षा, खानेपानी, प्रहरी सुरक्षा निकाय, प्राकृतिक विपत्त, विकास निर्माण, अदालत, कृषि र पशु विकास कार्यालयबाट आउने गुनासो र समस्याको बारेमा अवगत गराउनुभएको थियो । धुलिखेल खाँवा सडकको अवस्था, ओभरलोड र पानी चुहाउने समस्याले जनताले पाएको हैरानीको बारेमा त्यहाँ जानकारी गराउनुभयो ।
अग्रज पत्रकार रोजन तामाङले नापी, मालपोतमा पैसा बिना काम नहुने र केही बर्षअघि अदालतको कर्मचारीलाई रङ्गे हात नै पक्राउ भएको बिषयमा उहाँले सरोकार राख्नुभएको थियो ।
अन्तरकृयामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मालपोत, नापी, अदालत, सरकारी वकिल कार्यालय, जिल्ला वन कार्यालय लगायतका महत्वपूर्ण कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
काभ्रेका सिडिओ उमेशकुमार ढकालले नागरिकलाई सेवा दिन आफूहरु प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले जनताको समस्या समाधान गराउन प्रयत्नशिल रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफू मातहतका कुनै पनि कर्मचारीले गलत आसयले काम गरेको पाईएमा कारवाही गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले कुनै लेनदेन वा दुख दिने कुरा पाएमा प्रमाण सहित कोही आउँछ भने उसलाई ठाउँको ठाउँ कारवाही गर्ने बताउनुभयो । कर्मचारीलाई दुख दिने नियतले कसैले गतल दृष्टिकोणले कर्मचारीलाई नहेर्न पनि अनुरोध गर्नुभयो ।
निरोज नेपालले स्वागत गर्नुभएको कार्यक्रममा जिल्ला अदालत काभ्रेका श्रेस्तेदार कर्णबहादुर राईले अदालतले दिने सेवा र लिन सक्ने सूचनाको बारेमा जानकारी गराउनुभयोे । उहाँले अदालतले सबैमा समान रुपमा सूचना दिने गरेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिल्ला न्यायधिवक्ता कृष्णा भण्डारीले कर्मचारीको अभावमा पनि आफूहरुले सेवालाई चुस्त र दुरुस्त राखेको बताउनुभयो ।
जिल्ला वन कार्यालय काभ्रेका डिभिजन वन अधिकृत कृष्णबहादुर थापाले वनले गरेका कार्यहरुको बारेमा जानकारी गराउनुभयो । उहाँले वनको बिषय प्राविधिक हुने भएकाले समय लाग्ने उल्लेख गर्नुभयो ।
नापी कार्यालय काभ्रेका प्रमुख अशोककुमार भुसालले नापी कार्यालयमा सेवाग्राहीको हुने चापलाई ध्यानमा राखेको र सकेसम्म जनताले दुख नपाउने गरि काम गरेको बताउनुभयो । हालसाबिकको बिषय सामान्य नभएको र पुनः नापी गर्नुपर्ने बताउनुभयो ।
कारागार व्यवस्था विभाग काभ्रेका प्रमुख नईन्द्र कुमार पौडेलले कारागार व्यवस्थापन विभागले गरिरहेको कार्यको बारेमा जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया