पूर्वाधार बढाउँदै, शीर मेमोरियल,थपियो सिटी स्क्यान मेसिन

बनेपा÷मध्यपहाडी जिल्लाकै सान र मानको रुपमा रहेको घोगेचौर अस्पतालले प्रख्यात काभ्रेपलाञ्चोककै सबैभन्दा पुरानो शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालले आफूलाई समय सापेक्ष परिमार्जन गर्दै लगेको छ । सुविधा थप्ने क्रममा झण्डै आठ करोड रुपियाँ लागतको ‘सिटी स्क्यान मेसिन’को बुधबार एक कार्यक्रमको बीचमा सुभारम्भ गरिएको छ । अस्पताल स्थापनाको ६५ वर्षपछि १२८ स्लाइटको सिटी स्क्यान मेसिन राखिएको हो । सिटी स्क्यान मेसिनको चार लाख ६० हजार अमेरिकी डलरमा खरिद गरी जडान गरिएको छ । जेनेटरसहित सिटी स्क्यान मेसिनको मूल्य नेपाली रु सात करोड ५० लाख खर्चिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा हेक्टर गायरसले जानकारी दिनुभयो ।
सिटी स्क्यान मेसिन राख्ने कोठाको व्यवस्थापनका लागि त्यहाँका कर्मचारीले योगदान गरेका छन् । सामान्य पदका कर्मचारीले पनि अस्पताललाई अझ सुविधा सम्पन्न बनाउन योगदान गरेको हेक्टर गायरसले आफ्नो मन्तव्यको क्रममा उल्लेख गर्नुभयो ।
अस्पताल १५० शैया क्षमताको हो । रोटरी फाउन्डेसन, रोटरी क्लब अफ कुपन्डोल र रोटरी क्लब अफ काभ्रेपलाञ्चोकको समन्वय र सहयोगमा ग्लोबल ग्रान्ड फन्डमार्फत रोटरियन तथा विभिन्न क्लब, सघसंस्था र व्यक्तिको सहयोगबाट मेसिन खरिद गरिएको हो । कार्यरत चिकित्सक र कर्मचारीबाट अस्पताललाई एक महिनाको पारिश्रमिकसमेत उपलब्ध गराइएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा गायरसले सिटी स्क्यान मेसिन बिरामीको उपचार सेवामा अस्पतालका लागि अत्यावश्यक तथा महत्वपूर्ण हुने र अब पैसा नहुने बिरामीलाई पनि सेवा प्रदान गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफ्नो अस्पताल भित्र छिरेका गरिब र नसक्ने बिरामीले निशुल्क उपचार पाउने बताउनुभयो । यसअघि रोटरीमार्फत उक्त अस्पतालमा डाइलासिस मेसिन उपलब्ध गराइएको थियो । बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे, मेयर शान्तिरत्न शाक्य, उपमेयर बिमला सापकोटा, वडा अध्यक्ष बलराम अधिकारी, लगायत दाताले सिटी स्क्यान मेसिनको शुभारम्भ गर्नुभयो ।

तपाईको प्रतिक्रिया