कोटा प्रणालीले काभ्रेमा रासयनिक मलको समस्या

बिस २०७४ सालसम्म काभ्रेपलाञ्चोकमा रासयनिक मलको कुनै समस्या नै थिएन । बार्षिक १९ हजार मेट्रिक टन मल काभ्रेमा भित्रन्थ्यो । तर २०७४ मंसिर १ गते कोटा प्रणाली सुरुभयो त्यसपछि काभ्रेमा सुरु भयो मलको अभाव र हाहाकार । नेपालमै सबैभन्दा धेरै मल खपत गर्ने जिल्लामा मलको कटौती आधाभन्दा धेरैले घट्यो अनि कालोबजारी सुुरु भएको हो । त्यो क्रम यो बर्ष पनि थपियो ।
यो बर्ष समयमै बर्षाभएपछि मकै छर्न थालेका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखाका किसान रासायनिक मल नपाउँदा चिन्तामा परेका छन् । नियमित तथा मौज्दात मल वितरणमै कमजोरी भएपछि यहाँ मलको हाहाकार देखिएको छ ।
बाढी पहिरोको विपत्तीलाई भुलेर खेतीमा रमाउने प्रयासमा रहेका काभ्रेपलाञ्चोकका किसानले युरिया मल नपाउँदा मानसिक तनाव झेलिरहेका हुन् ।
प्राकृतिक विपत्ति झेलेर पुरानै अवस्थामा फर्कन लागेका किसानलाई सहजै रासायनिक मल उपलब्ध गराउन काभ्रेलाई पहिलो प्राथमिकता दिन अनुरोध गरेर पत्र लेखेपनि त्यसो हुन नसक्दा युरिया मलको अभाव देखिएको कृषि सामग्री कम्पनीका अधिकारीले उल्लेख गरेका छन् ।
कृषि सामग्री कम्पनी काभ्रेका शाखा प्रवन्धक योगेन्द्र कुमार पराजुलीले नियमित तथा मौज्याद मल काभ्रेपलाञ्चोकमा कम आएकाले युरियामा समस्या देखिएको उल्लेख गर्नुभयो । कुनै समय १९ हजार मेट्रिक टन मल खपत गरेको काभ्रेलाई अहिले मुस्किलले ८ हजार मेट्रिक टन आउने गरेको छ ।
केन्द्रको मौज्दातमलबाट बागमती प्रदेशमा आएको मलको मौज्दातलाई भाग लगाउँदा काठमाडौंमा भन्दा काभ्रेपलाञ्चोक जिल्लामा कम मल उपलब्ध गराईएको छ । बागमती प्रदेशमा रहेको मल व्यवस्थापन समितिमा रहेको ५०० मेट्रिक टन मलमध्ये भागवण्डामा काभ्रेले ६० मेट्रिक टन मात्रै मल पाउँदा काठमाडौैंले भने ७५ मेट्रिक टन पाएको छ । काठमाडौंमाभन्दा काभ्रेमा मलको आवश्यकता १० गुणा धेरै रहेको छ । काठमाडौंमा भाग लगाईएको मल कृषि सहकारीमार्फत व्यापारीसँग पुग्ने र कालोबजारी हुन सक्नेभन्दै किसानले भने चिन्ता व्यक्त गरेका छन् ।
प्रदेशले लगाईएको भागबण्डामा सिन्धुलीले ७५ मेट्रिक टन, सिन्धुपाल्चोक मेट्रिक ४०, मकवानपुरले ८०, नुवाकोटाले ६०, धादिङले ६०, भक्तपुरले १५ र ललितपुरले ३० मेट्रिक टन पाएका थिए । काभ्रेपलाञ्चोक नेपालमै सबैभन्दा धेरै रासायनिक मल खपत गर्ने जिल्ला भएपनि कम मल पाउँदा समस्या देखिएको शाखा प्रवन्धक पराजुलीले जानकारी दिनुभयो । बागमतीले पाएको अर्काे ५०० मेट्रिक टन युरियामल चैत महिनामै चैते धानका लागि भन्दै चितवन जिल्लालाई उपलब्ध गराईसकेको छ ।
मल वितरणको लागि समानुपातिक प्रणालीको विकास गर्ने भन्दै २०७४ साल मंसिर एक गतेबाट नयाँ प्रणाली लागू भएपछि काभ्रेमा मलको समस्या सुरु भएको हो । त्यसअघि काभ्रेले बार्षिक १९ हजार मेट्रिक टनको मलको खपत गर्ने गरेकोमा त्यसपछि कोटा प्रणालीले ८ मेट्रिक टन आउने गरेको र बाँकी मल चर्काे मूल्यमा किसानले किन्न बाँध्य भएका छन् ।
नेपालमै धेरै मल खपत गर्ने काभ्रेमा कोटा प्रणाली लागूभएपछि कम मल आउन थालेको हो । कोटा सुरु भएपछि मोरङले ११ सय मेट्रिक टन पाउँदा काभ्रेले भने ५४३ मेट्रिक टन मात्रै पाउने गरेको छ । काभ्रेमा अहिले ३५ हजार बोरा युरिया मल आवश्यक रहेकोमा मुस्किलले २० हजार बोरा आउँदा अभाव देखिएको हो ।
समानुपातिक प्रणाली अनुसार कोशी प्रदेशले २१.५, मधेशले २६.५, गण्डकीले ४.९, लुम्बिनीले २०.६, सुदुरपश्चिमले ९.७, कर्णालीले २ र बागमती प्रदेशले १४.८ प्रतिशत मल पाउने गर्छ । कूल मलको १० प्रतिशत मौज्याद केन्द्रमा रहने गर्दछ ।
सामाजिक संञ्जालमा ती जिल्लामा दश किलो मल लिन लामो लाईन बसेका तस्बीर र भिडियो सार्वजनिक हुन थालेका छन् । यसले आफूलाई झन समस्यामा पारेको प्रवन्धक पराजुलीले उल्लेख गर्नुभयो । तीन सय बोरा युरिया आवश्यक भएको कृषि सहकारीलाई ३० बोरा मल दिन नसक्ने अवस्था आएको उहाँले स्पष्ट पार्नुभयो ।
चुरोट र रक्सी भनेजति किन्न पाउने, सुर्ती र पराग गाउँगाउँका पसलमा पाईने तर दुख गर्छु पसिना निकाल्छु र खेती गर्छुभन्दा मल नपाईने, रोशी गाउँपालिका–९ का पूर्वदर्शन श्रेष्ठले भन्नुभयो ।
आफ्नो वडामा ३ सय बोरा मलको आवश्यकता भएकोमा कृषि सामाग्री केन्द्र लिमिटेडले ३० बोरा युरिया मल कोटामा दिएपछि मल लिएर जाने की नजानेभन्ने दुविधामा परेको उहाँले बताउनुभयो ।
१० किलो रासाययिनक मलको लागि लाईनमा बस्नु भएको काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ७ का रविन्द्र सापकोटाले युरिया मलको अभाव देखिएको उल्लेख गर्नुभयो । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले ७० र र साल्ट टेडिङ कर्पोरेशनले ३० प्रतिशत बजार रासायनिक मल बिक्री गर्ने गरेका छन् । सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिकाका किसान रमेशबहादुर कार्कीले मलको माग अत्याधिक भएको र कृषि सामाग्रीबाट उपलब्ध हुन नसक्दा समस्या देखिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया