तराई, भित्री मधेश र मध्यपहाडी जिल्लाका किसानले भारत र चीनबाट आयातित वर्णशङ्कर जातको मकैमा रुचि राख्दा सरकारले विकास र सिफारिस गरेका मकैका बिउ भने ओझेलमा परेका छन् ।
राष्ट्रिय बिउ बिजन केन्द्र रामपुरबाट नेपालकै रैथाने र हावापानी सुहाउँदो ४१ जातलाई उपयुक्त रहेको सिफारिस गरेको छ । त्योमध्ये १० वटा वर्णशङ्कर र ३१ वटा उन्नत जात छन् । त्यसरी सिफारिस गरिएका जातका मकै कम्तिमा ९० दिनदेखि अधिकतम् १८० दिनसम्ममा पाक्ने र तराई, पहाड र हिमाली क्षेत्रमा फल्ने फरक फरक जातका छन् ।
बिउ बिजन तथा गुण नियन्त्रण केन्द्रले ११४ जातका मकै नेपालमा उपयुक्त भएको भन्दै सिफारिस गरेको छ । तर बिस २०३३ सालमा सफल प्रयोग भएको रामपुर कम्पोजिटसँग अत्याधिक ताप सहन गर्न सक्ने क्षमता छ । अहिले नेपालमा बिउ अभाव भएको भनिएका ठाउँमा सो मकै उपयुक्त हुने राष्ट्रिय बिउ बिजन केन्द्रका संयोजक तीर्थराज रिजालले जानकारी दिनुभयो ।
लामो समयको अध्ययन अनुशन्धानबाट सिफारिस भएको र समुन्द्र सतहदेखि ५ हजार मिटरसम्ममा खेती हुने खालका मकैका बिउ सिफारिस गरिएको बताउनुभयो । सरकारी र गैरसरकारी क्षेत्रबाट कृषकसम्म समयमै प्रचार हुन नसक्दा नेपाली बिउ ओझेलमा परेको उहाँले स्पष्ट पार्नुभयो ।
राष्ट्रिय बिउ बिजन केन्द्रले मकैको बुबा र आमा तयार पारेर कम्पनीहरुलाई उपलब्ध गराउने र सोही आधारमा कम्पनीहरुले उत्पादन गर्ने गरेको उहाँले बताउनुभयो । तर सममयै उत्पादन हुन नसक्नु र नेपाली कम्पनीले ठूलो मात्रामा उत्पादन गर्न नसक्दा किसानहरु आयातित वर्णशङ्करतर्फ आकर्षित भएको हुन सक्ने उहाँले बताउनुभयो ।
सरकारी स्तरबाट नै नेपाली बिउलाई प्रोत्साहन गर्न र कम्पनीसँग समन्वय गर्न आवश्यक हुने उहाँले बताउनुभयो । तराईमा हुने रामपुर कम्पोजिट, मध्यपहाडमा देउती उच्च पहाडमा हुने गणेश लगायतका सबै बिउको राम्रोसँग प्रचार हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।
नेपालमै सिफारिस भएको मकै तोकिएकै क्षेत्रमा मात्रै रोपिन्छ र शतप्रतिशत सफल पनि भएको छ । तर आयातित वर्ण शङ्करको मकैको बिउमा हुने गडबडीले घोगा नलाग्ने र घोगामा दान नलाग्ने समस्या देखिने गरेको छ । किसानले पटक पटक आन्दोलन गर्ने परेको किसान अगुवा ज्ञानेन्द्र दाहालले बताउनुभयो । उहाँले अघिल्लो बर्ष ४० रोपनी बारीमा रोपेको सफल भएपछि यो बर्ष रामपुर कम्पोजिटलाई २०० रोपनीमा विस्तार गरिएको बताउनुभयो । तर धेरै किसान वर्णशङ्करमै आकर्षित हुनुभएकाले स्थानीय जातको प्रोत्साहन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
धेरै आयातित वर्ण शङ्कर ७०० मिटरभन्दा कम उचाईमा फल्ने सिफारिस भएपनि १५०० मिटरसम्म पनि रोपिदै आएको छ । तर त्यसको बारेमा सरकारी र निजी क्षेत्रबाट कुनै अनुशन्धान नै सुरु गरिएको छैन । कृषक आफैले त्यस्ता मकैको बिउको माग गर्ने गरेका छन् ।
किसानले पछिल्लो समय आकर्षक प्याकेजिङ र सर्वसुलभ भएसँगै अन्तराष्ट्रिय कम्पनीका वर्णशङ्करमा बिउमा ध्यान दिने गरेका हुन् ।
कृषि प्रसार अधिकृत कृष्ण धितालले सिफारिस भएका स्थानीय जातको मकैको राम्रोसँग प्रसार हुन नसक्दा विदेशी बिउले जरा गाडेको उल्लेख गर्नुभयो । तराई, भित्री, मधेश, पहाडी र उच्च पहाडी जिल्लामा लाग्ने मकैको बिउ भएपनि त्यसबारे किसानसम्म प्रसार हुन नसक्दा नेपाली बिउले बजार लिन नसकेको उहाँले स्पष्ट पार्नुभयो ।
बरिष्ठ कृषि प्रसार अधिकृत कुलप्रसाद दवाडीले नेपाल मकैको बिउमा आत्मनिर्भर रहेपनि किसानसम्म नेपाली बिउको प्रचार हुन नसक्दा वर्णशङ्कर बिउमा किसानको आकर्षण बढेको जानकारी दिनुभयो ।
नेपालमा उत्पादित बिउको राम्रो प्याकेजिङ छैन जसको कारणले किसानले चम्किला आकर्षक बिउका प्याकेटमा बिउ मात्रै किन्ने गर्दा नेपाली बिउ ओझेलमा परेको उहाँले उल्लेख गर्नुभयो । किसानस्तरमा बिउको महत्व बुझाएर स्थानीय रोग प्रतिरोधात्मक क्षमता भएका बिउ प्रोत्साहन गर्ने कार्यक्रम सरकारले ल्याउन आवश्यक रहेको सुझाव दिनुभयो । केही नेपाली कम्पनी युनिक सिड, लुम्बिनी सिड र गोरखा सिड कम्पनीले स्थानीय जातका बिउ उत्पादन गरेपनि प्रर्याप्त नहुँदा किसानसम्म पुग्न सकेका छैनन् ।
एकातिर नेपाली कम्पनीको उत्पादन कमहुँदा समस्या परेको छ भने विदेशी कम्पनीले बलियो मार्केटिङ पोलेसी बनाएर बजार नै कब्जा जस्तै गरेका छन् । वितरकलाई बिउ बेच्ने लक्ष्य दिएर हरेक बर्ष बिउ कम्पनीले वितरकलाई विदेश भ्रमण समेत गराउने गरेका छन् । जसको कारणले वितरण स्थानीय बिउलाई प्राथमिकतामा राख्दैनन् । स्थानीय बिउमा नाफा समेत कम हुने भन्दै व्यापारीले त्यसलाई प्राथमिकता दिने गरेका छैनन् ।
छिटो पाक्ने नयाँ जात सिफारिसको तयारी
राष्ट्रिय बिउ बिजन केन्द्रले असारसम्ममा छिटो पाक्ने जातको बिउ बिउबिजन गुणस्तर तथा नियन्त्रण केन्द्रमा सिफारिस गर्ने तयारी थालेको छ । केन्द्रले अनुमोदन गरेर राष्ट्रिय बीउ नियन्त्रण केन्द्रमा पठाएपछि त्यहाँ अनुमोदन भएपछि व्यावसायिक उत्पादनका लागि आउने संयोजक रिजालले उल्लेख गर्नुभयो ।
यस कार्यक्रममार्फत नेपालमा अहिलेसम्म उन्नत जातका लागि ३१ वटा मकैका बीउका जात सिफारिस गरिएको छ । जुन नेपाली जनताले रुचाएका छन् । उच्च पहाडका लागि गणेश–१ र २, मध्यपहाडका लागि मनकामना–१, ३, ५, ७ र ९ जात सिफारिस गरिएको छ । यस्तै तराईका लागि रामपुर जातका मकै सिफारिस गरिएको छ । अब सिफारिस गर्न लागिएका मकै तराई र मध्यपहाडी क्षेत्रका लागि उपयुक्त हुने उहाँले दाबी गर्नुभयो । किसानलाई चाँडो पाक्ने खालका मकै पनि सिफारिस गरिएको छ । जसमा अरुण–१, २, ३, ४, ५, ६ जातका रहेका छन् । यी मकै लगाएको ८० देखि ९० दिनमा तयारी हुने गर्छन् । अन्य मकै एक सय २० देखि एक सय ५० दिनसम्म लाग्ने गर्दछन् ।
कार्यालयले हाइब्रिड मकैतर्फ अहिलेसम्म १० जात सिफारिस गरेको छ । अहिले तीन जात सिफारिसको चरणमा रहेको र त्यसपछि हाईब्रिडको संख्या १३ पुग्नेछ ।
सिफारिस गर्न लागिएका जात सिएएच–१५११, सिएएच–११८७, सिएएच–१९ छन् । यी मकैमा तापक्रम सहन सक्ने क्षमता भएकाले भित्री मधेस र तराईका जिल्लाका लागि सिफारिसको काम भइरहेको रिजालले बताउनुभयो ।
। बिसं २०७७ देखि हामीले कुनै जातको मकै सिफारिस भएको छैन । किसानले नरुचाएका आठवटा जातलाई सूचीबाट हटाइसकिएको छ भने पाँचवटा जातलाई सूचीबाट हटाउन सिफारिसको तयारी थालिएको छ । चलनचल्तीमा नआएका, रोग र कीराले समस्या बनाएका यस्ता जातलाई सूचीबाट हटाउन सिफारिस गरिने गरिन्छ ।
वर्णशङ्करमै किसानको चासो
2025-05-09T09:34:08+05:45
तपाईको प्रतिक्रिया