बनेपा÷स्थापनाको दुई महिनामै अंकुर प्रि स्कुलले हासिल गरेको सफलता लोभलाग्दो देखिएको छ । बनेपा नगरपालिका वडा नम्वर ६ बुडोलमा सरस्वती पूजाका दिन शुभारम्भ गरिएको अंकुर प्रि स्कुलका विद्यार्थीहरुको परिक्षाफल प्रकाशनसँगै विशेष कार्यक्रम आयोजना गरेर दुई महिनामा हासिल गरेको उपलब्धी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष भेषराज शाहको अध्यक्षता रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी बसुन्धरा खड्काले सुरक्षित र सभ्य समाज निर्माणमा शिक्षाको ठूलो महत्व रहेको उल्लेख गर्नुभयो । स्थापनाको दुई महिनामै ५० जना विद्यार्थीलाई अध्यापन गराउन सफल भएकोमा उहाँले अंकुर पिलाई धन्यवाद दिनुभयो । उहाँले आफुपनि प्रहरी सेवामा आउनुपर्वूको करिब ६ बर्ष शिक्षिकाको रुपमा काम गरेको स्मरण गर्नुभयो । सोही अवसरमा उहाँलाई शान्ति सुरक्षा र असोजमा आएको अविरल बर्षापछिको पुनः निर्माणमा खेलेको भुमिकाको प्रशंसा गरिएको थियो ।
कार्यक्रममा शिक्षासेवी प्राध्यापक भोला केसी लगायतले विद्यालयले प्रदान गर्ने सिकाई र ब्यवहारीक ज्ञान बालबालिकाहरुको चौतर्फी विकासमा महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा विद्यालय इन्चार्ज अम्बिका ढकालले छोटो अवधीमा बालबालिकाहरुलाई सिकाउनु पर्ने थुप्रै विषयहरु मध्ये महत्वपूर्ण विषयमा ध्यान दिएको बताउँदै आगामी शैक्षिक सत्रबाट थप कार्यक्रमहरु अघि बढाईने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा बनेपा नगरपालिका शिक्षा शाखा अधिकृत शिवराज त्रिपाठी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका कोषाध्यक्ष केशवराज पौडेल तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, अभिभावकहरु तथा विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु तथा संचालक सदस्यहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुले गित र नृत्य मार्फत राम्रो बानी जोड्दै जाने र नराम्रा हटाउने सन्देश दिनुभएको थियो ।
तपाईको प्रतिक्रिया