डाँडाको थाप्लोभन्दा मुन्तीरको झुरुप्प बस्ती । ढुंगा र माटोबाट बनेका घरहरू । टिनले छाइएका रंगीन छाना । पृष्ठभूमिमा झलमल्ल हिमाल । स्वर्गकै एउटा टुक्रा ! पर्यटकीय क्षेत्र नगरकोट मुन्तिरको एउटा राम्रो बस्ती गुरुङ समुदायको बाहुल्यता रहेको खस्रे गाउँले लमजुङको घलेगाउँको झल्कोदिन्छ ।
बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका –३ को रमणिय बस्ती । गाउँमा गुरुङका ५१ घरधुरी छन् । गुरुङ संस्कृति, हिमाली दृश्य, आत्मीय व्यवहार र मीठो खानाका लागि प्रख्यात बनाउने उदेश्यले सो गाउँमा होमस्टे सेवा सुरु भएको छ । काठमाडौंको कोलाहलबाट टाढा गएर गाउँको स्वच्छ वातावरणमा तन र मन रिचार्ज हुन्छ । ऊर्जा बढ्छ । एक दिनको छुट्टी मज्जाले मनाउन सकिन्छ खस्रेमा ।
११ घरमा होमस्टे चलेको छ । २५ जना बास बस्न सक्छन् । त्यहाँ पारिवारिक वातावरण पाइन्छ । गाउँलेहरू पाहुनालाई फूलमाला र टीकाले स्वागत तथा बिदाइ गर्छन् । त्यस्तै स्वागत गरिएको छ । भुटानका मन्त्रीलाई ।
भुटानका कृषि तथा पशुपालन मन्त्री योंगतेन फुन्त्सोले होमस्टेको उद्घाटन गर्नुभएको छ । पर्यटकहरूलाई आफ्नै बारीको उत्पादनको अर्गानिक स्वाद चखाउने र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित खोलिएको होमस्टेको शुक्रबार मन्त्री योंगतेन फुन्त्सोले उद्घाटन गर्नुभयो ।
स्थानीय रमेश गुरुङका अनुसार ५१ घरधुरी गुरुङ जातीको बसोवास रहेको खस्रेमा तीन वटा निजी घरबाट सुरु गरेको होमस्टे अहिले ११ घरमा विस्तार गरिएको छ ।
कृषि उपार्जनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित होमस्टे सुरु गरिएको हो उहाँको दाबी छ । खस्रेमाआउने पर्यटकलाई अर्गानिक खानाको स्वाद चखाउने उहाँले उल्लेख गर्नुभयो ।
होमस्टेसँगैको एक घरमा बाजे पुस्ताले प्रयोग गरेका सामानलाई संग्राहलय बनाईएको छ । संग्राहलयमा ५० भन्दा बढी सामान छन् । ११ घरमा रहेको होमस्टेमा हाल २० देखि २५ जनालाई राख्न सकिने क्षमता छ । जसमा एक बेड रुममा दुई देखि तीन जनासम्म अटाउने क्षमता रहेको गुरुङले बताउनुभयो ।
होमस्टेका संस्थापक अध्यक्ष विकास गुरुङले गुरुङ भेषभुषा, रहनसहन रितिरिवाजको प्रचारप्रसार गर्ने, गुरुङ बस्तीलाई नमुना बस्तीका रुपमा स्थापित गर्ने र स्थानीयलाई अर्गानिक उत्पादनसँग जोड्दै पर्यटन प्रवद्र्धनमार्फत रोजगारीसमेत सृजना गर्ने लक्ष्य लिइएको दाबी गर्नुभयो ।
होमस्टेकी अध्यक्ष रिना गुरुङले होमस्टेमा आउने पर्यटकले विषादीरहित उत्पादन खान पाउने जानकारी दिनुभयो । पर्यटकले होमस्टेमा आफैंले इच्छा अनुसार पकाएर खान सक्नेछन् । होमस्टेमा कोदोको सेल, ढिडो, जाँड रक्सी, लोकल मकै, साग, सिस्नु, आलु, स्थानीय रैथाने बालीको उत्पादनको स्वाद लिन सकिने बताउनुभयो ।
कसरी पुग्ने ?
वर्षैभरि खस्रेगाउँ जान सकिन्छ । भक्तपुरको कमल विनायकबाट नगरकोटसम्म जाने सिधा बस सेवा छ । बसमा १ घन्टाको यात्रापछि नगरकोट पुगिन्छ । त्यहाँबाट हिडेर जान पनि सकिन्छ । भक्तपुर २२ किमी नगरकोट र त्यसपछि छ किमी पैदल हिडेर होमस्टे पुृग्न सकिन्छ । आफ्नो सवारी हुनेलाई सहज रुपमा त्यहाँ पुग्न सकिन्छ ।
भक्तपुरको कमल विनायकमात्र हैन चुच्चेपाटीबाट पनि एक घन्टामा त्यहाँ बस पुग्छ । कुन्तावेशीबाट आधा घन्टामा बसले खस्रे ल्याईदिन्छ । त्यस्तै कुन्तावेशी दुई घन्टा उकालो चढेर पनि खस्रेगाउँ पुगिन्छ ।
ट्राभल टिप्स
१. होमस्टेमा बास बस्ने गरी जाँदा पहिल्यै खबर गर्नुपर्छ । त्यसो भएमा गाउँलेहरूले आवश्यक स्वागत, सत्कार र खानपिनको तयारी गर्ने समय पाउँछन् ।
२. पर्यटकलाई पर्यटन व्यवस्थापन समितिले घरघरमा बाँडेर राख्छ। उसले आलोपालो प्रणालीमा होमस्टेमा राख्छ । जुन घरमा बसेर खानपिन गरे पनि प्याकेजको मूल्य एउटै हुन्छ ।
३. होमस्टे तथा होटलमा मर्यादित भएर बस्नुपर्छ । मेनुमा नभएका कुरा डिमाण्ड गर्नु हुँदैन । राती १० बजे भन्दा पछाडि किचनमा बस्न मिल्दैन । होहल्ला गर्न पनि पाइँदैन ।
४. स्थानीय संस्कृति, बोलिचाली, धर्म, भेषभुषा आदिको सम्मान गर्नुपर्छ । गाउँलेसँग राजनीति, धर्म र जातका विषयमा वादविवाद गर्नु हुँदैन ।
५. होमस्टेमा जाँदा होस्ट परिवारका लागि उपहार लिएर गएमा आत्मीय गाढा बन्छ । साथै परिवारलाई तरकारी केलाउन, सरसफाइ गर्न, करेसाबारी गोड्न आदि काममा सघाउनु बेस हुन्छ ।
तपाईको प्रतिक्रिया