सुक्न थाले मण्डनका रुखकटहरका बोट

तरकारी खादा स्वादिलो पाकेको खाँदा झनै मिठो र स्वस्थकर कटहरका रुख सुक्न थालेपछि किसान चिन्तामा परेका छन् । मध्यपहाडी जिल्ला काभ्रेपलाञ्चोक,सिन्धुपाल्चोक,रामेछाप, सिन्धुलीमा एकै पटक कटहरका रुख सुक्ने समस्या देखिएको छ । तर सबैभन्दा धेरै समस्या भने काभ्रेपलाञ्चोकमा छ ।
तरकारी, पशुपालन र कृषि बाहेक राम्रो आम्दानी हुने र बजारको समस्या नभएको रुख कटहरले राम्रो आम्दानी लिईरहेका त्यहाँका किसान रुख सुक्न थालेपछि समस्यामा परेका छन् । एक सिजनमा लाखौं रुपियाँ भित्राउने यहाँका किसान कटहरका रुख सुक्न थालेपछि चिन्तामा परेका छन् ।
कुनै बेला बोटले थेगिनसक्नु कटहर फल्ने कटहरका रुख धमाधम मर्न थालेपछि चिन्ता बढेको मण्डनदेउपुर नगरपालिका वडा नं १० का कृष्ण नेपालले गुनासो गर्नुभयो । सरकारी निकायले राम्रोसँग चेकजाँच गरेर रोगको कारण पत्ता लगाएर उपचारमा सहयोग गर्न उहाँले सरकारसँग अनुरोध गर्नुभयो । पालिका र वडामा रुख सुकेको जानकारी गराएपनि चासो नै नदिएको नेपालले उल्लेख गर्नुभयो ।
एक सिजनमा एउटै बोटबाट पाँचदेखि १० हजारसम्म आम्दानी हुने गरेकोमा अहिले कटहरका बोट सुकेसँगै किसानको आम्दानीमै समस्या पारेको उहाँले बताउनुभयो । कटहर बेचेर लाखौं रुपियाँ भित्राउने किसानले आम्दानीको राम्रो स्रोत गुमाएको बताउनुभयो ।
साउन लागेपछि कटहर खानकै लागि टाढाटाढाबाट जाने आन्तरिक पाहुना घटेको र उहाँले दुखेसो गर्नुभयो । महादेवस्थानका महेश्वर दाहालले यसअघि अन्य फलफूलका बोटहरु सुके पनि कटहरका रुख सुकेको पहिलो पटक भएको र कृषि विज्ञहरुका लागि पनि चुनौतीको विषय बनेको बताउनुभयो ।
रुखकटहरमा यसरी रोग लागेपछि किसानहरुले कृषिविज्ञहरुलाई खबर गरेपछि जिल्ला कृषि विकास कार्यालय धुलिखेलबाट प्रभावित क्षेत्रमा पुग्नु भएको बाली संरक्षण अधिकृत रमा कार्कीले रुखकटहरका जरामै ढुसी किराको प्रकोप देखिएको उल्लेख गर्नुभयो । रुखका जराहरु सुक्ने र रुखलाई सुकाएको बताउँदै रुखको फेद वरिपरि सुकेका पातहरु राखेर जलाइदिने गर्दा यसको केही नियन्त्रण हुनसक्ने सुझाव दिनुभयो ।
केही किसानहरुले आफूले जानेको विधिले उपचार गरे पनि त्यो प्रभावकारी देखिएको छैन । केही विज्ञहरुले ढुसीको प्रकोप भने पनि यही रोग हो भनेर अझै प्रमाणित हुन भने सकेको छैन । यसको लागि गहिरो अनुसन्धान हुन जरुरी भएको किसानको माग छ ।
कुनैबेला काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका रुखकटहरको राजधानी झैं मानिन्थ्यो । तर विगत चार वर्ष यता यहाँका अधिकांश रुखकटहरका बोटहरु सुकेका छन् । प्रकोप विस्तारै रामेछाप, सिन्धुलीतर्फ पनि फैलान थालेकाले समयमै समस्या समाधानबारे जानकारी लिन आवश्यक देखिन्छ ।

तपाईको प्रतिक्रिया