पनौती÷मानेश्वरी ब्वाईज क्लबका खेलाडीले क्लबका पूर्व कप्तान र अध्यक्षको नाउँमा विपक्षीको पोष्टमा आधा दर्जन गोल हिर्काएका छन् ।
मानेश्वरी ब्वाईज क्लबको आयोजना तथा पनौती नेपाल र विश्राम समाजको सह आयोजनामा क्लवका निवर्तमान अध्यक्ष लक्ष्मी नारायण (लक्ष्य) स्मृति खुल्ला फुटबल प्रतियोगिता पनौती क्षेत्रीय रंगशालामा भएको उद्घाटन खेलमा मानेश्वरी व्वाईज क्लव निलोले र राजु एफसी बनेपालाई ६ गोलका बिरुद्ध एक गोलको भारी अन्तरले पराजित गरेको छ । सबै गोल खेलाडीले मानेश्वरी ब्वाईज क्लबका खेलाडीले क्लबका पूर्व कप्तान र अध्यक्षको नाउँमा सर्मपण गरेका छन् । खेलको २० सेकेण्डमा नै रविन लामाको गोलबाट मानेश्वरीले खाता खोलेको थियो । खेलको ३७ मिनेटमा पुजन जंगमले दोश्रो गोल गरे । त्यस्तै दोश्रो हापको ५३ मिनेटमा विजेस थापाले तेश्रो गोल गरे । ५७ मिनेटमा पुजन जंगमले आफ्नो दोश्रो तथा टिमका लागि चौथो गोल गरे । ६१ मिनेटमा राजु एफसीले एक गोल फर्कायो । ६७ मिनेटमा मानेश्वरीले अर्काे गोल हान्यो भने ८६ मिनेटमा अर्को गोल फर्काउदै ६–१ को सम्माजनक जित निकाल्यो ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन खेलमा पनौती नगरपालिकाको उपप्रमुख गिता बञ्जारा, वडा नं ७ का वडा अध्यक्ष सविन ताम्राकार, जिल्ला खेलकुद विकास समिति अध्यक्ष मानविर लामा, एन्फा केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष विकासनारायण श्रेष्ठले लक्ष्मी नारायण (लक्ष्य) ले फुटवल खेलमा पु¥याएको योगदानको बारेमा चर्चा गर्नुभयो ।
मानेश्वरी ब्वाईज क्लवका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्राम समाजका अध्यक्ष ओमकृष्ण श्रेष्ठको स्वागत मन्तब्य राख्नुभयो ।
प्रतियोगितामा विजयी हुने टिमले नगद २ लाख सहित ट्रफि, प्रमाणपत्र तथा अन्य पुरस्कार प्राप्त गर्नेछ । उप विजेता टिमले नगद १ लाख सहित अन्य पुरस्कार प्राप्त गर्नेछ । अनुशासित क्लव, प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट प्रतिरक्षक, खेल अवधिभरको उत्कृष्ट खेलाडीका नगद पुरस्कार उपलब्ध गराईनेछ । पुरस्कारका लागि ५ लाख ५० हजार रुपैया खर्च हुने अनुमान गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, पनौती नेपालका अध्यक्ष निवास श्रेष्ठ लगायतको उपस्थिती थियो ।
सबैको हृदयमा बसेका लक्ष्मी
२०३८ साल कार्तिक ५ गते जन्मिएका लक्ष्मीनारायण खिंबञ्जार (लक्ष्य)को २०८० फागुन ६ गते निधन भएको थियो । पनौती युवा क्लव, महाँलक्ष्मी युवा क्लव, काभ्रे जिल्ला फुटबल संघ, मानेश्वरी ब्वाईज क्लव, विश्राम समाज, पनौती ब्याडमिन्टन तथा कर्भड हल ब्यवस्थापन समितिमा विभिन्न जिम्मेवारी पुरा गरेका लक्ष्मी नारायण मानेश्वरी ब्वाईज क्लवमा अध्यक्ष रहँदा नै निधन भएको थियो । करिव डेढ दर्जन भन्दा खेलमा संलग्नता राखी जिल्ला र नगरमा उत्कृष्ट खेलाडीको पहिचान भएका लक्ष्मीनारायण विभिन्न विधामा सम्मानित खेलाडी हुन् ।

तपाईको प्रतिक्रिया