बेलुन पड्केर उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्य घाइते

 पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन उडाउने क्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्य घाइते हुनुभएको छ । पोखरा भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा शनिबार दिउँसो बेलुन पड्किएको हो ।

सवा १ बजेतिर बेलुन पड्किदा नगर प्रमुख आचार्यको गालामा चोट लागेको छ भने उपप्रधानमन्त्री पौडेलको टाउको र अनुहारका विभिन्न ठाउँमा आगोका झिल्काले पोलेको छ । घटनापछि तत्कालै उपचारका लागि आचार्यलाई फिस्टेल अस्पताल र उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेजमा लगिएको छ ।

दुवै जना खतरामुक्त रहेको र उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिनुभयो । घटनाअघि उपप्रधानमन्त्री पौडेलले पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन गर्नुभएको थियो । सन् २०२५ भित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष घोषणा गरिएको हो ।
उपचारका लागि काठमाडौ लगियो
पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन उडाउने क्रममा घाइते बन्नुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।

पौडेललाई पौने ३ बजेतिर सिम्रिक एअरको हेलिकोप्टरबाट राजधानी लगिएको हो । दुवै जनालाई कीर्तिपुरको बर्न हस्पिटलमा उपचारका लागि पठाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो ।

पोखरा भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा शनिबार दिउँसो सवा १ बजेतिर बेलुन पड्किँदा नगर प्रमुख आचार्यको गाला र टाउकोको केही भाग जलेको छ भने उपप्रधानमन्त्री पौडेलको टाउको र अनुहारका विभिन्न ठाउँमा आगोका झिल्काले जलेको छ ।
घटनापछि तत्कालै उपचारका लागि आचार्यलाई फिस्टेल अस्पताल र उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेजमा लगिएको थियो। पोखरामा सामान्य उपचारपछि जलनको उपचारका लागि उहाँहरूलाई राजधानी लगिएको हो।

तपाईको प्रतिक्रिया