कृषि महोत्सवको राष्ट्रपतिले उद्घाटन गर्ने तिव्र तयारी, काभ्रेबासीले उत्सवको रुपमा मनाउने तयारी

बनेपा÷काभ्रेपलाञ्चोक जिल्लालाई कृषि तथा पशुपालनसँगै पोल्ट्री व्यवसायको क्षेत्रमा अग्रणी जिल्ला मानिने गरेको छ । यही काभ्रेलाई चिनाएको कृषि उत्पादनलाई बजारीकरणमा सहयोग पु¥याउने उदेश्यले बनेपामा आगामी फागुन ४–७ गतेसम्म बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० को आयोजना गर्न थालिएको हो ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमको अगुवाईमा जिल्लाका १३ स्थानीय तहसँगै जिल्लाका सोसँग सम्बन्धित कार्यालयको सहभागिता रहने छ ।
मुल आयोजक समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख गौतमले मेला जिल्ला समन्वय समिति काभ्रे, बनेपा नगरपालिका, कृषि ज्ञान केन्द्र एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेको प्राविधिक समन्वयमा तथा काभ्रे उद्योग बाणिज्य संघको आर्थिक ब्यवस्थापनमा हुने उल्लेख गर्नुभयो । उक्त मेलामा काभ्रेमा रहेका स्थानीय तहको प्रत्यक्ष एवं सक्रिय सहभागितामा रहनेछ । मेलाको राष्ट्रपति रामचन्द्र पौडेलबाट समुद्घाटन हुने भएको छ ।
के हुन्छन् मेलामा ?
महोत्सव र मेला भन्ने वितिक्कै नाचगान र रमाईलो नहुने कुरा नै भएन । त्योसँगै व्यक्तिगत जीवनमा आवश्यक पर्ने दलहनदेखि फलफूल र कृषिका कुरा मेलामा गरिनेछन् ।
तीनदोबाटोदेखि नेपाल प्राधिकरणचोकसम्मको क्षेत्रमा गरिने महोत्सवका लागि सिंगारिने छ । सो मेलामा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तिय सेवा कर्जा सम्वन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टल रहनेछन् ।
महोत्सवका लागि प्रति स्टल २० हजार शुल्क तोकिएको छ । महोत्सव सम्पन्न पछि एक सयवटा कृषि तथा पशुपंक्षी सम्वन्धी फार्महरुमा कृषकहरु ब्यवसायीक भई उत्पादनमा बृद्धी हुने, जिल्लाका विभिन्न स्थानीय तहमा कृषि एवं पशुजन्य उत्पादन तथा ब्यवसायका लागि उत्कृष्ट गन्तब्य बन्न सक्ने, उपत्यकाका सबै तीन जिल्लामा कृषिजन्य उत्पादनको प्रभावकारी बजारीकरणको लागि आवश्यक आधार तयार गर्ने, युवाहरु विदेशिने क्रमलाई न्युनिकरण गर्ने लगायतका उपलब्धीको अपेक्षा गरिएको छ ।
कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरुको महोत्सवमा सहभागि गराई कारोवारमा बृद्धी ल्याउने, कृषकहरुलाई आवश्यक पर्ने प्रविधि, उत्पादन सामग्री एवं औजार उपकरणहरुको प्रर्दशनी मार्फत कृषकहरु विचमा विकसित नयाँ प्रविधि एवं सामाग्री औजार उपकरणहरु प्रति आर्कषण बढाइ उत्पादन लागत घटाउने, दर्शक÷कृषकहरुलाई प्रोत्साहित गर्न नयाँ नयाँ उन्नत प्रविधिहरु बारे जानकारी गराउनुका साथै नयाँ प्रविधि अपनाई नसकेका कृषकहरुलाई समेत नयाँ उन्नत प्रविधि अपनाउन प्रोत्साहित गर्ने, जिल्लामा उत्पादन हुने बाली एवं पुशपन्छीहरुको ब्यवसायीक उत्पादन, प्रशोधन एवं बजारीकरणका बारेमा कृषकहरु विच जानकारी प्रवाह गर्ने, कृषकहरुको मनोवल उच्च राख्न ब्यावसायीक कृषकहरुलाई उत्कृटताको आधारमा कदर गर्दै सममान गर्ने योजना रहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया