धुलिखेल÷जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा नेपालमै पहिलो पटक सहकारी अर्थव्यवस्था सम्बन्धि गोष्ठीको आयोजना गरिएको छ । धुलिखेलमा बिहीबारबाट सुरु भएको गोष्ठी दुईदिनसम्म चल्नेछ । गोष्ठीको बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उद्घाटन गर्नुभयो । सहकारीको भावना र मर्म अनुरुप सञ्चालन नभएका र शेयर सदस्यहरुको बचत रकम हिनामिना गर्ने सहकारी संघसंस्थालाई कारबाहीको दायरामा ल्याउन तीन सदस्यीय समिति गठन उहाँले जानकारी दिनुभयो ।
बागमती प्रदेश सरकारले ऐन, कानुन, नियममा सुधार गर्नेदेखि संकटग्रस्त सहकारीको अध्ययनका लागि छुट्टै समिति बनाउने निर्णय गरिसकेको बताउँदै सहकारीमा आएको समस्या तत्काल समस्या गर्न आवश्यक रहेकाले आफूहरुले सोही अनुसार काम गरिरहेको जिकिर गर्नुभयो ।
उहाँले भुकम्पको स्मरण गर्दै भुकम्पमा परेर धेरै घरहरु भत्किए, कमजोर घर बनाउँदा भत्किने रहेछ भन्ने चेतना आएपनि बिर्सिउको बताउनुभयो । उहाँले कोरोनाको महामारी आयो कमजोर स्वास्थ्यका कारण धेरैले ज्यान गुमाए, अहिले आएर त्यो पनि बिर्सिएको बताउँदै सहकारीमा एउटा महामारी आएको छ त्यसलाई छिटोभन्दा छिटो नियन्त्रणमा लिन जरुरी रहेको उल्लेख गर्नुभयो । सहकारीको भावना र मर्म अनुरुप सञ्चालन नभएका र शेयर सदस्यहरुको बचत रकम हिनामिना गर्ने सहकारी संघसंस्थालाई कारबाहीको दायरामा नल्याउने हो भने राम्रो काम गर्दै आएका सहकारी समेत समस्यामा पर्ने देखिएकाले त्यसमा आफूहरुले काम गरिरहेको बताउनुभयो ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले काभ्रेपलाञ्चोक जिल्ला सहकारी लिमिटेडले जिल्ला सहकारी संघ काभ्रेको प्रशंसा गर्नुभयो ।
उहाँले सहकारी संघ संस्थाले खेप्दै आएको समस्या समाधानका लागि गर्दै आएको गतिविधिको प्रशंसा गर्नुभयो । गलत गर्ने सहकारीलाई कारबाही गर्न आग्रह गर्दै उहाँल राजनीतिक दलहरु गम्भिर नहुँदा सहकारीहरुको समस्या झन् मौलाएको दाबीगर्नुभयो ।
सहकारीको समस्या समाधानमा राजनीतिक दलहरूले समेत गम्भीरतापूर्वक लिएको देखिन्न । राजनीतिक दलका कार्यकर्तालाई पनि सहकारी प्रति सचेतना बनाउन जरुरी छ। शेयर सदस्यको हित विपरीत काम गर्ने कुनै पनि सहकारी सञ्चालकलाई छुट नरहेको उहाँले बताउनुभयो ।
जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) का अध्यक्ष दिलिप शर्माको अध्यक्षता ग्रहण गर्दै सहकारीलाई थप व्यवस्थित बनाउन गोष्ठी फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । सहकारीलाई मजबुद बनाउन गोष्ठीले महत्वपूर्ण भूमिकालाई खेल्ने अध्यक्ष शर्माले बताउनुभयो । ‘यो गोष्ठी सञ्चालनको दिनसम्म आइपुग्दा निकै मेहेनत गरेका छौँ । यति धेरै सहभागिता हुनुहुन्छ भन्ने आश निकै कम गरेका थियौँ । तपाईहरुको यो सहभागिताले जिल्लामा सहकारी अभियान थप मजबुद बनाउन मद्दत पुग्ने छ । गोष्ठीले सहकारी सञ्चालकहरूलाई पुनताजकी गराउने छ ।।
गोष्ठीमा सहकारी विभागका उप–रजिष्ट्रार टोलराज उपाध्यायले सहकारीको योगदान, समस्या, चुनौती र अवसरहरुको बारेमा ज्ञान दिनुहुनेछ ।
पुर्व अर्थमन्त्री डा.युवराज खतिवडाले सहकारीमा अबको रणनैतिक बाटो(उत्पादन, बजार र बजारीकरण)को बारेमा आफ्नो कार्यपत्र पेश गर्नुहुनेछ ।
नेपाल सरकारका पुर्व सचिव तथा सहकारी विज्ञ गोपी मैनालीले सहकारी क्षेत्रका नीतिगत र कानुनी व्यवस्था र अब गर्नुपर्ने सुधारबारे कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
दोस्रो दिन सहकारीमा नेतृत्व विकासबारे रुपेश श्रेष्ठ, वित्तीय व्यवस्थापनको बारे राष्ट्रिय सहकारी बैंकका कार्यकारी अधिकृत प्रमुख बद्री गुरागाई, सहकारीमा असल अभ्यासको बारे जनउत्थान साकोस रुपन्देहीका रणबहादुर थापा रनेपाल बहुउद्देश्यीय सहकारी संस्था मेचीका लक्ष्मी प्रसाद उप्रेतीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
गोष्ठीको ब्यवस्थापन कोअपरेटिभ मेनेजर क्लब काभ्रेपलाञ्चोक र प्रवद्र्धन राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले गरेको छ । जिल्ला सहकारी संघ लिमिटेडको कार्यकरी अधिकृत अनिल श्रेष्ठले गोष्ठीको थिम प्रस्तुत गर्नु भयो । कार्यक्रमको संचालन सचिव निरञ्जन बिष्ट र स्वागत उपाध्यक्ष अमन पोटे श्रेष्ठले गर्नुभयो ।
गोष्ठीमा करीब १२० जनाभन्दा बढी सहभागी रहेको जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) ले जनाएको छ । काभ्रेपलाञ्चोक जिल्लाको १३ वटै पालिकामा गरी ६४६ वटा सहकारी संघ संस्था सञ्चालनमा छन् ।
तपाईको प्रतिक्रिया