बनेपा÷जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले ट्राफिक सचेतना जगाउन काभ्रेमा सुरुभयो ट्राफिक सप्ताह सुरु गरेको छ । ट्राफिक सप्ताह २०८० प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।
प्रजिअ शर्माले ट्राफिक सचेतनाले दुर्घटना न्यूनिकरणसँगै विद्यालय तहसम्म ट्राफिक शिक्षा प्रदान गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो । उहाँले प्रहरी,सुरक्षा निकायको प्रयासले मात्रै दुर्घटना न्युनिकरण नहुने भएकाले सबैको साझा प्रयत्नबाट दुर्घटना न्यूनिकरणलाई सहयोग बताउनुभयो ।
यो बर्षको ट्राफिक सप्ताहको नारा ‘ट्राफिक प्रहरीको आब्हान, सुरक्षित र सहज आवागम,ट्राफिक नियमको पालना गरौ, सभ्य नागरिकको परिचय दिऔं’ रहेको छ ।
सोही नाराका साथ बिहीबारबाट शुरु भएको ट्राफिक सप्ताहको पहिलो दिन प्रभातफेरी गरिएको छ । प्रभातफेरि अघि काभ्रे भएर चल्ने लामो दुरीका सवारी साधनहरुमा ट्राफिक सचेतनाको ब्यानर तथा स्टिकर टाँस गरिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी बनेपाले बिहीबारबाट सुरु भएको सप्ताहलाई एक सातासम्म रचनात्मक कार्य गरेर गर्ने तयारी गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरेका अनुसार शुक्रबार माघ २६ गते स्वंयसेवक मार्फत काभ्रेमा सडक प्रयोगकर्ताहरुलाई बाटो काट्न सिकाउने कार्यक्रम छ । त्यस्तै चेतनामूलक स्टिकर टाँस गर्ने, पर्चा पम्लेट वितरण गर्ने कार्यतालिका छ । शनिबार ग्रामीण सडक लक्षित कार्यक्रम, भाडा अनुगमन, माक्स वितरण र सिट क्षमता भन्दा बढि यात्रु अनुगमन गरिने उहाँले उल्लेख गर्नुभयो ।
आईतबार सवारी चालकहरुसँग पाँच मिनेट ओभरटेक गर्नेको विधिको प्रशिक्षण, तिव्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई प्रशिक्षण गर्नेछ ।
माघ २९ गते सोमबार विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम गर्ने कार्यतालिका रहेको छ । आमा समुह टोल सुधार समिति र युवा क्लवहरुलाई समेत ट्राफिक सचेतना मार्फत सचेत गर्ने फागुन १ गते मंगलबार चालक तथा सह चालकहरुको स्वास्थ्य परीक्षण तथा सवारी साधनहरुको यान्त्रिक परीक्षण गर्नेछ । फागुन २ गते बुधबार ट्राफिक सप्ताहको उपलब्धी र प्रभावकारिताको बारेमा संचारकर्मी लगायत सरोकारवालाबीच अन्तरकृया गरिने घिमिरेले उल्लेख गर्नुभयो ।
बिहीबारको कार्यक्रममा प्रदेश प्रहरी कार्यालय बनेपाका प्रमुख एसएसपी किसनसिं थापाले सबैको साझा प्रयासले मात्रै दुर्घटनामुक्त सडकको कल्पना गर्न सकिने बताउनुभयो । उहाँले स्कूल तहमै ट्राफिकको बारेमा ज्ञान दिएमा त्यसले परिवारसम्म ट्राफिक शिक्षा पुग्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले ट्राफिक सप्ताहमा मात्रै नभएर हरेक दिन मनाउन आवश्यक रहेको बताउनुभयो ।
ट्राफिक सचेतना दिने उद्धेश्यले आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेल, कालीजंग गणका गणपती प्रमुख सेनानी प्रकाशबहादुर सिंह, सशस्त्र प्रहरी वलका एसपी अच्युतप्रसाद मजगैया, यातायात व्यवसायीहरु, विभिन्न विद्यालयका प्रिन्सिपल तथा विद्यार्थीहरु, संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरेले सबैको साझा प्रयासले दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
तपाईको प्रतिक्रिया