पार्टीभित्रको अन्तर्घातले चुनावमा पराजय : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको अन्तर्घात‍्ले स्थानीय तह चुनावमा पराजय व्यहोर्नु परेको बताएका छन् । बुधबार बानेश्वरस्थित संसद् भवनमा बसेको एमाले पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले अन्तर्घातकै कारण चुनावमा पार्टीले धेरै ठाउँमा हार व्यहोरेको बताएका हुन् । ओलीले महानगर र उपमहानगरमा उपप्रमुख जित्दा प्रमुख जित्न नसक्नु पार्टीभित्रबाटै अन्तर्घात भएको भन्दै यो विषयमा पार्टीमा समीक्षा गर्नुपर्ने बताए। ओलीको भनाई उदृत गर्दै बैठकपछि एमाले सांसद शेरबहादुर तामाङले भने, ‘पपुलर मत त पायौं । पार्टीभित्रै केहि समस्या भयो । महानगर र उपमहानगरमा उपमेयर जित्ने । तर, मेयरमा हार्ने भयो । एमालेमा मेयरमै भोट नहाल्ने कुरा खतरनाक ढंगले देखा पर्‍यो । यसबारे समीक्षा गर्नुपर्ने देखिन्छ भनेर अध्यक्षज्यूले भन्नुभयो । यस्तै, बैठकमा ओलीले गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे तथ्यपरक ढंगले संसदमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिएको तामाङले बताए ।

तपाईको प्रतिक्रिया